शनिबार, असोज ९, २०७८

प्रचण्डमाथि हमला !

मेरोन्यूज २०७८ भदौ २२ गते १३:००

गणतन्त्र, संघीयता र समानुपातिक समावेशी लोकतन्त्रका शत्रुहरूले हमला गर्ने नाम हो, प्रचण्ड । पछिल्लोपटक केपी ओली प्रवृत्तिको रूपमा अभिव्यक्त भएको प्रतिक्रान्तिकारी हर्कत पराजीत भएपछि मुर्छित भएका दक्षिणपन्थी प्रतिक्रियावादीहरूको हमलाको निशानामा प्रचण्ड नै छन् ।

Advertisement

केपी ओली प्रतिक्रान्तिका वैचारिक नेता शंकर पोख्रेल लुम्बिनी प्रदेशको सत्ताबाट बहिरिएपछि बर्बराउँदै भने, ‘प्रचण्ड नेपाली राजनीतिमा समस्या हुन् ।’ प्रचण्डमाथि यिनै नयाँ अनुदार पश्चगामी भुतप्रेतले चिहान घारीबाट किन हमला गरिरहेका छन् । ती भुतप्रेतको नाममा यो लेख केन्द्रीत छ ।

१० वर्षे माओवादी जनयुद्धको बलमा भएको २०६२–६३ को संयुक्त जन आन्दोलनमार्फत भएको पहिलो संविधानसभाको निर्वाचनबाट देशले प्राप्त गरेको लोकतान्त्रिक मूल्यबाट मसानघाटमा पुगेको अनुदार दक्षिणपन्थीहरू नयाँ ढंगले टाउको उठाउने प्रयत्न गरिरहनु स्वभाविक थियो । उनीहरूले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी लोकतन्त्रका मूलभूत पक्षमाथि प्रहार केन्द्रीत गरिरहे ।

त्यसका निम्ति माओवादी र नेपाली कांग्रेसबीच सहकार्य तोडफोड गर्न सफल भए । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न रोकेर परिवर्तनको अगुवाई गरेको दुई प्रमुख शक्तिबीच सहकार्य रोक्न माओवादीभित्रको वाम विसर्जनवादी तत्वलाई प्रयोग गरे, देशभित्र र बाहिरका अनुदार भुतप्रेतहरूले ।

त्यसैगरी माओवादीभित्र विभाजन र बिग्रहको बीउ रोप्न सफल भए । रुक्मांगद कटुवालको पुस्तकलाई मात्रै आधार मान्ने हो भने त्यसका निम्ति को–को प्रयोग भए त्यो प्रष्ट देखिन्छ । माओवादी आन्दोलनभित्र वाम विसर्जनवादी समूहले क्रान्तिकारी बन्ने नाममा जेजति हर्कत गरे, अन्ततः त्यो प्रतिगामी शक्तिको सेवाका खातिर थियो भन्नेकुरा व्यवहरत पुष्टि भइसकेको छ ।

सबैभन्दा पहिला प्रचण्डमाथि हमला गर्न तिनै वाम विसर्जनवादी तत्व सक्रिय भए । वाम विसर्जवादी तत्वले माओवादी आन्दोलनको मूल नेतृत्वमाथि आन्तरिक रूपमा हमला गरेपछि बाह्य रूपमा माओवादी आन्दोलन र नेतृत्वलाई अपराधीकरण गर्ने गुरुयोजना तय गरे । कोही मानव अधिकारको नाममा कोही द्वन्द्व पीडितको नाममा माओवादी आन्दोलन र त्यसको नेतृत्वलाई अपराधी करार गर्न सबै हत्कण्ड प्रयोग गरे ।

आन्तरिक रूपमा अन्तरध्वंस गर्न वाम विसर्जनवादी समूह, राज्यमा रहेका तत्कालीन शाही सेनालगायत परम्परागत सत्ता संरक्षित शक्ति मिडिया र आर्थिक समूहले समग्र युद्धको आम रणनीति अनुरुप वैचारिक र राजनैतिक हमला गरेर पहिलो संविधानसभाबाट संविधान बन्नबाट रोक्न सफल भए ।

अर्कोतिर २०६२–६३ को जनआन्दोलन र माओवादी जनयुद्धको उग्रविरोधी केपी शर्मा ओलीलाई दक्षिणपन्थी प्रतिक्रियावादी वर्गले आफ्नो नायकको रूपमा अघि सारिरहेको थियो । पहिलो संविधानसभा विघटन गराउन एमालेभित्र खास भूमिकामा थिए, ओली । उनलाई तिनै वर्गको साथ सहयोग थियो, जो माओवादी आन्दोलन र २०६२–६३ को जनआन्दोलन विरोधी थिए ।

यसरी माओवादी नेतृत्वमाथि हमला गरेर आजको परिवर्तनका आधारहरू कमजोर बनाएपछि अहिले पनि प्रचण्डमाथि निकृष्ठ हमला जारी छ । त्यो हमलाको अन्तर्यमा प्रचण्डप्रति व्यक्तिगत रिसरागले होइन भन्नेकुरा बुझ्न जरुरी छ । हमला गर्नेहरू तिनै हुन् जो अढाई सय वर्ष लामो शाही राजतन्त्र र त्यो अवधिमा अभ्यास गरिएका १०४ वर्षे मध्य युगीन बर्बर राणा शासन, राजा महेन्द्रको ३० वर्षे निरंकुश पञ्चायत र बहुदलीय व्यवस्थाको नाममा अभ्यास गरिएको २०४७ को संसदीय शासन प्रणाली र राजा ज्ञानेन्द्रले अभ्यास गरेको निरंकुश फाँसीवादी शासनमा लुट मच्चाएर अघाएका जुकाहरू ।

उनीहरूको आदर्श जंग बहादुर राणा कुँवर हुन् । जसले सामन्ती केन्द्रीकृत राज्यलाई १९१० को मुलुकी ऐनमार्फत संस्थागत गरे । जसले भारतमा स्वतन्त्रता प्रेमी सिपाहीहरूले अग्रेज साम्राज्यवादका विरुद्ध विद्रोह गर्दा ब्रिटिस साम्राज्यवादको बफादार बनेर आफै सिपाही बिद्रोह दमन गर्न गए । जो १९०३ को कोतपर्वको रक्त कुण्डमा डुबुल्की मारेर नेपाली राज्यमा उदय भयो र जसले नेपाल एक शताब्दीसम्म अन्धकारमा बाच्नु पर्यो । त्यसलाई आफ्नो आदर्श नायक मान्ने अपराधीहरू आज प्रचण्ड र माओवादी आन्दोलनलाई अपराधीकरण गर्न लागेका छन् ।

उनीहरू एक भाषा (खस नेपाली), एक धर्म (हिन्दु), एक जाति (खस आर्य), एक सांस्कृतिक र केन्द्रीकृत राज्यको अवधारणाका पृष्ठपोषक हुन् । त्यसैले नेपालको संविधानमा बहु जातीय, बहु धार्मिक, बहु सांस्कृतिक र बहु भाषिक मुलुकको रूपमा परिभाषित हुँदा मुर्छित भएका छन् । त्यसैले उनीहरू आफ्नो आदर्शमाथि हमला गर्ने माओवादी जनयुद्ध र त्यसको नेतृत्वमाथि हमला गरिरहेका छन् ।

महिलाहरूलाई दोश्रो दर्जाको नागरिक र बच्चा जन्माउने मेसिन ठान्ने पितृ सत्तावादी दृष्टिकोणले ग्रस्त त्यो प्रतिक्रियावादी जत्थालाई राज्य सत्ताको सबै अंगमा ३३ प्रतिशत सहभागीता मन परेको छैन । अझै राष्ट्र प्रमुख पुरुष भए उपराष्ट्रपति महिला हुनु पर्ने, गाउँ वा नगरपालिकाको प्रमुख महिला भए उपप्रमुख पुरुष हुनु पर्ने संवैधानिक व्यवस्थाले उनीहरूको निद हराम भएको छ । त्यसैले उनीहरू प्रचण्डमाथि हमला गरिरहेका छन् ।

पशुभन्दा तल्लो दर्जामा राखेर व्यवहार गर्नेहरूलाई दलित जनसंख्याको आधारमा राज्यको हरेक निकायमा समानुपातिक सहभागिता गराउन अडान लिने माओवादी नेतृत्व र माओवादी आन्दोलन मन पर्ने कुरा छैन । त्यसैले मोर्चाबन्दी गरेर हमला गरिरहेका छन् ।

मधेसलाई नेपाली नठान्ने खस पहाडीय सामन्ती राष्ट्रवादविरुद्ध मधेस र मधेसी जनतालाई आन्तरिक उत्पीडनबाट मुक्तिको बाटो देखाउने काम प्रचण्डले गरे । त्यतिमात्रै होइन, स्वयं मधेसको जमिनदार वर्गविरुद्ध आन्दोलनमा उत्रिए । त्यसैले प्रचण्ड मधेसको जमिनदारदेखि खस पहाडीय सामन्ती राष्ट्रवादी अपराधीहरूको नजरमा देशद्रोही देखिए । उनीहरूमाथि हमला गरिरहे ।

पश्चिम तराईको जमिन खनेर मलिलो बनाउने थारुहरूलाई भूमिहिन बनाएर आफ्नो बिर्ता बनाउँदै थारु चेलीहरूलाई कम्लरी बनाएर राख्ने मानवता विरोधी अपराधीहरूलाई प्रचण्ड र माओवादी आन्दोलनको विरुद्ध धावा बोल्नु स्वभाविक छ । किनभने थारुहरूलाई इतिहासको त्यो उत्पीडनविरुद्द विद्रोहको बाटो देखाए ।काठमाडौँलाई मात्रै नेपाल देख्ने क्षेत्रीय उत्पीडनकारी काठमाडौँका सम्भ्रान्त वर्गले प्रचण्डविरुद्ध विष ओकल्नु स्वभाविक छ । किनभने, क्षेत्रीय उत्पीडनको सिकार भएका कर्णाली र सुदूर पश्चिमका जनतालाई क्षेत्रीय उत्पीडनविरुद्ध विद्रोहको दिशा निर्देशन गरे ।

जनजातिहरू जसलाई मतुवालीको रूपमा परिभाषित गरेर उनीहरूमाथि जातीय भाषिक सांस्कृतिक र वर्गीय उत्पीडनको पहाडले थिचेर राखेका थिए । उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउन समानुपातिक समावेशी लोकतन्त्रको जग हाले । त्यसैले सामन्ती जात व्यवस्थाका पृष्ठपोषक ती उत्पीडनकारी अपराधीहरू मुर्छित भए । र, प्रचण्ड र माओवादी आन्दोलनमाथि धावा बोलिरहेका छन् ।

सारमा भन्दा वर्गीय जातीय क्षेत्रीय भाषिक सांस्कृतिक धार्मिक लैङ्गिक उत्पीडनबाट ग्रसित नेपाललाई समानुपातिक समावेशी लोकतन्त्रिक नेपालमा रुपान्तरण गरेबापत प्रचण्डमाथि हमला गरेका हुन् । आज तिनै राजनीतिक उपलब्धिहरू जीवन मरणको लडाइँमा छ । दुर्भाग्यको कुरा के छ भने यी उपलब्धिका शत्रुहरू एकताबद्ध भएर हमलामा उत्रिएका बेला माओवादी आन्दोलन विभाजित र छिन्नभिन्न छ ।

प्रचण्ड र माओवादी आन्दोलनको बलमा लाभ लिएकाहरू प्रतिक्रान्तिकारीहरूले गरिरहेको हमलाबारे कतै बोलेका या प्रतिवादमा उत्रिएका छैनन्, देखिदैन । त्यसो हुनुको कारण छ– ती लाभ लिनेहरू एकथरी निकृष्ठ अवसरवादीहरू थिए अर्को चाहिँ लम्पट दासहरू । अवसरवादीहरू कमजोर भएपछि अन्तै कतै विलाप भए । दासहरू मरेको साप झै छन् । तिनलाई जति घोचे पनि के अर्थ ? यी दुवैलाई लाभको पदमा लैजानु माओवादी पार्टीको कमजोरी रहन गयो ।

पछिल्लोपटक ओलीमार्फत मञ्चन हुन खोजेको भयंकर प्रतिक्रान्तिविरुद्ध ढिलै भए पनि बाम लोकतान्त्रिक गठबन्धन बनेको छ । यसको अगुवाई गरेर प्रचण्डले आफ्नो ऐतिहासिक कार्यभार पूरा गरिसकेका छन् । यो स्वागत योग्य कुरा हो । र, इतिहासको आवश्यकता पनि । त्यसैको बलमा नेपालले आफ्नो संविधान र लोकतान्त्रिक क्रान्तिका उपलब्धिहरू हाललाई जोगाएको छ । ओलीको नेतृत्वमा हुन गइरहेको प्रतिक्रान्तिकारी हर्कत पराजित भएको छ ।

त्यसैले बाम लोकतान्त्रिक शक्तिका लागि प्रचण्ड राष्ट्रिय राजनीतिका अभिभावक र क्रान्तिका नायक हुन् । घृणित प्रतिक्रान्तिकारी शक्तिका निम्ति राष्ट्रिय समस्या ।

(तामाङ नेकपा माओवादी केन्द्रनिकट रहेका छन् ।)

प्रतिक्रिया