सोमबार, जेठ ७, २०८१

माथिल्लो तामाकोशीसँगै मुलुकमा खुशीयाली

किरण अधिकारी २०७८ भदौ २१ गते १८:४७

काठमाडौं । राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालमा आएसँगै मुलुकमा खुशीयाली छाएको छ । माथिल्लो तामाकोशीसँगै मुलुक विद्युतमा आत्मनिर्भर भएको हुँदा खुशीयाली आएको हो ।

उक्त आयोजनाको ४ सय ५६ मेगावाट विद्युत प्रणालीमा जोडिएसँगै मुलुकको विद्युतको कूल क्षमता २ हजार मेगावाट पुगेको विद्युत प्राधिकरणले जनाएको छ ।

आयोजनाको विविध प्राविधिक परिक्षणपछि अहिलेमात्र पूर्ण क्षमतामा सञ्चालनमा आएको हो । कूल विद्युतीय क्षमता २ हजार मेगावाटमा पुगेकाले नेपाललाई थप उत्साहित बनाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिंङले जानकारी दिए ।

Advertisement

उनले मेरोन्युजसँग कुरा गर्दै, ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते आयोजनाको उद्घाटन गरे पनि दुई महिनापछि मात्र भदौ २१ गते पूर्ण क्षमतामा विद्युत बजारमा आएको हो, जसले आत्मबललाई बढाएको छ, तर यसले आत्मनिर्भर नै भएको होइन, किनकी समयानुसार पूर्ण क्षमता र कम प्रयोग हने भएकाले अहिले नै अन्तराष्ट्रिय क्षेत्र (भारत) बाट विद्युत आयात गर्न नपर्ने होइन ।’

उनले उत्पादन भएको विद्युत पूर्ण रुपमा समयानुसार प्रयोग हुन नसक्दा पनि उत्पादित विद्युत प्रतिरात ४ सय मेगावट रातको समयमा खेर जाने र त्यो समय भारतमा नै बिक्री गर्ने अध्ययन भइरहेकोले विद्युत खेरजाँदा दैनिक ४ करोड रुपैयाँ घाटा हुने भएकाले प्रयोगका लागि छिट्टै तयारी पूरा हुने बताए ।

यसअघि नै प्राधिकरणले माथिल्लो तामाकोशीको ४ सय ५६ मेगावाट र भोटेकोशीको ४५ मेगावाट भारत निर्यात गर्ने प्रस्ताव भारतमा राखेपनि पूर्णता नभएको विद्युत जानकार भीम गौतमले जानकारी दिए ।

नेपाली लगानीमा निर्माण गरिएको माथिल्लो तामाकोशीको आयोजनाको शुरुवाती लागत ३५ अर्ब लाग्ने अनुमान गरिएको थियो । प्राकृतिक विपत, सीमानाकामा भारतको अवरोध, भुकम्प, कोरोना, सुरुङमा समस्या गरेर लागत ८४ अर्ब रुपैयाँ पुगेको प्राधिकरणको तत्थ्यांकमा उल्लेख छ ।

तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले २०६८ भदौ १७ गते विद्युत आयोजनाको उद्घाटन गरेपनि पूर्णता पाउन ११ वर्ष पूरा भयो ।
आयोजनाले वार्षिक २ हजार २ सय २ सय ८१ गिगावट घण्टा (२ अर्ब २८ करोड युनिट) विद्युत उत्पादन गर्छ ।

विद्युत प्राधिकरणको ४१ प्रतिशत शेयर रहेको माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित विद्युत प्रतियुनिट ३ रुपैयाँ ५० पैसा रहेको छ ।
योसँगै प्राधिकरणका आफ्नै २२ आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । मर्मतका नाममा लामो समयदेखि बन्द रहेको माथिल्लो त्रिशुली थ्री ए को ६० मेगावाट प्रणालीबाट अलग रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको प्रणालीमा हाल निजी क्षेत्रका १ सय ८ आयोजनाले ८ सय १५ मेगावाट विद्युत उत्पादन गरिरहेका छन् । वर्षायाम भएकाले पानी सहज कारणले विद्युत उत्पादन राम्रो देखिएपनि सीमित समयका लागि भएकाले समस्या देखिएको विद्युत जानकार गौतमको भनाई छ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया