शुक्रबार, वैशाख १४, २०८१

गर्धन र ढाड दुख्ने समस्या छ ? यसरी बच्नुहोस् (भिडियोसहित)

डा. गौरवराज ढकाल २०७८ भदौ १२ गते १५:५०

मनिसहरूमा पछिल्लो समय ढाड र गर्धनको समस्या निक्कै बढिरहेको देखिन्छ । यो धेरैजसो मानिसहरूमा समस्याको रुपमा देखा परेको छ । राष्ट्रिय ट्रमा सेन्टरको स्पाइनको ओपिडीमा म कहाँ आउने विरामीहरूमा ९० प्रतिशत गर्धन र ढाड दुख्ने समस्या लिएर आउने गरेका छन् ।

यस्तो समस्या देखिनुका मुख्य कारण जीवन शैलीमा आएको परिर्वतन हो । हाम्रो बस्ने तरिका, काम गर्ने शैली, खानपानमा आएको परिवर्तनका कारण यो समस्या बढिरहेको देखिन्छ । अर्को वंशाणुगत समस्याका कारणसमेत यो समस्या देखिन्छ । धेरै काम गर्ने तर आफ्नो स्वास्थ्य अझै स्पाइनको बारेमा कम महत्व दिन थाल्यौँ ।

घरको काम सकाएर गाडी वा मोटर साइकल चढेर अफिस जान्छौँ । अफिसमा सात-आठ घण्टा कुर्सीमा बसेर काम गर्ने र लामो समय एउटै स्थानमा बस्ने मानिसमा यो समस्या बढी देखिने हुन्छ । एउटा कुर्सीमा लगातार बसिरहनु हुँदैन । एक घण्टामा दुई तीन मिनेट उठ्ने, हिँड्ने गर्नु पर्छ । कुर्सीमा बस्दा धेरै निउरिने गर्नु हुँदैन धेरै पछाडि पनि बस्नु भएन ।

कुर्सीको पछाडिको भागले हाम्रो ढाडलाई आराम दिएको हुनु पर्छ । अर्को कुर्सी धेरै लचिलो हुनु भएन् । कम्प्युटरको स्कृन आफ्नो आँखाको लेबलमा हुनु पर्छ । दुई वटा हात आराम पूर्ण किबोर्डमा राखेर राख्नु पर्छ । यस्ता साना कुरामा हामीले ध्यान नदिँदा हामीलाई ढाड र गर्धन दुख्ने समस्या देखिएको छ ।

ट्रमा सेन्टरमा आउनेमा बढी लडेको र चोटपटक लागेका बढी आउछन् । यहाँ आउनेमा ढाड बागिने समस्या देखिएका छन् । बाथ रोगबाट स्पाइनमा समस्या देखिएका, स्पाइनको क्यान्सरका बिरामीहरू बढ्दै गएका थिए । तर जब नेपालमा लकडाउन भयो । त्यसपछि यस्ता स्पाइनका समस्या भएका बिरामीहरु आउन छाडे । कि त्यस्ता बिरामीहरुले नजिकैको डाक्टरहरुसँग सोधेर औषधि लिए वा घरमै समस्या लिएर बसेको हुनुपर्छ । अहिले लडेका चोटपटक लागेर स्पाइनमा समस्या लिएर आउँने बिरामीहरु घटेका छन् ।

लकडाउनका कारण ढाड र गर्धन दुखेका कारण शल्यक्रियाका लागि मिति तोकिएका बिरामीहरू ५० प्रतिशतले घटेका छन् । ती बिरामीहरुलाई शल्यक्रिया अनिवार्य आवश्यक छ । तर त्यस्ता बिरामी अस्पताल आएका छैनन् । कोरोनाले स्पाइन बिरामीलाई कस्तो असर गरेको छ । त्यसको अध्ययन हामीले गरिरहेका छौँ । अबको ६ महिनामा त्यसको तथ्या‌क सार्वजनिक गर्छाैं ।

हामीले दैनिक कामहरु कसरी गरिरहेका छौ, त्यसमा पनि भर पर्छ । ढाड र गर्धनको समस्या आएपछि घरमै विभिन्न प्रकारको व्यायम गर्ने तर निको नभएर अझ समस्या बढ्दै गएपछि मात्र उपचारका लागि आउने गरेको देखिन्छ ।

यदि तपाईलाई कुनै चोटपटक लागेको छैन । तर ढाड र गर्धन दुख्ने समस्या एक्कासी देखियो । त्यस्तो समस्या कहिलेकाही राति सुत्दा नमिले उठ्दा क्रक्रक हुने गरी ढाड दुख्ने हुन्छ । त्यस्तो समस्या एक दुई दिन घरमा नै आराम गरेर व्यायम गरेमा निको हुन्छ ।

यदि निको भएन् अझ बढ्दै गएमा तुरुन्तै (स्पाइन सर्जन) मेरुदण्ड रोग विशेषज्ञलाई देखाउनु पर्छ । विभिन्न अध्ययन हेर्दा विश्वमा ८० प्रतिशत जनसंख्यालाई ढाड र गर्धन दुख्ने समस्या देखिएको पाइएको छ । गर्धन र ढाडको दुखाई सामान्य व्ययाम र औषधिले निको हुन्छ । यसका लागि सर्जरी चाहिदैन । ९० प्रतिशतमा ढाड र गर्धनको शल्यक्रिया गर्नु पर्दैन ।

ढाड र गर्धनको दुखाईको समस्या ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रबाट उपचारमा आउने विरामीमा देखिएको छ । यो संख्या ग्रामीण क्षेत्रका मानिसमा भन्दा शहरमा बस्नेहरुमा अधिक देखिएको छ । यस्तो समस्या लिएर उपचारका लागी बढी आउने ७५ प्रतिशत अफिसमा काम गर्ने त्यसमा पनि बढी महिलाहरू देखिएका छन् । हामीसँग उपचारका क्रममा आउनेहरूको तथ्यांक हेर्दा यस्तो देखिन्छ ।

बैंक तथा वित्तीय सस्थामा काम गर्ने, लामो समय कम्प्युटरमा काम गर्ने, मोबाइल बढी चलाउनेहरूमा पनि यो खालको समस्या देखिएको छ । लकडाउन अघि बालबालिकाहरूमा स्कुल व्यागका कारण ढाड र गर्धन दुख्ने समस्या देखिने गरेको थियो भने अहिले अनलाइन कक्षाका कारण निहुरिएर ल्यापटप र कम्युटर चलाउने, भिडियो गेम, मोबाइल निहुरेर चलाउँदा बालबालिकाहरूमा गर्धन दुख्ने समस्या देखिएको छ ।

लामो समयसम्म एकै तरिकाले निहुरेर काम गर्दा गर्धनका मर्सलहरू थाकेर जान्छ । जसले गर्दा गर्धन दुख्ने समस्या देखिन्छ । यदि, यो समस्या समयमै हामीले ख्याल गरेनौँ, राम्रो उपचार गरेनौँ भने जटिल बन्दै जान्छ । उपचार गर्न समेत गाह्रो हुन्छ ।

हरेक दिन व्यायम गर्ने, खेल्ने, हिँड्ने, लिफ्टको प्रयोग सकेसम्म नगर्ने, लामो समयसम्म उभिनु हुँदैन । धेरै भारी सामान वा निहुरेर एकैपटक सामानहरु उठाउने गरिएन् भने गर्धन र ढाड दुख्ने समस्याबाट बच्न सकिन्छ । कम्तिमा पनि दिनमा एक घण्टा आफ्नो ढाडको लागि समय दिनु पर्छ । मेरुदण्ड र गर्धन दुख्ने समस्या देखिएमा यो आफै निको हुन्छ भनेर घरमै बस्ने बानी नगरौँ, किनभने घरायसी उपचारको विधि पनि त्यति राम्रोसँग हुँदैन । पछि गएर जटिल समस्या निम्त्याउँन सक्छ ।

नेपालमा स्पाइनको उपचार पद्धति

नेपालमा स्पाइनको उपचार पद्धति भर्खरै विकास हुँदैछ । तर पछिल्लो १० वर्ष यता यसमा धेरै फरक भएका छन् । १० वर्षअघि नेपालमा स्पाइन सर्जनहरु औँलामा गन्न सकिने थिए । उनीहरु काठमाडौंका एक दुई अस्पतालमा थिए । १० वर्षको अन्तरालमा स्पाइन सर्जनहरु विभिन्न देशमा अध्यनन गरेर आएका छन् । धेरै सर्जनहरु भएका छन् । तर अझै पनि उनीहरु काठमाडौंमा मात्र बढी छन् । यदि मेरुदण्डमा समस्या छ भने मेरुदण्ड विशेषज्ञको मै जानुपर्छ भन्ने मानिसमा जनचेतना फैलाउन जरुरी हुन्छ ।

ढाड र गर्धन दुख्ने समस्याका रोकथामका उपाय

– आफ्नो जीवन शैलीमा परिर्वतन ल्याउने
– नियमित व्यायम गर्ने
– गर्धन र ढाडको दुखाईको समस्या आउने बित्तिकै तुरुन्तै मेरुदण्ड रोग विशेषज्ञकोमा उपचारका लागि जाने ।
– हात खुट्टा झमझमाउने कमजोरीपना देखिने, हिँड्न गाह्रो हुनेलगायतका समस्या आएमा मलाई जटिल समस्या भयो कि भनेर तुरुन्तै उपचारका लागि मेरुदण्ड अर्थात स्पाईन सर्जनलाई देखाउनु पर्छ ।

(राष्ट्रिय ट्रमा सेन्टर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका स्पाइन सर्जन डा. ढकालसँग मेरोन्यूजकर्मी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया