बिहीबार, वैशाख १३, २०८१

सम्झनामा गोञ्जालो

के हो गोञ्जालोको ‘मुद्दा’, को हुन् उनी ?

मेरोन्यूज २०७८ भदौ २७ गते १२:३५

२९ वर्ष ! थोरै होइन । उमेरको झण्डै आधा जीवन जेलभित्रै परिवर्तन र मुक्तिका खातिर कोही कसैले जीवन बिताएको छ भने, त्यो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीले लिने नाम हो- अबिमाइल गुज्मान गोञ्जालो । पेरु कम्युनिष्ट पार्टी ‘साइनिङ पाथ’ (सेनडेरो लुमिनोसो) का अध्यक्ष उनको जेलमै निधन भएको छ ।

केही हप्तादेखि गोञ्जालो सिकिस्त बिरामी थिए । उनको जीवन रक्षा र रिहाईका लागि विश्वभरका क्रान्तिकारी पार्टी, समूह र नेताहरूले आवाज उठाइरहेको बेला शनिबार बिहानै पेरुबाट विश्वभरका शुभचिन्तकहरूका लागि दुखको खबर आयो- गोञ्जालो अब रहेनन् । दह्रो क्रान्तिकारी विचारलाई अजर अमर बनाई उनले भौतिक जीवनबाट बिदा लिए ।

गोञ्जालोले भन्ने गर्थे, ‘रगतले क्रान्तिलाई डुबाउँदैन, बरू सिञ्चित गर्छ ।’

हो, उनै गोञ्जालो २९ वर्ष जेलभित्रको कठोर काल कोठरीमा पनि विश्व समाजवादी क्रान्तिको सफलताप्रति विश्वस्त भएर पेरू र विश्वका उत्पीडित जनताको पक्षमा आशाको दियो बनेर उभिरहे ।

केन्द्रीय समितिका अन्य सदस्यहरूका साथ पेरू कम्युनिष्ट पार्टीका अध्यक्ष गोञ्जालो सन् १९९२ मा राजधानी लिमाबाट गिरफ्तार भएका थिए । उनलाई शासकहरूले जेलमा पूर्ण रूपमा एकान्त ठाउँमा राखे । जेलको निर्वासन पूर्ण रूपमा एकान्त र उनीप्रतिको अमानवीय व्यवहारका कारण ८६ वर्षीय उनी अपमानपूर्ण अवस्थामा थिए ।

पेरुको फुजिमोरी सरकारले अमेरिकाको आडमा पेरुभियाली जनताको लागि संघर्ष गर्ने गोञ्जालोलाई पक्राउपछि आजीवन कारावास राख्ने सजाय दिएको थियो । पेरुको ‘जनयुद्ध’ रणनीतिक रक्षाबाट सन्तुलनमा पुगेर प्रत्याक्रमणको तयारीका क्रममा पुगेको बेला उनी गिरफ्तारीमा परे ।

गोञ्जालोको गिरफ्तारी र निर्मम यातना अमेरिकीहरू र तिनी पक्षका शासकहरूको लामो आर्थिक र वित्तीय संकटलाई टार्न लुटखसोटलाई निरन्तरता दिने र विश्वका क्रान्तिकारी कम्युनिष्ट समाजवादी आन्दोलनलाई दबाउने प्रयासको एउटा अंश थियो ।

गोञ्जालोको ‘मुद्दा’

पेरूमा सन् १९८० देखि आरम्भ भएको कम्युनिष्ट क्रान्तिकारी आन्दोलन उत्पीडत जनताका बीच तीव रूपमा फैलिएको थियो । त्यही आन्दोलनको नेता थिए- गोञ्जालो । अन्य मुलुकहरूका झैँ शासक वर्गलाई पेरुको ‘जनयुद्ध’ले थर्काएको थियो । पेरुमा मात्र होइन, पेरुको गोञ्जालोको नेतृत्वको आन्दोलन प्रभावले अन्य मुलुकहरूमा समेत माओवादी आन्दोलन जन्मिएको थियो ।

नेपालमा २०५२ देखि ०६२-०६३ सालसम्म तत्कालीन माओवादीले जनयुद्ध गरेको थियो । यसको प्रभाव गोञ्जालोले शुरु गरेको आन्दोलनकै प्रभावमा थियो । नेपालमा माओवादीले तत्कालीन समयमा गीत नै बनाएको थियो :-

संसारैभरि कहाँ झुके खै
क्रान्तिका राता सिपाही
झुकेनन् ती जेलमा
झुकेनन् नेलमा
रोकिएनन् ती भेलमा
नझुके ती सिस्ने हिमालमा
संसारैभरि कहाँ झुके खै
क्रान्तिका राता सिपाही

झुकेनन् ती पेरुमा
झुकेनन् ती टर्कीमा
झुकेनन् ती फिलिपिन्समा
न झुके ती जलजल पहाडमा
संसारैभरि कहाँ झुके खै

गोञ्जालो गिरफ्तारीमा नपर्दासम्म पेरुको क्रान्तिकारी आन्दोलनले फड्का मार्दै थियो । फलस्वरूप शासक वर्गले आफ्नो शोषणमुखी सत्ता जोगाउन त्यहाँ अमेरिकीहरूको समेत आड भरोसामा क्रान्तिकारी आन्दोलनमाथि दमनकारी कदम चाल्यो । उनीहरूले पेरू कम्युनिष्ट पार्टीको नेतृत्वमा चलिरहेको आन्दोलनको नेतृत्वको सेल्टर पत्ता लगाउन र गिरफ्तार गर्न एउटा विशेष विभागको गठन गरे । यसअन्तर्गत अध्यक्ष गोञ्जालो केही केन्द्रीय समितिका सदस्यहरूसँगै राजधानी लिमाबाटै गिरफ्तारीमा परे ।

गिरफ्तारीपछि गोञ्जालोलाई परिवारका सदस्य र वकिलसमेत भेट्न दिइएन । एक हिसाबले अन्तर्राष्ट्रिय नियम–कानुनलाई समेत लत्याएर पेरूको राज्य सत्ताले हतारिएर केही समयमा नै उनीमाथि मुद्दा दायर गर्यो । स्टिलको सानो पिँजरा (गोलघर)मा एउटा कुर्सीमा राखेर उनको राजनीतिक र वैचारिक मान्यताका सम्बन्धमा केरकार गरियो ।

गोञ्जालोले गर्वका साथ आफूले पेरू कम्युनिष्ट पार्टीलाई नेतृत्व गरिरहेको कुरालाई स्वीकार गर्दै सो अदालतको वैधतालाई अस्वीकार गरेकाे बताए । अदालतमा उनले साँढे तीन घण्टाको भाषण गरे । त्यस क्रममा उनले भनेका थिए, ‘हामी यहाँ जनताका छोराछोरीका रूपमा छौँ, र हामी यो मोर्चामा लडिरहेका छौँ, यो पनि एउटा लडाइँ हो र हामी यो गर्छौं, किनभने हामी कम्युनिस्ट हौँ, किन भने हामी यहाँ जनताको हित, पार्टीका सिद्धान्तहरू र जनताको युद्धको रक्षाको पक्षमा छौँ, हामी त्यही गरिरहेका छौँ, जे हामी गर्दै आएका थियौँ र यही गरिरहने छौँ ।’

गोञ्जालोकी जीवन साथी मिरियम (एलेना इम्पारागुइरे)लाई पनि जेलमा राखिएको थियो । पहिले उनलाई गोञ्जालोलाई राखिएको ठाउँको नजिकको कोठरीमा राखिएको थियो । पछि महिलाहरूको जेलमा अलग्गै छुट्याएर राखियो ।

युरोप, एसिया, अस्ट्रेलिया, उत्तरी र दक्षिण अमेरिकामा गोञ्जालोको गिरफ्तारीपछि जीवन रक्षा कमिटीहरू गठन गरिए । विश्वका प्रख्यात वकिलहरू, संसद्का सदस्य र पूर्व मन्त्रीहरू र विभिन्न सरकारी नेताहरू, प्राज्ञिक व्यक्तित्वहरू, सुपरिचित संगीतकर्मीहरू र लेखक–कलाकारहरूले उनको जीवन रक्षाका लागि हस्ताक्षरसहित आह्वान गरे ।

साथै नेपाल, अस्ट्रेलिया, बंगलादेश, बेल्जियम, ब्रिटेन, क्यानडा, चिली, कोलम्बिया, डेनमार्क, एल साल्भाडोर, फ्रान्स, जर्मनी, ग्वाडेलोउप, इरान, इराक, एटाली, केन्या, मार्टिनिक, मेक्सिको, अमेरिकाका सुपरिचित व्यक्तित्वहरूले गोञ्जालोको जीवन रक्षाका लागि आवाज उठाए । विभिन्न मुलकहरूमा ‘इन्टर्नेस्नल इमरजेन्सी कमिटी’ (आइइसी)का प्रतिनिधिहरू र समर्थक सम्बद्ध व्यक्तित्वहरू सम्मिलित प्रतिनिधि मण्डल विभिन्न मुलकहरूका पेरुभियाली राजदुतावासमा डेलिगेसन गयो । अध्यक्ष गोञ्जालोको गिरफ्तारीको विरोध र जीवन रक्षाको प्रश्नलाई लिएर राष्ट्राध्यक्षका कार्यालयहरू र राजदूतावासहरूमा चिठी पत्र, टेलिग्राम फ्याक्सहरू पठाइए ।

‘समयमा सही उपचार नहुनु र यथार्थस्थिति बाहिर नआउनुले गोञ्जालोको स्वाभाविक मृत्यु योजनाबद्ध किसिमले उपचारविहीन अवस्थामा राखेर ‘हत्या’ गरिएको भन्ने सम्मका टिप्पणी हुन थालेको छ

यसलाई अक्टोबर २० मा अमेरिकी गृह मन्त्रालयका प्रवक्ताले दोहोर्याए, “मिस्टर गुज्मान पश्चिमी गोलार्द्धमा सबैभन्दा खतरनाक आतंककारी आन्दोलनका नेता हुन् । जेका लागि उनलाई पक्राउ गरिएको थियो, त्यसप्रतिको कानुनी प्रक्रियामा हाम्रो कुनै टिप्पणी छैन ।”

साम्राज्यवादीहरूले अजेनियाली नेता स्टिव बिको, नक्सलवाडी किसान आन्दोलनका नेता चारु मजुमदार, टर्कीका माओवादी नेता इब्राहिम क्यापक्काय, बङ्गलादेशका माओवादी नेता सिराज सिक्दरको जेलहत्या र च्याङ चिङको शंकास्पद ‘आत्महत्या’लाई प्रोत्साहनका साथ ताली पिटेर स्वागत गरका छन् । अमेरिकाको आफ्नै जेलमा ‘ब्ल्याक प्यान्थर’ का नेता जर्ज ज्याक्सनलाई गोली ठोकेर मारे र भाग्ने प्रयास गरेको भने, अनि प्युरितो रिकोका जातीय नेता अलबिजु क्याम्पोको जेलको गोलघरको भित्तामा रेडियोधर्मी विष्फोटक सामग्री राखेर हत्या गरे ।

गोञ्जालो विगत केही वर्षदेखि छालाको क्यान्सर रोगबाट पीडित थिए । त्यसमाथि थप रोगको कारण उनलाई त्यहाँका शासकहरूले समयमै उपचार गरेनन् । ८६ वर्षको वृद्ध शरीरसँग शासकहरू सधैँ डराइरहे । अन्तत: जेलभित्रै उनको निधन हुन पुग्यो ।

समयमा सही उपचार नहुनु र यथार्थस्थिति बाहिर नआउनुले गोञ्जालोको स्वाभाविक मृत्यु योजनाबद्ध किसिमले उपचारविहीन अवस्थामा राखेर ‘हत्या’ गरिएको भन्ने सम्मका टिप्पणी पनि अहिले विश्वभरका कम्युनिष्ट क्रान्तिकारीहरूबाट हुन थालेको छ ।

के हुन् गोञ्जालो ?

सन् १९३४ डिसेम्बर ३ मा पेरूको एण्डिज श्रृंखलामा गोञ्जालो जन्मिएका थिए । उनको वास्तविक नाम डा. अविमायल गुज्मन रेनोसो हो । एरक्वेपा विश्वविद्यालयबाट उनले विद्यावारिधि गरेका थिए । १९६२ देखि १९७४ सम्म दर्शनशास्त्र विभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरुमा उनले प्राध्यापनसमेत गरेका थिए । १९४५ को दोस्रो विश्व युद्धमा फाँसीवादको पराजयपछि खुसी मनाउन पेरुका वामपन्थीहरूले निकालेको जुलुसबाट गिरफ्तार भएपछि उनको राजनीतिक यात्रा सुरु भएको थियो।

१९४६ मा कम्युनिस्ट योङ ब्रिगेटको उनी सदस्य भएका थिए । उनी १९५६ मा एरक्वेपा विश्वविद्यालयको विद्यार्थी संघको अध्यक्षमा निर्वाचित भएका थिए । १९६५ मा चीनको भ्रमणपछि १९६६ मा पेरू कम्युनिष्ट पार्टीको सदस्य भएका गोञ्जालोलाई १९६९ मा कम्युनिस्टको आरोपमा पक्राउ गरिएको थियो । १९७५ मा पेरु कम्युनिष्ट पार्टीको उनी अध्यक्ष भए । उनकै नेतृत्वमा १९८१ मा पेरुमा जनयुद्ध शुरु भएको थियो ।

त्यहाँको जन युद्धले रणनीतिक रक्षाबाट सन्तुलनमा पुगेर प्रत्याक्रमणको तयारी शुरु गर्दै थियो । जनयुद्धले पेरुको अधिकांश ग्रामीण भूभाग खाली गराइसकेको थियो । सम्पूर्ण गाउँ र दुई वटा प्रमुख शहरहरूसमेत कब्जा गरिसकेपछि राजधानी कब्जा गर्ने दिशातिर त्यहाँको माओवादी आन्दोलन अघि बढेको थियो । कम्युनिष्ट पार्टीले राजधानी लिमामाथि घेराबन्दी गरेर हमला गर्ने रणनीति बनाउँदै थिए ।

त्यहीबेला अमेरिकीहरूको समेत आडमा फुजिमोरी सरकारले सन् १९९२ सेप्टेम्बर १२ मा गोञ्जालोसहितका केही नेतालाई गिरफ्तार गर्यो ।

गोञ्जालोको गिरफ्तारीसँगै त्यहाँको माओवादी आन्दोलन पनि रक्षात्मक बन्यो । पेरू कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अन्य नेताहरू पनि त्यसपछि एकपछि अर्को गर्दै गिरफ्तारीमा पर्न थाले । १९९५ सम्म साइनिङ पाथले सशस्त्र जनयुद्ध सञ्चालन गरिरह्यो । तर, गोञ्जालोको गिरफ्तारी, कार्य दिशामा रुपान्तरणको अन्योलता र उत्तराधिकारी विकासको समस्यालगायतका कारण पेरुको जनयुद्धले गम्भीर धक्का खाएको थियो ।

प्रतिक्रिया