मंगलबार, चैत ६, २०८०

यात्राले कुनै ग्रन्थभन्दा बढी ज्ञान दिन्छ : नयाँघरे

मेरोन्यूज २०७८ भदौ २७ गते १७:४९

युवराज नयाँघरे मदन पुरस्कार प्राप्त लेखक हुन् । विं.सं. २०६६ मा एक हातको ताली निबन्ध संग्रहका लागि मदन पुरस्कार हात पारेका उनका झण्डै एक दर्जन कृतिहरु प्रकाशित छन् । यात्रा गर्न रुचाउने उनी नियात्रा र निबन्ध विधाका लागि नामी लेखक हुन् ।

उनी दुई दर्जनभन्दा बढी साहित्य र संस्कृतिसँग सम्बन्धित संस्थामा आबद्ध छन् । राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कारबाट सम्मानित भइसकेका उनले यात्रा र लेखनलाई निरन्तरता दिइरहेका छन् । उनी छिटै उपल्लो डोल्पाको बसाईपछि नयाँ पुस्तक ल्याउने तयारीमा छन् । सोही विषयमा मेरो न्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

अहिले कुन पुस्तक पढ्दै हुनु हुन्छ ?

यतिबेला प्रतिक ढकालको त्यो उज्यालो कर्णाली पढ्दै छु । एकदमै रमाइलो लागिरहेको छ । यस पुस्तकमा सूचना र जानकारी, इतिहास समेटिएको छ । जसले पढ्न रूचीपूर्ण भइरहेको छ । अरुको किताबमा सामान्य अनुभूति, बयान मात्र हुन्थ्यो । तर, प्रतिक जीको यो पुस्तक भने अरुभन्दा फरक छ । लेखन भनेको तपस्या हो । हरेकका आ–आफ्नै शैली हुन्छन् । म अनुभूति र तथ्यलाई मिलाएर जान खोज्छु । दुवैलाई मिलाएर लैजान खोज्छु ।

तपाईंको नयाँ पुस्तक कहिले आउँछ ?

Advertisement

म यथाशीघ्र लागिरहेको छु । किताबको सिंगारपटार गर्ने काम भइरहेको छ । के–के नमिलेको अनुभूति भइरहेको छ । पहिलो लक डाउनअगाडि म उपल्लो डोल्पा गएँ । उपल्लो डोल्पा असाध्यै महंगो छ । जान पनि गार्हो छ । म त्यहाँ डेढ महिना बसेँ । विशेष अनुभव संगालेको छु । साथीहरू घुम्न गए । म लेख्छु भनेर गएँ ।

यात्रामा साथीहरुको सानो समूह थियो । बाटोमा टेन्टमा बास बस्यौँ । तल्लो डोल्पाको भाषा, संस्कृति र माथिल्लो डोल्पाको तुलना गर्दा फरक छ ।

मेरो नयाँ आउने पुस्तकमा उपल्लो डोल्पाको प्राकृतिक, सांस्कृतिक पक्षहरू समेटिएको छ । माथिल्लो डोल्पामा बहुपति प्रथा छ । सरकारको उपस्थिति छैन, त्यहाँ । प्रकृतिले दिएको सुन्दर ठाउँ भएर पनि प्रचार प्रसार हुन सकेको छैन । देशमै बोन्पो धर्म डोल्पामा मात्र मान्छन् । यो बुद्धिजमभन्दा पुरानो धर्म हो । हर कुराले रहस्यमय लाग्यो, डोल्पा । उपल्लो डोल्पाबाट अथाह सूचना, जानकारी लिएर आएको छु ।

कोरोना कालमा लेखनमा कति अवरोध भयो ?

मेरो एकाग्रता नै भएन । कतै घुमफिर गर्न पाइएन । खासै केही सिर्जना गर्न सकिएन । कोरोना कालमा आफन्त, नाता गोता बिरामी भए । कतिले संसार छाडे । यस्ता कुराले मनमा पीडा त्यसै बढ्ने रहेछ । एकदमै त्रासदीको वातावरण भयो । भयावह भयो जताततै । आफूले पढाएका गुरु, आफन्त, साथी, नजिकका मानिसहरूका मृत्युका खबरले दुःखी बनायो ।

बरु पढ्ने काम भयो । मैले पुराना किताबहरू बढी पढेँ । रामायण, महाभारत दोहो¥याएर छिचोलेँ । कृष्ण धरावासी, शंकर लामिछाने, तारानाथ शर्माका निबन्ध, पारिजात, धु्रवचन्द्र गौतमका पुस्तकहरू छिचोलेँ । यस्तै, धार्मिक सिरियल रामायण, शिव पुराण, महाभारत दोहोर्याएर हेरियो ।

त्यो बेला समय कसरी गुजार्नु भयो ?

बिहान योग, ध्यान गर्थें । दिउँसो लेखपढ गर्थें । साँझ घुमफिरमा बिताउँथेँ । लक डाउनको बेला एक दिन घर बसिनँ । आफूलाई गतिशिल बनाएँ । चम्पादेवी, बनकाली, फूलचोकी, ककनी, पशुपति घुम्न निस्केँ ।

घरमा बसेँ भने बिरामी हुन्छु, भन्ने लाग्छ । धेरै शान्ति, खुल्ला, स्वतन्त्रता, चकमन्न पनि पीडादायी हुने रहेछ । त्यस्तोमा लेख्न नसकिने रहेछ । बरु समय, साथीभाइ, समुदाय, राष्ट्रको दबाब भयो भने लेख्न सकिँदो रहेछ । मैले फरक अनुभूति संगालेँ ।

लक डाउनपछि कहाँ कहाँ घुम्नु भयो ?

काठमाडौं वरिपरीका स्थानहरु घुमेँ । चिसापानी, सुन्दरीजल, साँखु, जामाचो, शिवपुरी, ललितपुरका दक्षिणी क्षेत्र चहारेँ । उपत्यका बाहिर पनि थुप्रै ठाउँ घुमेँ । पोखरा, बन्दिपुर, चितवन, पाथिभरा, पाँचथर, इलाम, प्युठान, गुल्मीलगायत जिल्ला घुमेँ ।

यसरी नघुमेको भए मेरो आत्मबल कमजोर हुन्थ्यो । बिरामी हुन्थेँ । कतै साथीभाइसँग गएँ । कहिले आफ्नै खर्चमा घुमेँ ।

जहाँ इच्छा, त्यहाँ उपाए भन्छन् नि । सबै मानिस घरभित्र बसे, डराए । तर, म बेस्सरी घुमेँ । प्रकृतिबाट टाढा भएर होइन नजिक हुनु पर्छ भन्ने कुरा पनि सिकायो । प्रकृतिलाई मित्र बनाउन सिक भन्ने ठूलो पाठ सिकायो कोरोनाले ।

कोरोना र लक डाउनपछि थुपै्र ठाउँ घुम्नु भयो । देशका विभिन्न स्थानको यात्राले के–के सिकायो ?

सूचना, जानकारी प्रशस्त बटुलियो । ज्ञान पाउने आधार नै यात्रा हो । कुनै ग्रन्थ पढेर पनि ज्ञान पाइदैन । सबै कुरा जान्ने भनेको यात्राबाट नै हो । यात्राबाट यति धेरै कुरा जानिन्छ, त्यो अन्तबाट पाइदैन । जति ठाउँ यात्रा गरेँ, त्यति नै ज्ञान, सूचना बटुलेँ । रहनसहन, बोलीचाली, उखानटुक्का, खानपान सबै कुरा थाहा पाइयो ।

अब सुदूरपश्चिमका जिल्ला घुम्न मन छ । खासगरी भारतसँग जोडिएका जिल्लाहरू । धर्म, परम्परा, भाषा, साहित्य, भूगोल, संस्कृति बुझ्न मन छ । म देउडा भाका सुन्न मन पराउछु । चक्र बमको ‘भन् साली तेरी दिदी काँ छ’ गुन्गुनाइरहन्छु । युवा पुस्ताका गीत मलाई सुन्न मन पर्छ । गढवालतिरका गीत सुन्छु ।

सुदूरपश्चिमका विषयवस्तुलाई साहित्यमा ल्याउन मन छ । कर्णालीभन्दा पश्चिममा अझ बेग्लै संसार छ । त्यहाँका पर्व, भाषा, साइपालका कथाहरू आउनै सकेका छैनन् । त्यहाँको जन जीवनका कथाहरु साहित्यमा आाउन सकेका छैनन् । दार्चुला र धार्चुला कथाहरु आउन सकेका छैनन् । पुलबारी, पुलपारीको संस्कृति साहित्यमा अटाएको छैन । त्यसलाई लेख्न मन छ ।

द्वन्द्वमा समाजले कसरी त्यो समय भोग्यो होला ? मानिसहरु दिल्ली, नैनीताल पढ्न, काम गर्न जान्छन् । त्यो कुरा साहित्यमा अटाएको छैन । विकराल र दुर्दान्त कथाहरु छन् त्यहाँ । हामीले किन ल्याउन सकेका छैनौँ ? किनकी हामीले लेखेकै छैनौँ ।

तपाईलाई कस्ता खालका किताबले मन छुन्छ ?

