शनिबार, वैशाख ८, २०८१

कुन अवस्थामा एमाले फुट्छ ?

रामप्रसाद गौतम २०७८ साउन २७ गते १५:३९

विगत ४ वर्षमा नेपाल कम्युनिष्ट आन्दोलन बडो मज्जासँग आकास्सियो । मजबुत भयो । त्यसपछि लछारियो, पछारियो, निसास्सियो, बर्बरायो । एकतिर सम्पूर्ण कम्यूनिष्ट एकीकरणको ग्राण्ड डिजाइनको पूर्व सन्ध्यामा सम्पूर्ण पार्टी छिन्न भिन्न, टुक्रा–टुक्रा र झुत्रा–झुत्रा भयो ।

बामपन्थीले पूर्ण बहुमतको सरकार नबनाउँदासम्म देश विकास हुँदैन भन्ने भित्री कुरा समुल रुपमा झुठो साबित गर्दै अहिले नेकपा नामक २ तिहाई पार्टी टुक्रिएको छ । कम्यूनिष्ट पार्टीमा कतै थोरै, थोरै चाक्ला र बाक्लाहरु देखिए पनि प्रायः सबै टुक्रा नै छन् ।

एमालेका २ हाँगाहरु अलि बाक्लो अवस्थामा छन् । त्यसपछि माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेकपा माले, विप्लव नेतृत्वको पार्टी, वैद्य नेतृत्वको पार्टीहरु आ–आफ्नै झुण्डमा मस्त रहे पनि एक विशाल वाम दल बनाउने अभूतपूर्व अवसरबाट वञ्चित भएका छन् ।

वर्तमानमा केही भमराहरु कम्युनिष्टको फलानो झुण्ड ठूलो सशक्त र सग्लो छ भन्ने मनोरतीमा रहेका भए पनि सबै तरल अवस्थामा छन् । भिरबाट शिलाजित खसेपछि पहरामा कसैले कतै बढी कालो देख्ला त्यतै आँखा गाड्ला र अर्कोले अर्कोतिर कालो देखेर कोट्याउन भर्याङ ठड्याउला । तर, वास्तविकता त यो हो कि कतैतिर शक्ति छैन । किनकी मूल पहराबाट चुहेर तल झरेको शिलाजितमा घामपानीले उपचार गर्ने शक्ति क्षीण बनाएझै कम्युनिष्टले विकास गर्छन् भन्ने विश्वासमा समेत प्वाल परेको हुनाले कुनै पनि झुण्ड शक्तिशाली छैन ।

विचार र कर्मको सन्तुलन वाम पार्टीमा देखिएन । २०७७ साल फागुन २३ गतेको दिन अदालतले जब नेकपा नामक एक विशाल पार्टीको नाम जुध्यो । त्यसैले अलग हुनु भने पनि अर्को नामबाट निर्वाचन आयोगमा पार्टी दर्ता गरी पार्टीको शक्तिलाई बचाउनु पर्दथ्यो । त्यत्तिबेला माओवादी केन्द्र पक्ष विचरा भएर अक्क न बक्क भयो । एमालेको एउटा पक्ष हर्षले गदद भयो । तर, गहिरिएर हेर्ने हो भने त्यो आदेशले नेपालको वाम पन्थलाई ठूलो अवसरबाट च्यूत गरायो ।

हिरा कुनै कारणवश फुटेपछि कुनै टुक्रा पनि वास्तविक हिरा रहँदैन । आफ्नै पार्टी फुट्दा, शक्तिहीन हुँदा अघोर गदगद हुनु पर्ने के कारण हो बुझ्न सकिएन । जे होस अब अदालतले एमालेलाई शुद्ध बनायो । यहाँ जोडिन आएको माओवादी रुपी गलगाड पन्छाउन सफल भइयो भनेर एमालेको एक पक्ष खुशी भयो । तर, व्यक्तिगत स्वार्थलाई छाडेर कसैका लागि त्यो घटना उपलब्धिमूलक थिएन ।

त्यो हर्ष उन्मादको बीचमा फागुन २८ गते एमालेका केही नेताहरुलाई वेवास्ता गर्दै केही मोटो देखिएको एमालेले अनेक निर्णय गर्यो । बत्तिमा पुतली झुम्मिएजस्तै पूर्व सरकारमा हिस्सा पाएका केही माओवादी मख्खीहरुले पनि एमाले विभिन्न पद पाए । अनेक भयो । तर विशाल नेकपाबाट एमाले बनेका मध्ये स्पष्ट २ चिरा देखियो ।

एमाले १ को बागडोर अहिले तत्काल भुतपूर्व प्रधानमन्त्रीको नेतृत्वमा छ । एमाले २ को नेतृत्व यही पार्टीका मौज्दात पूर्व प्रधानमन्त्रीहरुको हातमा छ । यी २ को बीचमा बेलामा व्यापक शब्द युद्ध चलिरहन्छ । यो शब्द युद्धमा जसले जति तिखो, अपवचन खोक्ने हिम्मत राख्दछ । उसले बढी ताली पाउँछ । तालीको पर्पराहट सुनेर आम जनताले मेसो पाउने थाले । आज एमाले कुन पक्षले अर्को पक्षलाई गाली ओकल्न सक्यो ।

कहिले आममाफी, कहिले लालगद्दार, कहिले महाराज भन्ने सुनिन्छ । विविध शब्दका शब्दार्थ सटिक रुपमा बुझ्ने काम त वामपन्थी नेताको हो, जस तसले बुझ्दैन । जनतालाई ढुक्क छ, शब्दार्थ र भावार्थ नबुझे पनि तालीको गडगडाहटले नै उनीहरुले बुझ्द छन् । अर्को पक्षले कति तीव्र गाली खायो यो पक्षबाट ।

धिक्कार छ, त्यो अथाह नेतृत्व क्षमतालाई जसले पाएको त्यो बहुमतलाई सम्झौता तथा भद्र सहमतिअनुसार सम्हाल्न सकेन । दोषी को छ ? यसमा गहिरो आवश्यकता रहेन आकाशमा उडिरहेको जहाज खसाल्न हजारौँ जनाले गोली ताक्छन् । र, हान्छन् । कसको गोलीले जहाज खस्यो भन्ने विषयमा बहस गर्नु बेकार छ ।

दोषी सबै थिए । शक्तिशाली गोली जसको थियो, उसैले ठोक्यो । सयौँ जना बसेको ठाउँमा रातो खुर्सानी फुरायर पूरै वातावरणलाई पिराम्य बनाई सकेपछि आँखा बचाउन भाग्नु नै बुद्धिमत्ता हो खुर्सानी कुन बारीको हो भनी खोज्नु को कुनै अर्थ छैन ।

दोषी जो भए पनि पार्टी बचाएको भए सबै पक्षलाई राम्रो हुन्थ्यो । अलिकति त्यागको अभावमा नेकपा पार्टी टुक्रा प¥यो समरुप अलिकति त्यागको अभावमा यो एमाले भन्ने पार्टी पनि विभाजनको पर्खाइमा झुण्डिएको छ । केही दिनअगाडि एक एमाले नेताले फोनमा भन्दै थिए, ‘न पार्टी फुट्छ, न नेताको मन मिल्छ यस्तै दोधार छ कामरेड ।’

पार्टी जुटोस् सबैले त्यो चाहन्छन् होला । तर, के का लागि जुट्ने । उही भ्रष्टाचार, कमिशन, अकर्मण्यता आदिका लागि मात्र हो भने जुटाईको कुनै सारभूत सार्थकता रहने छैन ।

तर, देशको विकासका लागि हो भने पार्टीहरु फुट्नु भन्दा जुट्नु नै राम्रो हुन्छ । यसअघिको जुटाईले किन विकास दिन सकेन् । त्यो विश्लेषणको विषय बन्न सक्छ । तर, केही दीर्घ कालीन कामका लागि पार्टीहरु जुटेकै राम्रो हुन्छ ।

नेपालमा कति फुट्ने र कति जुट्नेको पनि सीमा नै रहेन केही दिनअगाडि निर्वाचन आयोगले ४१ पार्टीको दर्ता खारेज गरेता पनि अझै ९५ पार्टी रहेका छन् । यसमध्ये ५ पार्टीले मात्र ३ प्रतिशतभन्दा बढी मत ल्याएका छन् । ३ प्रतिशतभन्दा बढी मत ल्याउने ५ मध्ये २ पार्टी नेकपा एमाले ३३.२४ र माओवादी केन्द्र १३.६७ दुई मिलेर मजाले दोश्रोमा रहेको र ३२.७७ प्रतिशत मत ल्याएको नेपाली कांग्रेसलाई आगामी ५० वर्ष जितिरहन्छन् भन्ने आम जनधारणा बनिसकेको पार्टी फुट्दा खुशी हुने नेताहरुले अरु कसैलाई पार्टी फोर्ने भनी आलोचना गर्नुको के अर्थ रहला ?

पार्टीको नेता भनेको त भारतको हिमाचल प्रदेशको त्यो चालक जस्तो हुनु पर्छ, जसले भिरमा झुण्डिएको बसको ब्रेक त्यतिबेलासम्म लगाई रह्यो जतिबेलासम्म बसभित्रका ३० जना यात्री सुरक्षित रुपमा बस बाहिर निस्किएनन् । अन्तिममा सबै यात्री मिलेर बसको टायरमा ठूला ठूला ढुंगा राखेर चालकलाई मृत्युको मुखबाट बचाए ।

यस्तै, नेता हुनुपर्छ आफू मर्ने अवस्था हुँदा देश, पार्टी र जनतालाई बचाउने प्रयास गर्ने गहन उत्तर दायित्व लिन सकोस् । जनतालाई सहज सेवा दिन नसकेको अवस्था हेर्दा त भगवानले जे गर्छ, ठिकै गर्छ भन्नुपर्ला । तर, वास्तवमा कुनै संस्था बलियो हुन फुट्नु हुँदैन । यदि, फु्ट्यो भने जो जिम्मेवार छ उसले आत्मालोचना गर्नै पर्छ ।

अहिले एमाले वास्तवमा जुन अवस्थामा छ । त्यो फुटेर बृहत वाम एकताको पहलमा जाने हो भने अझै माहोल बन्न सक्छ । किनकी जनमोर्चा र विप्लवलगायत माओवादी केन्द्र र ४० प्रतिशत एमाले मिलेमा त्यो गठबन्धनले सरकार बनाउने अवसर सृजना हुन सक्छ । ७४ सालको मतका आधारमा कांग्रेससँग रहेको ३२.७७ प्रतिशत भोटलाई लिड गर्न सक्ने नव गठबन्धनको अवस्था देखिएमा एमाले औपचारिक रुपमै फुट्छ ।

प्रतिक्रिया