बिहीबार, वैशाख १३, २०८१

सन्दर्भ : अन्तर्राष्ट्रिय युवा दिवस

विभेदमा युवा

मिलन सुवेदी २०७८ साउन २८ गते १९:०३

परिवेश १ः

पारिवारिक छलफलमा घरजग्गा बेचबिखन

बुबा : हाम्रो घर पछाडिको त्यो दुई बिघा खेत बेचौँ बुढी ।
आमा : विनाकाम किन बेच्नुपरयो खेत ?
बुबा : छोरोलाई डाक्टर पढाउन ।
छोरा : बा मेरो लागि त्यो खेत बेच्नुपर्दैन । बरु म म्यानेजमेन्ट पढ्छु र त्यसैमा खेती गर्छु ।
बुबा : के रे ! म्यानेजमेन्ट रे ! वाहियात कुरा नगर । चुप लागेर हामीले भनेको पढ् । हामीले नसक्ने हो र तँलाई पढाउन ? त्यस्ता जाबो खेत त तैंले पढेपछि जति पनि जोडिहाल्छस् नि ।
छोरा : हजुरबाले जोडेको जमिन मेरा लागि बेच्न पर्दैन बा, म मेडिकल पढ्न पनि सक्दिन ।
आमा : हेर न बासँग मुखमुखै लागेको । अरूका छोराछोरीले पढ्छु भन्दा नि पाछैनन् । राम राम उ चाहिँ हलो जोत्छु पो भन्छ है !

परिवेश २ : कुनै कार्यालयको संवाद

युवक : सर नमस्ते ।
अधिकृत : भन्नुस् के काम छ ?
युवक : सर, म रामपुर क्याम्पसबाट आएको । म क्याम्पस प्रमुख ।
अधिकृत : (तलदेखि माथिसम्म हेर्दै) कुन रामपुर क्याम्पस ?
युवक : त्रि.वि.अन्तर्गतको रामपुर कृषि क्याम्पस । सचिवज्यूसँग भेट्नु थियो । उहाँले बोलाएर आएको ।
अधिकृत : एकछिन पर्खिनुस् । (कपाल फुलेको व्यक्तिलाई देखेर) सर नमस्ते । सचिवज्यू व्यस्त हुनुहुन्छ म भन्दिन्छु । हजुर बस्दै गर्नुस् ।
युवक : सर म पनि बसुँ ?
अधिकृत : मौन स्वीकृति

परिवेश ३ : गाउँको बाटो बनाउने छलफल

युवा युवतीहरू : हामी बोल्न नि पाउँदैनौ ह्याँ बसेर के गर्ने जाऊँ ।
बुज्रुकहरू : अनि के तिमीहरूको पछि लाग्ने हो हामी ? मकैका ठेट्नाहरू ।

यी तीनवटै परिवेशले युवा वर्गप्रति घरपरिवार र समाजले गरेको अविश्वासलाई प्रतिबिम्बित गर्दछ । संयुक्त राष्ट्र संघले १६-२४ वर्ष उमेर समूहका व्यक्तिलाई युवा भनेर वर्गीकरण गरे तापनि नेपाल सरकारले १६-४० वर्ष उमेर समूहका व्यक्तिहरूलाई युवा मानेको छ । सामान्यतया युवा भन्नाले आधारभूत शिक्षा आर्जन गरी पहिलोपटक काम धन्दा सुरु गर्ने अवस्था बुझिन्छ । यस अर्थमा युवा भनेका परिवारको पूर्ण निर्भरताबाट उम्किएर स्वावलम्बी बन्न अग्रसर व्यक्तिहरू हुन् भन्ने कुरामा दुइमत छैन । विश्वको १८० करोड जनसङ्ख्या रहेको यो जमातको उपस्थिति नेपालमा १ करोड भन्दा बढी छ ।


युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति र परिवर्तनको वाहक हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोत मानिएको छ । तर समाजमा विद्यमान वर्ग, जाति, भाषा, धर्म र लैङ्गिक विभेद भन्दा पनि हिजोआज अनुभव नभएको र आलाकाँचाको नामले युवाहरू अविश्वास र विभेदको शिकार भएको पाइन्छ । परम्परागत मान्यता र विचारको प्रभावले उनीहरू थिचिएको अवस्था छ । निर्णय लिन उनीहरू स्वतन्त्र छैनन् र अन्ततः अभिभावकसँगको परनिर्भरतामै रुमल्लिन बाध्य छन् । आज म तिनै नेपाली युवाहरूको वास्तविक अवस्था र अबको परिवेशमा के–कसरी विद्यमान विभेदहरूलाई अन्त्य गर्न सकिन्छ भनेर चर्चा गर्दैछु ।

परिवार


हाम्रो समाजमा ठूलाबडालाई आदर गर्नुपर्छ भनी सिकाउँदै गर्दा त्यो आदरको व्याख्या पक्षपाती ढङ्गले गर्दै आएको पाइन्छ, जसका कारण परिवारको जिम्मेवार सदस्य भए पनि युवाहरूमा अन्तर्निहीत नवीन विचारले स्थान पाउँदैन । एकाध परिवार र युवा नै घरमुली हुने अवस्थामा बाहेक प्रायः पारिवारिक छलफलमा युवाहरूलाई सहभागी गराइँदैन, जसले गर्दा पारिवारिक निर्णयहरूमा पुरानो पिँढीको वर्चश्व रहन्छ र परिवारको समय र प्रगतिको गति सापेक्षित रूपमा अबरुद्ध हुन्छ । पुरानो र नयाँ पुस्ता बीचमा विचारको द्वन्द्वका कारण युवाहरूले आफ्नो सुखद भविष्यप्रति जिम्मेवारीबोध नै गर्न पाउँदैनन्, जसले गर्दा परनिर्भता बढदै जान्छ । बारम्बार आफूप्रति लादिने निर्णयको बोझले कतिपय युवाहरूमा डिप्रेसनको समस्या देखिएको पाइन्छ । तर सामाजिक प्रतिष्ठाको आडमा यस्ता गम्भीर प्रकृतिका समस्याहरू बाहिर आउन पाउँदैनन् ।


घर व्यवहारमा युवाहरूको सक्रिय सहभागिता र निर्णायक भूमिकाले नयाँपनको बिजारोपण हुन्छ । यसबाट सफलता प्राप्तिको साथै एक–अर्काप्रति माया, सम्मान र आदरभावको विकास पनि गराउँछ । युवाहरूलाई आत्मनिर्णयको अधिकार दिई उनीहरूको अग्रगामी कदमहरूमा प्रोत्साहन गर्न सके उनीहरूमा आत्मविश्वास बढ्छ । अभिभावकले नयाँ–नयाँ अवसरको खोजी गर्न प्रेरित गर्नुका साथै हरेक सफलतामा प्रशंसा र उत्साहित गर्नेतर्फ ध्यान दिनुपर्छ ।

कार्यस्थल


लोकसेवा आयोग र थोरै मात्र संस्थाहरूबाहेक धेरैजसो संघ–संस्थाहरूले योग्यतामा अनुभवको दफा राखेर विज्ञापन गर्ने हुँदा प्रायजसो संस्थाहरूमा प्रतिभाशाली युवाहरूले सहज रूपमा प्रवेश पाउने अवस्था छैन । कथंकदाचित छनोट भइहाले पनि योग्यता र क्षमता अनुुसारको जिम्मेवारी पाउँदैनन् । यति मात्र होइन श्रम शोषणको शिकार हुन्छन् । अझ कम उमेर समूहका व्यक्तिहरूले जति क्षमता भए पनि परिपक्वताको परिभाषाले कार्यालयको स्रोत–साधनमा पहुँच बिस्तार गर्ने अवसर पाउँदैनन् । महिला युवामाथिको विभेद अझ विकराल देखिन्छ । शक्तिहीन दर्जा दिई उनीहरूमाथि मानसिक तथा शारीरिक शोषण भएका घटना विश्वव्यापी रूपमा उजागर भइरहेका छन् ।

धेरैजसो संस्थामा युवाहरूलाई नीतिगत तहसम्म पुग्न नदिने प्रवृत्तिका कारण उनीहरू हतोत्साही बनेको देखिन्छ । निर्णय लिन सक्ने पदमा पुग्न समय लाग्ने परिपाटीका कारण हाम्रो जस्तो देशहरूमा नवीनतम आविष्कारहरू हुँदैनन् । कार्यालय प्रमुख भएका युवाहरू पनि विभेदको शिकार भएको देखिन्छ । कतिपय सन्दर्भमा जुँगाको रेखी नबसेको, फुच्चे र ठेट्ने हाकिमजस्ता उपनामले पुकारिन्छन् युवाहरू ।
समयसापेक्ष चेतनाको स्तर, काम गर्ने तौरतरिका र विचारमा प्रौढहरूभन्दा युवाहरू धेरै गुणा अगाडि हुन्छन् भन्ने हेक्का हुनु जरूरी छ । प्रतिष्पर्धामा अनुभवको ठाँउमा सामूहिक छलफल, कार्ययोजना, विषयगत ज्ञान, समूहमा काम गर्न सक्ने क्षमता र नवीन विचारका आधारमा नेतृत्व छनोट गर्ने परिपाटीको विकास गर्न सके युवाहरू उत्साहित हुन्छन्, अगाडि आउँछन् र मुलुकले सहज रूपमा गति लिन्छ ।

राजनीति

राजनीतिलाई फोहरी खेलको रूपमा परिभाषित गर्दै हिजोआज प्रायजसो अभिभावकहरूले आफ्ना सन्ततिहरूलाई राजनीतिबाट टाढै राख्न चाहन्छन् । अहिलेका युवाहरूमा राजनीतिप्रति रुचि कम देखिन्छ, जसले गर्दा उच्च शिक्षामा संलग्न युवाहरूसमेत विचार र सिद्धान्तको पक्षमाभन्दा भीडमा रमाउने गरेको देखिन्छ । राजनीतिक पंक्तिमा रहेर क्रियाशील युवाहरू पनि पद र अवसरको आशामा ४० नाघेका प्रौढहरूलाई युवा नेताको संज्ञा दिंदै उनीहरूकोे पछि लागेर हिँडेको देखिन्छ । युवाहरूको पक्षमा बोल्ने र काम गर्ने अवसर उनीहरूले पाउँदैनन्, जसले गर्दा राज्यको नीति निर्माणमा युवाहरूको वास्तविक प्रतिनिधित्व हुन सक्दैन वा भइहाले पनि निर्णायक भूमिका रहँदैन, जुन अवस्था अहिले पनि विद्यमान छ । विकसित देशमा युवाहरू राज्यको माथिल्लो पदमा पुगेको दृष्टान्तलाई हाम्रो देशमा स्थापित गर्न अघिल्लो पिँढी तयार छैन । युवा पंक्तिसमेत उनीहरूको पुरातन चिन्तनका विरुद्ध बिद्रोह छेड्ने हिम्मत गर्दैन । यसो गर्न थाले भने क्षमतावान युवाहरूसमेत राजनीतिक मूलधारबाट लखेटिनुपर्ने अवस्था छ ।

राजनीति राज्य सञ्चालन गर्ने विधि र नीति हो । यसबारे जानकारी पाउनु व्यक्तिको अधिकार पनि हो । तसर्थ आधारभूत शिक्षामा राज्य सञ्चालन गर्ने विधिबारे विद्यार्थीहरूलाई सामान्य ज्ञान दिइनुपर्दछ । यसबाट इच्छा हुनेहरूलाई राजनीतिक बाटोमा लाग्न सहयोग पुग्छ । विद्यार्थी तथा युवा संघ–संगठनहरूका विधानमा उमेरको निश्चित हदबन्दी तोकी कार्यान्वयन गर्नुपर्छ । युवासँग सम्बन्धित मन्त्रालय युवाकै पहुँचमा हुनुपर्छ । यसको अर्थ राजनीतिक मूलधारमा युवाको सहज पहुँच हुनुपर्छ भन्ने हो । यसका लागि हरेक राजनीतिक दलका युवाहरूले दबाब दिनुपर्छ । युवा केन्द्रित विधि र पद्दतिको विकास गर्न सके युवाहरू नेतृत्वमा आउन खासै समय लाग्दैन ।

उद्योग तथा व्यवसाय


उद्योग व्यवसाय पनि युवा विभेदको अर्को क्षेत्र हो । एकाध उद्योग व्यवसायमा बाहेक युवाहरूको उपस्थिति शून्यजस्तै छ । व्यवसाय सञ्चालन गर्न पूँजीको आवश्यकता पर्ने र युवाहरूसँंग साधन र स्रोत नहुने भएकाले घराना उद्योगी र व्यावसायी बाहेक अन्य युवाहरू यस क्षेत्रमा वञ्चित हुने गरेका छन् । वित्तीय संस्थाहरूले लगानी गर्न नपत्याउने र धितोको रूपमा जग्गा वा भवन मात्र मान्ने भएकाले युवाहरूमाथि पारिवारिक दबाब रहन्छ, जसले गर्दा असफलताको डर र अन्यौलताका कारण युवाहरू अगाडि बढ्न सक्दैनन् । भर्खरै आत्मनिर्भर हुन चाहेका यी उमेर समूहका युवाहरूसँग बचत पनि नहुने भएकाले रहर हुनेहरूले सानो पूँजीबाट व्यवसाय सुरु गर्नुपर्ने हुन्छ, जसले गर्दा ठूला उद्योगहरूसँग प्रतिस्पर्धा गर्न नसकी असफल हुनुपरेको छ । एकपटक असफल भएका युवाहरूलाई परिवार, वित्तीय संस्था, समाजले पनि नपत्याउने भएकाले कतिपय युवा डिप्रेसनमा जाने, ऋण तिर्न विदेशिनु पर्ने र जीवन निर्वाहका लागि सानोतिनो जागिरको खोजीमा भौंतारिनुपर्ने अवस्था छ ।

समयसापेक्ष चेतनाको स्तर, काम गर्ने तौरतरिका र विचारमा प्रौढहरूभन्दा युवाहरू धेरै गुणा अगाडि हुन्छन् भन्ने हेक्का हुनु जरूरी छ । प्रतिष्पर्धामा अनुभवको ठाँउमा सामूहिक छलफल, कार्ययोजना, विषयगत ज्ञान, समूहमा काम गर्न सक्ने क्षमता र नवीन विचारका आधारमा नेतृत्व छनोट गर्ने परिपाटीको विकास गर्न सके युवाहरू उत्साहित हुन्छन्, अगाडि आउँछन् र मुलुकले सहज रूपमा गति लिन्छ ।

उद्यमशील शिक्षा, युवा लक्षित कार्ययोजना र लगानीमैत्री वातावरणको अभावका कारण उद्योग व्यवसायमा युवाहरूको उपस्थिति न्यून भएको हो । राजनीतिक संगठनहरूमा जस्तै व्यावसायिक क्षेत्रको प्रतिनिधिमूलक संघ–संगठनहरूका साथै उद्योग व्यवसाय सम्बन्धी नीति नियम बनाउने र निर्णय लिने ठाँउहरूमा पनि युवाहरूको उपस्थिति न्यून छ । शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य, जोश जाँगर, सीप र क्षमता भएका युवाहरू नै बेरोजगार हुनु, निस्क्रिय हुनु वा उद्यमशील क्षेत्रमा लाग्न नसक्नु भनेको घरपरिवार, समाज र राष्ट्रका निम्ति सबैभन्दा ठूलो समस्या हो ।
उद्योग व्यवसाय राज्यको कुल गार्हस्थ्य उत्पादनको अभिन्न क्षेत्र हो । रोजगारीको सिर्जना गर्न र आय आर्जनमा यसको ठूलो भूमिका रहने गर्दछ । युवाहरू जोखिम मोल्न तयार हुने भएकाले उनीहरूलाई आकर्षित गर्ने योजना, रणनीति बनाउनु पर्दछ ।

शैक्षिक प्रमाण पत्र र कार्ययोजनाका आधारमा ऋण दिने र सरकारले नै जमानी बसी युवाहरूलाई उद्योग कलकारखाना खोल्न र व्यवसाय गर्न प्रेरित गर्न सके उत्पादकत्व बढ्ने र देशमै आवश्यक मात्रामा रोजगारीको अवसर सिर्जना हुन्छ । विश्वासको कमीले युवाहरूलाई वित्तीय संस्थाहरूले लगानी नगर्ने भएकाले सामूहिक लगानीको विकास गर्न सकिन्छ । सरकारी लगानीमा उद्योगहरू सञ्चालन गर्न र बिस्तारै युवाहरूको समूहलाई जिम्मा दिई लगानी उठाउने रणनीतिले युवाको प्रतिनिधित्व बढ्ने गर्दछ । आधारभूत शिक्षामा व्यावहारिक ज्ञान दिने, उद्यमशील एवं नेतृत्व विकास सम्बन्धी पाठ्यक्रम निमार्ण गर्नुपर्ने आवश्यकता छ । राज्यले युवालाई सामूहिक नेतृत्वका लागि प्रेरित गर्न सके जोखिम कम हुने र उद्योग व्यवसायमा युवाको पहुँच वृद्धि हुने भएकाले सोही बमोजिमको ऐन कानून निर्माण गर्नुपर्ने देखिन्छ ।

अन्त्यमा,


घरपरिवार, समाज, कार्यस्थल र राज्य सञ्चालनका अङ्गहरूमा अधिक मात्रामा युवाहरूको प्रतिनिधित्व आवश्यक छ । सामाजिक मूल्य र मान्यता समेतलाई सम्मान गर्दै समाजमा विद्यमान असमानता, विकृति र विसङ्गतिलाई चिर्दै समाज परिवर्तनका लागि युवाहरू उत्पादनशील क्षेत्रमा अग्रसर हुनुपर्छ । आर्थिक क्रान्तिमार्फत देशलाई समृद्धि यात्रामा अघि बढाउनु छ । आजसम्मका देशमा जेजति राजनीतिक परिवर्तनहरू भए ती युवाको सहभागिताबाट भएका छन् । उच्च मनोबल र साहसका साथ ज्ञान, सीप, प्रविधि र स्रोतसाधनको उच्चतम प्रयोगमार्फत एक्काइसौं शताब्दीको लक्ष्य हासिल गर्न युवाहरू सक्षम छन् भन्ने सावित गर्नुपर्छ । युवाहरूमाथि हुने विभेद र अविश्वास हटाई समृद्धिको बाहक बन्न युवाहरू नै जागरूक हुनु जरूरी छ । अब अग्रजहरूले असल अभिभावक र मार्गदर्शक बनी युवाहरूलाई हर क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुपर्दछ ।


(लेखक त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामपुर क्याम्पसका क्याम्पस प्रमुख हुनुहुन्छ । )

प्रतिक्रिया