बिहीबार, वैशाख १३, २०८१

‘कसैले पुस्तक मागे चित्त दुख्छ’

मेरोन्यूज २०७८ भदौ १२ गते १७:२६

रोहित भण्डारी ‘सुकदेव’ मिडियामा परिचित नाम हो । उनले सुरुवातमा नेपाल टेलिभिजनमा लोकप्रिय कार्यक्रम ‘छम्छमी’ चलाए । माउन्टेन, सगरमाथा, अरनिको र पछिल्लो समय उनी योहो टिभीमा कार्यरत थिए । विभिन्न पत्र पत्रिकामा उनका लेखहरू प्रकाशित भएका छन् ।

भण्डारीका दुई वटा पुस्तक प्रकाशित छन् । उनका सम्भव छ–प्रेरणाका २३ पात्र र नेपालमै सकिन्छ पुस्तकले राम्रै बजार लिए । उनी राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७४ बाट सम्मानित भइसकेका छन् । एक लाख रुपैयाँ नगदसहित राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सम्मान गरेकी थिइन् । मिडियाकर्मी तथा लेखक भण्डारीसँग मेरो न्युजका नरेन्द्र रौलेले गरेको कुराकानी :

अचेल तपाईं के पढ्दै हुनुहुन्छ ?

अचेल म दैनिक श्रीमद्भागवत गीता पढिरहेको छु । सामान्यतया बिहान ५ बजे ब्युँझिन्छु । नुवाई धुवाई सकेर गीता पढ्न बस्छु । स्नातक पढ्नेबेला मैले श्रीमद्भागवत गीता पढेको थिएँ । लामो समयपछि यो पुस्तक फेरि दोहोर्याउँदै छु ।

मेरो जीवनमा आमाको ठूलो प्रभाव छ । उहाँलाई मैले भर्खरै गुमाएँ । आमाले औपचारिक अध्ययन गर्नु भएको थिएन । तर, अक्षर चिन्नु हुन्थ्यो । उहाँले महाभारत, श्रीमद्भागवत गीता जस्ता पुस्तकहरू अध्ययन गर्नु भएको थियो । पछिल्ला ९ महिना बोन म्यारो क्यान्सरसँग आमाले लडाई लड्नु भयो । जति पीडा भोगे पनि उहाँको आँखामा आँशु देखिएन । उहाँले मृत्युलाई सामान्य प्रक्रियाका रुपमा लिनु भयो । कहिल्यै डराएको अनुभूति गर्नु भएन । हामी मृत्युदेखि डराउनु हुन्न भन्छौं । तर, आमाले अन्तरमनदेखि स्वीकार्नु भएको थियो । पूर्वीय दर्शन बुझेको मान्छे मृत्युदेखि डराउँदैन ।

आमालाई गुमाए पनि उहाँमा भएका गुण सहनशिलता, शालिनता, नैतिकवानले मलाई प्रभाव पारेका छन् । यी गुणहरु उहाँले गीताबाटै ज्ञान हासिल गर्नु भएको थियो । मलाई पनि कता–कता तिनै कुराहरुले छोएका छन् । यसकारण मलाई श्रीमद्भागवत गीता दोहोर्याउन मन लाग्यो । पूर्वीय दर्शनका पुस्तकमाथि मेरा रूची छन् ।

तपाईंलाई प्रभाव पारेका पुस्तकहरू ?

एउटै किताबको नाम लिनु पर्दा गीता । जसले जीवन र जगतलाई बुझाउँछ । दोस्रो पुस्तक– जगदिश घिमिरेको अन्तरमनको यात्रा । लेखक घिमिरेले जुन रोग खेपिरहनु भएको थियो । मेरो आमाले पनि त्यही खेप्नु भएको थियो । भावनात्मक रुपले अन्तर मनको यात्राले मन छोयो ।

तपाईका अघिल्ला दुई वटा पुस्तकले राम्रो बजार लिए । अब कस्तो खालको पुस्तक लेख्ने तयारीमा हुनुहुन्छ ?

मोटिभेश्नल पुस्तक लेख्ने तयारीमा छु । यो पुस्तक तीन वर्षअगाडि नै पूरा भइसक्थ्यो । तर, जीवनमा सोचे जस्तो नहुने रहेछ । जति बेला म पुस्तक लेखिरहेको थिएँ । त्यो बेला मलाई यस्तो लाग्थ्यो, केही ढिला भए यो पुस्तक अर्कैले लेख्ने वाला छ । एकदमै रफ्तारमा मैले किताब लेखिरहेको थिएँ । हप्ता, दस दिनभित्र लेखेर सकिन्थ्यो ।

तर, त्यसै बेला परिवारमा नमिठो दुर्घटना भइदियो । बहिनीलाई आगोको लप्काले पोलेसँगै महिना दिन कीर्तिपुर अस्पतालमा बस्यौँ । निको हुन एक वर्ष लाग्यो । लेखिरहेको पुस्तक अगाडि बढाउन सकिनँ । मलाई शब्दै फुरेनन् । बहिनीलाई निको भएपछि आमालाई क्यान्सर देखियो । यसैबीचमा आमालाई गुमाउनु पगेँ । निरन्तर अकल्पनिय घटनाहरुको सामना गर्नु पर्यो । यसैले लेख्न सकिनँ । मैले गरिरहेका कामबाट आमा असाध्यै खुसी हुनु हुन्थ्यो । आमाको खुसीका लागि पनि मैले लेख्नु पर्दछ ।

मडियामा काम गर्नु र साहित्य लेख्नुमा के फरक पाउनु भयो ?

किताब लेख्दा असाध्यै आनन्द मिल्छ । मिडियामा फरक पात्र, फरक विषयमा लेख्नु पर्छ । हरेक क्षण हतारो, दबाब, तनाव भइरहन्छ । किताब लेख्दा यस्तो हुँदैन । म अरुलाई प्रेरित गर्न लेखिरहेको हुन्छु । आफैलाई उर्जा मिलिरहेको हुन्छ ।

प्रायः कुन समयमा पढ्न, लेख्न मन पर्छ ?

आध्यात्मिक पुस्तक बिहानको समयमा पढ्न मन पर्छ । अरु पुस्तकहरू रातिको समयमा पढ्न रुचाउँछु । लेखनको भने निश्चित समय छैन । मलाई लेख्नका लागि कुनै कुराले डिस्टर्ब गर्दैन । बिहानदेखि बेलुकासम्म लेखेर बस्न सक्छु । त्यसका लागि ब्रेक चाहिदैन । पढाईमा भने ब्रेक चाहिन्छ ।

किताब माग्ने बानी छ कि छैन ? कसैले माग्यो भने दिनु हुन्छ कि हुन्न ?

किताब माग्ने बानी छैन । सकभर म अरुलाई पनि पुस्तक दिन्नँ । कसैले पुस्तक मागेर लगे असाध्यै चित्त दुख्छ । नमागिदिए हुन्थ्यो, जस्तो लाग्छ । म पुस्तक किनेरै पढ्छु ।

नेपालमा किताबको बजार कस्तो देख्नु हुन्छ ?

एकदमै राम्रो छ । मानिसलाई वास्तविक कथाले बढी छुन्छ । पाठकहरुले त्यसमा आफूलाई पाउनु हुन्छ । अहिले त मानिसहरूको ठूलो संख्या सोसल मिडियामा झुण्डिएको पाइन्छ । २, ४ वर्षअगाडि सम्म पुस्तकको बजार राम्रो थियो । तपाईको किताब पढेँ । मैले नयाँ काम सुरु गरेँ भनेर म्यासेज आइरहन्छन् । कतिले नयाँ किताब कहिले आउँछ भनेर सोधिरहनु हुन्छ । यसले राम्रै छ जस्तो लाग्छ ।

तपाईलाई लेख्न के कुराले प्रेरित गर्यो ?

म दोलखामा प्लस टु पढ्दा कलेजले अतिरिक्त कार्यक्रमको आयोजना गथ्र्यों । कविता, निबन्ध प्रतियोगितामा म केहीपटक प्रतिस्पर्धामा पहिलो भएँ । पछि कलेजले लेख्ने विद्यार्थीहरूका लागि साहित्य कुञ्ज भित्ते पत्रिका प्रकाशन गर्न थाल्यो । एकाउन्ट पढाउने सर रत्न श्रेष्ठले मलाई साहित्य कुञ्जको सम्पादक बनाइदिनु भयो । यस्तै नेपाली शिक्षक ईश्वरी दाहालले हौसला दिनु हुन्थ्यो । जसले मलाई लेखनमा प्रेरित गरे ।

लेखनमा आउन चाहनेहरूलाई के सुझाव दिनु हुन्छ ?

सुरुमा त लेख्नै पर्यो । नयाँ लेखकका लागि समस्या भनेको प्रकाशन गृह नपाउनु हो । सहज रुपमा प्रकाशकले नस्वीकार्लान् । आफै छाप्न सकिदैन । जो लेखनमा आउन चाहनु हुन्छ, उहाँहरूले सुरुमा पत्रपत्रिका र अनलाइनमा छपाउनु होस् । यसरी लेख्दै गयो भने प्रकाशक पाउन सजिलो हुन्छ ।

प्रतिक्रिया