बुधबार, जेठ २, २०८१

नेपाली फुटबल टोली भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

मेरोन्यूज २०७८ साउन २२ गते १८:०९

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले भारतको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण दुई खेल खेल्ने भएको छ । आगामी भदौमा नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार जनाएको छ ।

Advertisement

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० सेप्टेम्बर २ र ५ मा हुनेछ । दुवै मैत्रीपूर्ण खेल नेपालमा हुने एन्फाले जनाएको छ ।

हालसम्म नेपालले भारतसँग १९ खेल खेलेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ भने भारतले १३ खेल जितेको छ । नेपालले पछिल्लो पटक भारतलाई २०१३ को साफमा दशरथ रंगशालामा भएको खेलमा हराएको थियो ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १३ औँ संस्करणको साफ च्याम्पियनसिपको तयारीका लागि हुन लागेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबरमा हुनेछ । तर, आयोजक राष्ट्र भने हालसम्म टुंगो लागेको छैन ।

बंगलादेशले पाएको साफ प्रतियोगिता आयोजनाको जिम्मेवारी कोभिड १९ का कारण गर्न नसक्ने जानकारी दिएपछि नेपाल र माल्दिभ्सले आयोजनाको प्रस्ताव पेश गरिसकेको छ ।

साफले अर्को साता हुने बैठकमा नेपाल वा माल्दिभ्समध्य एक राष्ट्रलाई आयोजनाको जिम्मेवारी दिन सक्नेछ। नेपालले हालसम्म दुईपटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ ।

नेपालले सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो ।

प्रतिक्रिया