यात्रा, संस्कृति, संस्मरणका किताबले मेरो मन छुन्छ । ठूला मानिसको संघर्षका कथाले पनि मन छुन्छ । सामाजिक पक्ष जोडिएका किताब र आत्मकथा पढ्न मन पर्छ ।

तपाईंले दोहोर्याएर पढेको पुस्तक ?

विपीको आत्मबृतान्त । देवकोटाको कुञ्जिनी, तारानाथ शर्माका निबन्ध । माधव घिमिरेको गौरी, शंकर लामिछानेका निबन्ध, कृष्णचन्द्र सिंह प्रधानका किताबहरु ।

खासगरी म यात्रामै किताब पढ्न रुचाउँछु । दिनभरि यात्रा गरेर राति पढेर सुत्छु । किताबलाई हामीले पुजा त गर्यौं । तर, प्रेम गरेनौँ । विदेशीले यात्रामा पानीको बोतल र किताब बोक्छन् । पठनपाठनमा हामी कमजोर छौँ । म हरेक यात्रामा किताब बोक्छु । किताब मेरो साथी हो । यात्रामा किताब लगिएन भने पैसा नपुगे जस्तो, जुत्ता, मोजा नै छुटे जस्तो लाग्छ ।

तपाईंका लागि यात्रा के हो ?

खाना खाएर शरीर बलियो बनाए जस्तै मेरा लागि मन बलियो बनाउन र ज्ञान आर्जन गर्न यात्रा गर्नु हो ।

अरुलाई कुन किताबको सुझाव सल्लाह दिनु हुन्छ ?

थुप्रै छन् । धराबासी, तारानाथ शर्मा, देवकोटाको कुञ्जिनी, माधव घिमिरेका किताब, डा.माधव पोखरेलका किताब । नेपाली साहित्यमा पनि उत्कृष्ट थुप्रै किताबहरु छन् । पुस्तकलाई साथी बनाउने मान्छे सधैं धनी बन्छ । नयाँ पुस्ताले पुस्तक अध्ययन गर्न एकदमै जरुरी देख्छु ।

लेखनमा आउन चाहनेलाई के सुझाव दिनुहुन्छ ?

लेखनमा अवसर धेरै छन् । तपाईको मनले ठिक लागेको कुरा लेख्नुहोस् । प्रशस्त पढ्ने, लेख्ने काम गर्नुहोस् । अरुको देखासिकीमा नलाग्ने, अरुभन्दा केही फरक विषय उठाउनु पर्यो । चुनौतीको सामना गर्नुहोस् । नत्र लेखनमा नलागे हुन्छ ।

लेखनमा झगडिया, न्यायधीश, डाक्टर, रोगी सबै आफै हो । सबै तत्व त्यसमा मिसाउन । लेखकमा ठूलो जिम्मेवार हुन्छ । लहडबाजी र रहरबाजीमा आउनु भयो भने चंगा उड्ला तर चैट् हुन्छ । पत्तै हुन्न ।

लेखेरै जीवन चलाउन कत्तिको गार्हो छ ?

पछिल्लो समय धेरै सुधार भएको छ । पाठकको संख्या बढ्यो । विश्वविद्यालय बढे । प्रकाशक बढे । अहिले भात खान नपुगे पनि खाजासम्म खान सकिन्छ । मेरा प्रकाशकले मलाई रोयल्टी दिइरहेका छन् । म ढुक्क छु । पारिश्रमिक पाएकोमा सन्तुष्ट पनि छु ।

मेरा पुस्तक ४-५ हजार सजिलै बिक्छन् । तर, पुराना, थोत्रा कुरा लेखेर भएन । लेखकले आफ्ना बानी, प्रस्तुती, सबै कुरा बदल्नु पर्छ ।

प्रतिक्रिया