शुक्रबार, वैशाख ७, २०८१

प्रहरीलाई गुमराहमा पार्न खोज्ने लोकबहादुरको बयान

दया दुदराज २०७८ भदौ २७ गते १६:०८

काठमाडौँ । संखुवासभामा जनमानसलाई त्रास उत्पन्न हुने गरी भएको एउटा विवत्स हत्या । जहाँ एकै परिवारका ६ जना सदस्यले ज्यान गुमाए ।

घटनामा ८४ वर्षीय वृद्धादेखि ७ वर्षीय बालिकासमेत मारिए । घटनाको ६ दिनपछि प्रहरीले एक जना मृतकका आफन्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले २६ वर्षीय लालबहादुर कार्कीलाई आइतबार बिहान सार्वजनिक गरेको हो ।

गत २१ गते बिहान अन्दाजी ५ देखि ५ः४० बजेसम्मको अवधिमा कार्की परिवारका ८४ वर्षीय पार्वती, ५२ वर्षीय तेजबहादुर, ५२ वर्षीय कमला, ३२ वर्षीय रञ्जना, ११ वर्षीय दिपेन र ७ वर्षीय गोमाको हत्या भएको थियो ।

पार्वती तेजबहादुरकी आमा हुन् । कमला कार्की उनकी श्रीमती । रञ्जना तेजबहादुरकी बुहारी हुन् भन दिपेन र गोमा नातानातिनी हुन् । घटनामा तेजबहादुरका बुवा ९३ वर्षीय बौद्धमान शकुसल रहे ।

प्रहरीको पहिलो नजर लोकबहादुरमा

सोमबार बिहान अन्दाजी ९ बजेतिर मादी नगरपालिका १ उम्लिङखोला गाउँमा सामूहिक हत्या भयो भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोली घटना स्थलमा पुग्यो । जिल्ला प्रहरी कार्यालय संखुवासभा र तालिाप्राप्त कुकुरसहितको प्रदेश १ को अनुसन्धान टोली सोमबार रातिसम्म घटना स्थलमा पुग्यो ।

घटना स्थलमा पुगेको अनुसन्धान टोलीले मंगलबार बिहानदेखि अनुसन्धान सुरु गर्यो । धनमाल लुट्ने आशयले हत्या गरेको हुन सक्ने आशंका गर्दै प्रहरीले आर्थिक पाटोबाट अनुसन्धान सुरु गर्यो । तर, मृतक तेज बहादुरको घरबाट १५ तोला सुन र ५ लाख नगद भेटिएपछि अनुसन्धान जटिल बन्दै गएको थियो ।

अनुसन्धान जटिल बनेसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)समेत घटना स्थलमा पुग्यो । घटनाबारे प्रहरीले मिहिन ढंगबाट अनुसन्धान थालनी गर्यो । चिनजानकै व्यक्तिबाट हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको थियो ।

प्रहरीले अनुसन्धानको सुरुदेखि नै एक व्यक्तिलाई निगरानीमा राखिरह्यो । उनी थिए, २६ वर्षीय लोकबहादुर । उनी तेजबहादुरका आफ्नै भतिज हुन् । प्रहरीको नजर उनीप्रति जब पर्यो, तब उनले मृतकको शव पहिचान गरे । प्रहरीका अनुसार लोकबहादुरले नै पहिलोपटक शव देखेर गाउँलेलाई खबर गरेका थिए ।

लोकबहादुरलाई प्रहरीले सोधपुछ गरिरह्यो । उनको भनाई दिन प्रतिदिन फेरिदै गए । उनको भनाई आफैमा बाझिन थालेपछि प्रहरीले उनीमाथि नै शंका गर्यो । प्रहरीको निरन्तर केरकारपछि शनिबार उनी आफैले हत्या गरेको स्वीकारे ।

किन गरे हत्या ?

प्रहरीसँगको बयानमा हेपाई प्रवृत्तिका कारण तेजबहादुरको हत्या गर्ने योजना बनाए पनि अरूले देखेकाले सबैको हत्या गर्नु परेको लोकबहादुरले बताएका छन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘तेजबहादुरको परिवारले लोकबहादुरलाई गरिब भनेर निकै अपमान गर्थे रे, उनलाई पागल भन्थे रे, त्यही शब्दले तेजबहादुरलाई मात्रै सिध्याउने योजना बनाएका रहेछन्, तर अन्य सदस्यहरूले थाहा पाएपछि ६ जनाको हत्या गरेको बुझियो ।’

लोकबहादुरले हत्या योजना बनाएको रात आफू नसुतेको समेत बताएका छन् । उनले सबै जनालाई चिर्पटले हानेर हत्या गरेको बयानमा बताए । उनको बयानलाई उदृत गर्दै ती प्रहरीले भने, ‘रातभर सुतिनँ, बिहानै चिरपट लगेर गएँ, सबै ब्युँझिसकेका थिए, तेजबहादुरलाई मात्रै मार्न खोजेको थिएँ, तर पछि देख्नेजति सबैलाई मारेँ, सबैलाई चिरपटले नै हानेर मारेको हुँ ।’

लोकबहादुरले आफ्नो आमाको मृत्युको बदला लिन समेत हत्या गरेको बयान दिएका छन् । उनले आफ्नो आमा तेजबहादुरको घरमा लडेको र उपचारका क्रममा झापा अस्पतालमै मृत्यु हुनुमा तेजबहादुरकै हात भएको हुन सक्छ भन्दै भदला स्वरुप प्रतिशोध लिएको बयानमा बताएका छन् । लोकबहादुरले एक वर्षदेखि मानसिक औषधि सेवन गर्दै आएका छन् ।

यसरी गरे हत्या…

बिहान तेजबहादुर घरबाट निस्किएको लोकबहादुरले आफ्नो शौचालयबाट देखे । रातिदेखि हत्या गर्ने सोच बनाएका उनले एक्लै देखेको तेजबहादुरलाई हत्या गर्न भनेर तम्सिए ।

तेजबहादुरलाई एक्लै देखेपछि लोकबहादुरले नजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकाले । सोही चिर्पटले तेजबहादुरमाथि प्रहार गरे । आफूमाथि चिर्पट बर्सिएपछि तेजबहादुर ढले र हारगुहार गर्न थाले ।

तेजबहादुरको हारगुहार सुनेकी श्रीमती कमला र बुहारी रञ्जना तेजबहादुर नजिकै पुगे । घटनामा संलग्न लोकबहादुरले कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले त्यही चिर्पटले टाउकोमा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।

तेजबहादुर, कमला र रञ्जनालाई आक्रमण गरेको दुई बालबालिकाले पनि देखेका थिए । दुई बालिकाहरुले देखेपछि लालबहादुर आत्तिए । र, ती २ बालबालिकालाई समेत हत्या गर्न तम्सिए । तर उनीहरू भागे । धरै भाग्न सकेनन् । घरदेखि २ सय मिटर पर रहेको बारीमा पुगेका उनीहरुलाई समेत लखेट्दै टाउकोमा चिर्पटले हानेर हत्या गरे ।

गाई वस्तुलाई दिन कुँडो पकाइरहेकी पार्वतीले समेत हत्याबारे थाहा पाएको हुन सक्ने भन्दै उनको समेत हत्या गरेको प्रहरीसँगको बयानमा लोकबहादुरले बताएका छन् । हत्यामा प्रयोग भएको चिर्पट उनले जलाएको अनुसन्धानमा खुल्न आएको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया