सोमबार, जेठ ७, २०८१

वाणिज्य बैंकहरुले लाभांश दिदै

किरण अधिकारी २०७८ भदौ ६ गते १९:०४

काठमाडौं । शेयर बजारमा सुचिकृत बैंक वित्तीय सँस्थाहरुले गत आर्थिक बर्षको प्रगति विवरण अर्थात वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वित्तीय विवरण सार्वजनिक भए पश्चात बजारमा लगानीकताले कसले कति लाभांश देला भन्ने चर्चा गर्न थालेका छन् ।

Advertisement

वित्तीय विवरण संचालनमा रहेका २७ वटै बाणिज्य बैंकहरुले गत आर्थिक वर्षको सार्वजनिक गरिसकेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार २७ वटै बाणिज्य बैंक गत आर्थिक वर्षमा नाफामै रहेका छन् । सबै बैंक नाफामा रहेपनि उनीहरुले वितरण गर्न सक्ने लाभांश क्षमता र वितरण गर्ने लाभांश फरक फरक रहेको बताइएको छ ।

२०७८ भदौ १५ गतेसम्म प्राप्त ब्याज आम्दानीलाई पनि गत आर्थिक बर्षको आम्दानीमा लेखांकन गर्न पाईने व्यवस्थाले सार्वजनिक वित्तीय विवरणमा उल्लेख लाभांश क्षमताभन्दा थप बढेर आउँन सक्छ ।

यहाँ उल्लेख गरिएको बाणिज्य बैंकहरुको लाभांश क्षमता र दिन सक्ने लाभांशको दर बैंकहरुको बिभिन्न कोषहरुमा भएको पैसा र अहिले सार्वजनिक भएको चौथो त्रैमासको वित्तीय विवरणलाई आधार मानेर तयार गरिएको हो ।

२७ वटा बाणिज्य बैंकहरुमध्ये गत आर्थिक बर्ष सबैभन्दा बढी खुद मुनाफा आर्जन गर्नेमा नबिल बैंक सबैभन्दा अगाडी छ भने उसलाई ग्लोबल आइएमई र राष्ट्रिय बाणिज्य बैंक तथा कृषि विकास बैंकले पछ्याएका छन् । नबिल बैंकले ४ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्दा ग्लोबल आईएमईले ४ अर्ब २३ करोड, राष्ट्रिय बाणिज्य बैंकले ३ अर्ब ७९ करोड र कृषि विकास बैंकले ३ अर्ब ६९ करोड खुद मुनाफा गरेका छन् ।

त्यस्तै २७ मध्ये प्रति सेयर आम्दानी सबै भन्दा बढी राष्ट्रिय बाणिज्य बैकको रहेको छ भने उसलाई कृषि विकास बैंक र नबिल बैंकले पछ्याएका छन् । राष्ट्रिय बाणिज्य बैंककोप्रति सेयर आम्दानी ३७ रुपैयाँ २७ पैसा छ भने उसलाई पछ्याएको कृषि विकास बैंकको ३३.६२ र नबिल बैंकको ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै सबैभन्दा बढी लाभांश क्षमता कृषि विकास बैंकको रहेको छ भने सबैभन्दा बढी लाभांश बाँड्न सक्ने बैंकमा नबिल बैंक अगाडी देखिएको छ । कृषि विकास बैंकको लाभांश क्षमता ५३.७६ प्रतिशत रहेको छ भने नबिल बैंकले बाँड्न सक्ने लाभांश ३९ प्रतिशत देखिएको छ ।

यसैबीच गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा १.६१ प्रतिशतले घटाएका छन् ।

आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा यी बैंकहरुको बेस रेट ८ दशमलव ५० प्रतिशत रहेको थियो । यो घटेर २०७७/७८ को असार मसान्तसम्म ६ दशमलव ८९ प्रतिशतमा झरेको छ । बैंकहरुले बेस रेटमा केही प्रतिशत जोडेर आफ्नो ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले बेस रेटमा कति प्रिमियम जोड्ने भने बैंकहरुलाई नै अधिकार दिने उल्लेख गरेको छ । तर उद्यम व्यवसाय सञ्चालन गर्न १ करोड रुपैयाँ वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम् २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया