बुधबार, वैशाख १२, २०८१

किन हुन्छन् सामूहिक हत्याका घटनाहरू ?

मनोचिकित्सक भन्छन्– डिप्रेसन, यौनतृष्णा, पारिवारिक विवाद र आर्थिक लेनदेन मुख्य समस्या

दया दुदराज २०७८ भदौ २६ गते १८:३२

काठमाडौं । गत सोमबार संखुवासभा जिल्लाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा एकै परिवारका ६ जना सदस्यहरुको हत्या भयो । हत्यामा एकै परिवारका ८४ वर्षीया वृद्धादेखि ७ वर्षीया बालिकासम्म मारिए ।

सोमबार बिहान अन्दाजी ५ बजेदेखि ५ः४० सम्मको समयावधीमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

८४ वर्षीया पार्वती कार्की तेजबहादुर कार्कीकी आमा हुन्, ५२ वर्षीया कमला कार्की उनकी श्रीमती । ३२ वर्षीया रञ्जना तेजबहादुरकी बुहारी हुन् भने ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की तेजबहादुरका नाती नातीनी हुन् । घटनामा तेजबहादुरसहित उनीहरु सबैको हत्या भएको छ । तर घटनामा तेजबहादुरका बाबु ९३ वर्षीय बौद्धमान कार्की भने दुर्घटनाबाट बँचे ।

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली, प्रदेश नम्बर १ का अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय संखुवासभाको संयुक्त अनुसन्धान टोली खटिएका छन् । बुधबार राति प्रदेश प्रहरी कार्यालय प्रदेश १ का प्रदेश प्रमुख डिआईजी अरुण कुमार बिसीसमेत घटनाबारे थप अनुसन्धानका लागि घटनास्थलमा पुगेका थिए ।

प्रहरीले शनिबार हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले तेजबहादुरकै १३ दिने दाजुभाई खलकका २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आइतबार सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चिनजानकै व्यक्तिबाट हत्या भएको हुन सक्ने प्रहरीको आशंका थियो । सोही आशंका अनुरुप घटनामा प्रयोग भएको रड र सर्टमा लागेको रगतको आधारमा लोकबहादुरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

आरोपी कार्कीले समेत आफ्नो बयानमा आमाको मृत्युको बदलाको प्रतिषेधमा तेजबहादुरलाई हत्या गर्न भनि गएको तर सबैले देख्नेभएपछि परिवारका ६ जना सदस्यको हत्या गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता शुभेष अधिकारीका अनुसार ८४ की पार्वती कार्कीको शव घरमा फेला परेको हो भने तेजबहादुर कार्कीको शव रोडमा फेला परेको थियो । त्यस्तै, तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाको शव खोल्सामा फेला परेको थियो ।
प्रवक्ता अधिकारीले भने, ‘११ वर्षीय दिपेन र ७ वर्षीया गोमाको शव भने घरदेखि १ किलोमिटर टाढाको बारीमा फेला परेको थियो ।’

प्रहरीले उनिहरुको शव वरामद गरेर पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । टाउकोमा रगत जमेको कारणले मृत्यु भएको पोस्टमार्टम रिपोेर्टले देखाएको छ ।

अनैतिक सम्बन्धका कारण ५ जनाको हत्या

वि.सं २०६० साल असोज १६ गते दशैँको अष्टमीको दिन ललितपुरको बडिखेलमा एउटा घटना सामूहिक हत्या भयो, जसलाई सामूहिक हत्याको एउटा चर्चित घटनाका रुपमा लिइन्छ । सो घटनामा एकै परिवारका ५ जना सदस्यहरु मारिएका थिए ।

घटनामा भानु नगरकोटीसहित उनकी ३० वर्षीया श्रीमती धनकुमारी, १३ वर्षीय छोरा रवीन्द्र, १० वर्षीया छोरी लुरी र आठ वर्षकी टुकुली भन्ने भगवती मारिए । घटनाको झण्डै १२ वर्षपछि अर्थात ३ भदौ २०७२ सालमा भएको सो घटनामा संलग्न भएको भन्दै प्रहरीले उनकै जेठान ६३ वर्षीय चन्द्रबहादुरलाई पक्राउ गरेको थियो ।

ज्वाइँको आफ्नो श्रीमतीसँग सम्बन्ध रहेको आशंकाका आधारमा उनले यस्तो हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । मदिराको नशामा उनले त्यसरी हत्या गरेकासमेत प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

आर्थिक लेनदेनमा विवाद भएपछि ६ जनाको हत्या

२३ फागुन २०६२ नेपालगञ्जमा एकै परिवारका ६ जना सदस्यहरुको सामूहिक हत्या भयो । घटनामा सुनचाँदी व्यवसायी ३२ वर्षीय दीपकसहित ८२ वर्षीया गुलावदेवी हेमकार, ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीया सीतादेवी हेमकार र कामदार राम शनिच्चर चौधरी मारिएका थिए ।

घटना भएको १३ वर्षपछि अर्थात १४ असोज २०७५ साल मा घटनामा संलग्न अभियुक्त किशोरीलाल सोनीलाई पक्राउ गरेको थियो । पक्राउ परेका सोनी दिपककै ससुरा हुन् । आर्थिक लेनदेन सम्बन्धी विवादमा उनले ५ जनाको हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ ।

पारिवारिक विवादमै चार जनाको हत्या

लमजुङको भोटेओडार –४ पिप्लेमा वि.सं २०७१ असोज १५ गते एकै परिवारका ४ जनाको सामूहिक हत्या भयो ।

सो घटनामा ६० वर्षका अर्जुनप्रसाद रेग्मी, ३५ वर्षकी रिना घिमिरे, १४ वर्षकी ज्योति रेग्मी र १२ वर्षका विकास घिमिरेको मारिए ।

घटनामा संलग्न अर्जुनका जेठा छोरा राममणि रेग्मीले पारिवारिक विवादका कारण हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो  ।

अतृप्त यौन चाहनाका कारण ४ जना मारिए

०७३ को वैशाखमा सल्यानको रानागाउँमा एक युवकले चारजनाको हत्या गरेका थिए । स्थानीय सञ्जय भारतीले सीता खाण, उनकी बहिनी गीता र सीताका दुई बच्चाको हत्या गरेका थिए ।

स्थानीय रानागाउँकी २२ वर्षीया सीता खाँण, उनका दुई छोरी अढाई वर्षीया पवित्रा र एक वर्षिया सविता र सीताकी १८ वर्षीया बहिनी गीता गिरीको हत्या भएको थियो ।

प्रहरीले सो घटनामा संलग्न भएको अभियोगमा सोही क्षेत्रमा बसोबास गर्ने २० वर्षीय सञ्जय भारतीलाई पक्राउ गरेको थियो । प्रहरीले उनलाई पक्राउ गरेसँग हत्याको कारण समेत खुलाएको थियो ।

पक्राउ परेका सञ्जयले सीता खाणसँग यौन सम्बन्ध राख्न खोज्दा नमानेपछि सामूहिक हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको थियो । अतृप्त यौन चाहना घटनाको प्रमुख कारण रहेको प्रहरीले देखिएको थियो ।

रहस्यभित्रैको त्यो हत्याकाण्ड
०७४ असारमा भोजपुर अरुण–१ प्याउलीमा तीन बालबालिकाको सामूहिक रुपमा हत्या भयो । सो घटनामा स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीप मारिएका थिए । उनिहरुलाई हत्या गरेर माछापोखरीमा फलिएको थियो । यो घटनाको ४ वर्ष बढि भइसक्दा अहिलेसम्म घटनाको कारण खुलेको छैन भने घटनासँग सम्बन्धित कुनै पनि अभियुक्त पक्राउ परेको छैन ।
घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धन ब्यूरो (सिआइबी) पनि खटिएको थियो ।

सामान्य विवादमा परिवारकै ज्यान गयो

वि.स २०७५ सालको जेठमा सप्तरी जिल्लाको राजविराजमा सामान्य विवादमा परिवारकै हत्या भयो  ।

राजविराज बस्ने सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या भएको थियो  । सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले हत्या गरेको पुष्टि भयो  ।

दाइले नागरिकता बनाउन सहयोग नगरेको रिसमा छिमेकीको सहयोगमा उनले हत्या गरेका प्रहरीको अनुसन्धानले पुष्टि गरेको थियो ।

जुम्ल्याहा छोरीसहित आमाको हत्या

१६ कात्तिक ०७६ मा गुल्मीको चन्द्रकोटमा तीनजनाको सामूहिक हत्या भयो ।

घटनामा मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भई हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बू र उनका सात वर्षीया जुम्ल्याहा छोरी गंंगा र जमुना मारिएका थिए ।

हत्या आरोपमा प्रहरीले बाग्लुङको गलकोटका पूर्णबहादुर सुनार र माधव सुनारलाई पक्राउ गरेको थियो ।

त्यो भयानक दुई सामूहिक हत्याकाण्ड

१) ६ जेठ ०७६ मा पाँचथरको मिक्लाजुङ गाउँपालिका(३ आरुबोटेमा दुई परिवारका नौजनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

सो घटनामा एकजना बालिका घाइते भएकी थिइन् । एकै परिवारको पाँच र अर्को परिवारका चार गरी नौजनाको हत्या भएको थियो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् ।

यो घटनामा संलग्न भनिएका मानबहादुर मोखिम २५ किलोमिटर टाडा झुन्डिएको अवस्थामा फेला परेका थिए । घटनाबारे हाल पनि अनुसन्धान जारी छ । सामान्य विवादमा परिवारकै सदस्यवाट जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये ४० प्रतिशत आफन्तबाटै भएका छन्  ।

संखुवासभाको घटनामा परिवारका सदस्यको संलग्नता खुलेको छैन । तर विगतमा परिवारकै सदस्यबाट भएका जघन्य हत्याले नेपाली समाज कता जाँदैछ भन्ने बहस खडा गरेको छ ।

२) वि.सं २०७७ साल जेठ २ जेठ ०७७ मा रुपन्देहीको तिलोत्तमामा पाँचजनाको सामूहिक हत्या भएको थियो ।

गादेवी पशु फार्ममा काम गर्ने रुपन्देहीको सैनामैना नगरपालिका– ५ दरखासी घर भएका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३७ वर्षीया जानकी, १६ वर्षका पोषराज मुसहर, १५ वर्षका करण चौधरी र १६ वर्षका आशिष चौधरीको हत्या गरेका थिए ।

आपूलाई पशुसँग जोडेर बारम्बार जिस्क्याउने गरेको र चरित्रहत्या गरेकाले त्यसकै आवेगमा आएर हत्या गरेको बयान उनले दिएका थिए । उनमा मानसिक समस्या पनि देखिएको थियो ।

तीन वर्षमा २३ सामुहिक हत्या

नेपालमा आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिकवर्ष सम्म २३ वटा सामूहिक हत्याका घटना भएका छन् ।

प्रदेश नं १ मा तीन, प्रदेश नं २ मा तीन, बागमतीमा प्रदेशमा चार, लुम्बिनीमा दुई, कर्णालीमा पाँच वटा र सुदूरपश्चिम प्रदेशमा छ वटा गारी २३ वटा सामूहिक हत्याको घटना भएको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त कुँवरले जानकारी दिए ।

कुँवरका अनुसार ती घटनाहरुमा ११ बालक, पाँच बालिका, २५ महिला र २७ जना पुरुष गरी जम्मा ६८ जनाको हत्या भएको छ ।

डिप्रेसन, यौन तृष्णा, पारिवारिक विवाद र लेनदेन

सामूहिक हत्याका घटनाहरु बढ्दै गएको देखिन्छ । प्रहरीले यस्ता घटनाहरु वृद्धि हुनुको कारण डिप्रेसन, आर्थिक तथा पारिवारिक समस्यालाई देखाएको छ । हालसम्म भएका विभिन्न परिवारको सामूहिक हत्याका घटनाहरुलाइ विश्लेषण गर्दा हत्याका कारणहरु फरक–फरक पाईएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार पारिवारिक विवाद, यौन तृष्णा, डिप्रेसन, अनैतिक सम्बन्ध, रिस, सम्पत्ति, जग्गा विवाद, लेनदेनका कारणनै सामुहिक हत्याको मुलभुत कारणहरु हुन् ।

मनोचिकित्सक प्रज्ञा श्रेष्ठका अनुसार यस्ता सामूहिक हत्याका घटनाहरुको पछाडी डिप्रेसन मानसिक समस्या, अनियन्त्रित रिस राग रहेको छ ।

उनले भनिन्, ‘हत्याको पछाडि विभिन्न कारणहरु हुन्छन्, त्यस्तै प्रत्येक हत्याको पछाडि फरक फरक कारणहरु हुन्छन्, तर फरक फरक भएपछि सबै एक अर्कामा परिपूरक हुन्छन्, हत्या गर्ने व्यक्तिको मानसिकता कस्तो थियो भन्ने भन्दा पनि के कारणले हत्या गर्यो भन्ने कुरा बढी महत्वपूर्ण मानिन्छ ।’

सामूहिक हत्याका घटनाहरुको पछाडि मानसिक रुपमा असर पर्ने रिस नै रहेको उनको भनाई छ ।

‘जतिपनि सामूहिक हत्याका घटनाहरु ति घटनाहरुलाई अध्ययन गर्ने हो भने घटनाको पछाडि रिस नै देखिएको हुन्छ, रिसका कारण बदलाको भावनाहरु सृजना हुने र ती भावनाहरु एउटा क्रुूरतामा परिणत हुन्छ ।’- मनोचिकित्सक श्रेष्ठले भनिन् ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया