सोमबार, जेठ ७, २०८१

नेप्सेका प्रमुखको राजिनामाले धितोपत्र बोर्डका अध्यक्ष र संचालक समस्यामा

किरण अधिकारी २०७८ भदौ ९ गते १५:२३

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्र सिंह साउदको राजिनामाले अरुलाई मारमा पारेको छ । अन्तराष्ट्रिय कानुन र नैतिकताको आधार देखाएर साउदले राजिनामा दिएपछि धितोपत्र बोर्डका अध्यक्ष र संचालक समस्यामा परेको प्रष्ट देखिएको हो ।

Advertisement

बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल उद्योग बाणिज्य महासंघबाट प्रतिनिधित्व गरी बोर्ड संचालक बनेका चन्द्र ढकालले नैतिकताको आधारमा स्वतः राजीनामा दिनुको विकल्प नभएको शेयर विश्लेषकको भनाई छ । यद्यपी यसबारेमा मेरोन्युजले पटकपटक अध्यक्ष ढुंगाना र सञ्चालक ढकाललाई सम्पर्क राख्दा प्रतिक्रिया दिन अस्विकार गरेका छन् ।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा ढुंगाना र ढकाल पनि बिबादित बनेका छन् । ढुंगानाले अमेरिकामा रहेकी छोरीको नाममा र ढकालले आफ्ना भाइको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेका थिए ।

शेयर बजारको फ्रन्ट लाइनरको रुपमा लिईने नेप्सेको प्रमुख कार्यकारी पदमा रहदाको अवस्थामा साउदले आफ्नो श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेपछि उनी विवादित बनेका थिए ।

अर्थ समितिमा समेत नियामकीय पदमा बसेर यस प्रकरणमा मुछिएकाहरुलाई पदबाट राजिनामा दिन लगाएर स्वतन्त्र रुपमा छानबिन गर्नुपर्ने आवाज उठेको थियो ।

अर्थसमितिमा सांसदहरुले यस्तो आवाज उठाएको पहिलो कार्य दिनमै साउदले सीईओ पदबाट राजिनामा दिएपछि ढुंगाना र ढकाल पनि अप्ठ्यारोमा परेको प्रष्ट छ ।

यसअघि धितोपत्र कर्मचारी युनियनलेसमेत अध्यक्ष ढुंगाना र सञ्चालक ढकालमाथि यथाशिघ्र छानबिन गरी ढोषीमाथि कारबाहीको माग गरेका थिए । युनियनले विभिन्न सञ्चारमाध्यममा प्रकाशित, प्रसारित समाचारलाई आधार मानि अर्थमन्त्रालयले बोर्डलाई सोधेको स्पष्टिकरणले कर्मचारीलाई विरोधमा उतारेको हो ।
यो पनि पढ्नुहोस्

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया