बिहीबार, चैत १५, २०८०

‘म सभापतिमा उठ्ने कुरा बार्गेनिङ होइन’

मेरोन्यूज २०७८ साउन २२ गते २०:४०

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै छ । महाधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले मागेको समयअनुसारको सुविधा दिने अवस्थामा कांग्रेस छैन । एकातिर अझै वडा, नगर, जिल्ला महाधिवेशनको निर्वाचन तालिका आएको छैन । अर्कोतर्फ केन्द्रीय कार्य समितिले पटकपटक गरी डेढ वर्ष आफ्नै कार्यकाल लम्ब्याइसकेको छ ।

संवैधानिक बाध्यताले भदौबाट महाधिवेशन सार्ने सुविधा कांग्रेसलाई छैन । अहिले महाधिवेशन सम्पन्न गर्नेभन्दा कुन बहानामा सार्न सकिन्छ भनेर नेताहरू विकल्पको खोजीमा देखिन्छन् । किन यो अवस्था कांग्रेसभित्र निम्तिरहेको छ त ? कांग्रेस केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य कल्याण गुरूङसँग मेरोन्युजकी सञ्जिता खनालले गरेको कुराकानी :-

कांग्रेसलाई महाधिवेशन गर्न असाध्यै सकस नै पर्‍यो हैन ? किन यस्तो भएको हो ?

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौँ १६ गते हुनु पर्ने केन्द्रीय कार्य समितिको निर्णय हो । त्यो निर्णयअनुसार सबै किसिमका कामहरु अगाडि बढिरहेका छन् । क्रियाशील सदस्यको काम अन्तिम टुङ्गोमा पुग्न लागेको अवस्था छ । भदौँ १६ मा १४ औँ महाधिवेशन गर्न कुनै किसिमको अप्ठेरो छ जस्तो लाग्दैन । केही अप्ठेरा छन् । जुन हामीले समाधान गर्ने प्रकारकै छन् । ती समस्या समाधान गरेर हामीले संवैधानिक बाध्यताका कारण भदौँ १६ मा महावेशन गर्नै पर्छ ।

पटक–पटक महाधिवेशनको मिति घोषणा गर्ने, अनि सार्ने गर्दा संवैधानिक संकट नै निम्तने अवस्था आउँदैछ नि ?

Advertisement

नेपालको संविधानको धारा २६९ को उपधारा ४ (ख) अनुसार कुनै पनि पार्टीले ५ वर्षभित्र प्रदेशको पदाधिकारी, संघको पदाधिकारी निर्वाचन सम्पन्न गर्नु पर्नेछ । यदि ५ वर्षभित्र कुनै कारणवस पदाधिकारीको निवार्चन गर्न नसकेको अवस्थामा ६ महिना आफ्नो विधानअनुसार थप गर्न पाउने व्यवस्था छ । यो ६ महिना भदौ १६ गते पुग्दैछ । त्यसबाट पर जान सक्दैनौँ । कुनै पनि बहानामा भदौँ १६ मा कांग्रेसको १४ औँ महाधिवेशन रोक्न सक्ने अवस्था हामीसँग छैन । रोक्नु पनि हुँदैन ।

अब चाहिँ महाधिवेशन मिति सर्दैन भन्ने ग्यारेन्टी छ ?

मुख्य रुपमा कांग्रेस महाधिवेशन क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय सभापतिलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदन सभापतिले केन्द्रीय निर्वाचन समितिलाई वैधानिक रुपमा ‘इन्ट्री’ भएका र नवीकरण बुझाउनु पर्छ । त्यो नामावली पार्टीको वेभवसाइटमा प्रकाशन गर्ने, केन्द्रीय निर्वाचन समितिले त्यसलाई मतदाताका रुपमा स्वीकार गर्ने गर्नु पर्छ ।

केन्द्रीय निर्वाचन समितिले ७७ जिल्ला र १६५ निर्वाचनभित्र ३३० प्रदेश सभा निर्वाचन क्षेत्र, ७५३ पालिका र ६ हजार ७४३ वडामा केन्द्रीय प्रतिनिधि खटाएर वडा तहदेखि, क्षेत्रीय हुँदै भदौँ १६ मा केन्द्रीय महाधिवेशन गर्न सकिन्छ ।

यति छोटो अवधिमा महाधिवेशनको तयारी हुन्छ ? ‘फर्मूला’ छ तपाईसँग ?

अहिले पनि हामीले साउनको २९ गते वडाको अधिवेशन सुरु गर्याैं भने भदौँ १ गते पालिका अधिवेशन, ३ गते प्रदेश स्तरीय, क्षत्रीय कार्य समितिको अधिवेशन, ५ गते प्रतिनिधिसभा स्तरीय क्षेत्रीय कार्य समितिको अधिवेशन, एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्ला अधिवेशन, ७ गते एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन, १२ गते सातै प्रदेशको प्रदेश अधिवेशन गरेर १६ गते केन्द्रीय कार्य समितिको केन्द्रीय अधिवेशन गर्न सक्छौँ । साउनको २९ गते वडा अधिवेशन गर्दा पनि आरामले भदौं १६ मा महाधिवेशन गर्न सक्छौँ ।

सम्भव छ भन्दै हुनुहुन्छ । तर, कांग्रेसकै कतिपय नेताले विशेष अधिवेशनको चर्चा शुरु गर्न थालेका छन् । विशेष अधिवेशन पनि एउटा विकल्प हो कि ? के भन्नुहुन्छ तपाई ?

अहिले विशेष महाधिवेशन आवश्यकता छैन । किनकी विशेष महाधिवेशन विशेष अवस्थामा मात्र हुन्छ । अहिले त सामान्य अवस्थाको १४ औँ महाधिवेशन नै हो । १३ औँ महाधिवेशनको पदावधि सकिएको अवस्था छ । अर्को संविधानले दिएको ६ महिनाको अवधि थपेका छौँ । हामीले साढे ५ वर्षको पदावधि सम्पन्न गरेको अवस्था छ । प्राकृतिक र सामान्य रुपले नै नेपाली कांग्रेसको १४ औँ महाधिवेशन गरिसक्नु पर्छ ।

अहिले विशेष महाधिवेशन गर्ने अवस्था छैन । विशेष महाधिवेशन भनेको कांग्रेसको ४ वर्षको पदावधि हुन्छ । त्यो पदावधिभित्र कुनै विशेष कारणले अधिवेशन गर्नु परेको अवस्थामा मात्र विशेष महाधिवेशन हुन सक्छ ।

कांग्रेसको विधानले तोकेको ४ वर्षको अवधि पूरा गरेको छ । विधानले थप गरेको अर्को १ वर्ष नि पूरा गरिसक्यौँ । संविधानले थप गरेको अर्को ६ महिना पनि पूरा गरिसकेका छौँ । त्यस कारण अहिले विशेष महाधिवेशन हैन १४ औँ महाधिवेशन हुनुपर्छ । १४ औँ महाधिवेशन कुनै पनि बहानामा टार्ने र सार्ने काम कतैबाट हुनु हुँदैन । भदौँ १६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी अरु कार्य तालिका सार्वजनिक हुनु पर्छ ।

क्रियाशील सदस्यता आफैमा विवादित छ, तपाई छानविन समितिमा बसेरै ‘नोट अफ डिसेन्ट’ जनाउनु भयो, अर्को क्रियाशील सदस्यता वितरणमा धाँधली भयो भन्ने हो ?

क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमा मैले फरक मत राखेको छु । अहिले समस्या देखिएको निर्वाचन क्षेत्र धनुषा क्षेत्र ४, सर्लाही क्षेत्र २, दुई जिल्लाहरु सप्तरी र बारा रहेका छन् । अन्य एकदेखि डेढ सय वडाहरु, ती वडाहरुमा नयाँ क्रियाशील सदस्यमा समस्या रहेको छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकामा समायोजनको समस्या रहेको छ ।

ती समस्याहरुलाई केन्द्रीय नेतृत्वले टुंग्याउन सक्ने समस्या छन् । कुनै जटिल समस्या छैन । समाधान गर्न सक्ने समस्या छन् । ती समस्याहरु चाँडोभन्दा चाँडो टुंग्याउन सक्नुपर्छ ।

अब यसलाई अन्तिम समयमा सञ्चाउने विधि के हो ?

तोकिएको वडाको अधिवेशनहरुको कार्य तालिकाहरु स्थगित भएका छन् । तर भदौँ १६ गते केन्द्रीय महाधिवेशन गर्ने कार्य तालिकाहरुलाई हामीले संशोधन गरेका छैनौँ । ती तालिकाहरु संशोधन गर्न पनि हुँदैन । भदौँ १६ गते पार्टीको १४ औँ महाधिवेशन गर्ने तालिकाहरुलाई प्रभावित नहुने गरी केन्द्रीय समितिको बैठक बसेर नयाँ कार्य तालिका निर्माण गरेर तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी अगाडि बढ्नु पर्छ ।

विवाद नमिलेको ठाउँमा पूरानै, अर्थात १३ औं महाधिवेशनका प्रतिनिधिलाई नै मान्यता दिएर महाधिवेशन गरौँ भन्ने मत पार्टीभित्र बहसमा आइरहेको छ, यसमा तपाईको मत के छ ?

१३ औं महाधिवेशनमा क्रियाशील विवाद रहेको थियो । अहिले पुरानो नवीकरण सम्बन्धि विवादहरु कम रहेको छ । नयाँ क्रियाशील सदस्यता सम्बन्धी विवाद बढी रहेका छन् । नयाँ क्रियाशील विवाद टुंगाेमा पुग्न सकिदैन भने ती स्थानमा हामीले पुरानो सदस्यताहरुबाट नै महाधिवेशन गर्न सक्छौँ । कुनै पनि बहानामा महाधिवेशन रोक्न पनि हुँदैन । सार्न पनि हुँदैन ।

अबको १४ औँ महाधिवेशनमा तपाईको उम्मेदवारी के मा ?

१४ औँ महाधिवेशनमा म केन्द्रीय सभापतिको उमेद्वारी हुँ ।

कतिपयले यो त तपाईको बार्गेनिङ हो भन्छन्, सभापतिको उम्मेदवारी, अन्तिमसम्म टिक्नुहुन्छ त ?

मैले बारम्बार भन्ने गरेको छु । म सभापतिमा उमेद्वारी दिन्छु, चुनाव लड्छु । मेरो बार्गेनिङ हैन । नेपालको पुरानो महान पार्टी हो । यो पार्टीको केन्द्रीय सभापतिको उम्मेदावारी दिने व्यक्तिले आफ्नो बार्गेनिङ रुपमा प्रयोग गर्नु हुँदैन । अर्को आफ्नो उम्मेदवारीको लागि आफ्नो फाइदाका लागि, आफ्नाहरुको फाइदाका लागि राजनितिक भविष्य सुनिश्चित गर्नका लागि उम्मेदवारीलाई बार्गेनिङका लागि प्रयोग गर्नु हुँदैन ।

जसले जे मा उम्मेदवारी दिने हो त्यसै पदको उम्मेदवारी दिने हो । सुरुमा सभापतिमा उम्मेदवारी दिने पछि उपसभापतिमा उम्मेदवारी दिने गर्नु भएन । यदि कसैले राजनीतिका लागि बार्गेनिङ गरेका हुन्छन् । ती व्यक्ति राजनितिक रुपमा गलत व्यक्ति हुन् । म सभापतिमै उठ्ने हो, यो बार्गेनिङ होइन, बार्गेनिङ राजनीतिक दलालहरुले मात्रै गर्छन्। त्यस्तालाई नैतिक रुपमा कुनै पदमा उठ्ने अधिकार हुँदैन ।

तपाईलाई पार्टी सभापति किन बनाउने त ?

मैले पार्टीभित्र परिवर्तनको आवाज उठाउँछु । पार्टीमा काम गर्ने सबै कार्यकताहरुलाई न्यायको आवश्यकता छ । कसैले अवसरमाथि अवसर पाउने तर कोहीले कहिले पनि अवसर नपाउने, कसैले अवसरबाट वञ्चित हुनु न्यायोचित हैन । अवसरको वितरणमा कोहीलाई काखा र कोहीलाई पाखा गर्नु हुँदैन । सबैलाई समान अवसर वितरण हुनुपर्छ । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउनु पर्छ । न्याय ,परिवर्तन र सामानताका पक्षमा आवाज उठाउँछु । म अबको चुनाबमा प्यानल नै बनाएर जान्छु । मलाई सबैले मतदान गरेमा निर्वाचन लड्छु ।

तपाई टिम बनाएर अगाडि जाने भन्नु हुन्छ, कस्तो टिम बनाउनु हुन्छ ?

अहिले कांग्रेसमा साढे आठ लाखभन्दा बढी क्रियाशील सदस्य रहेका छन् । जसमा ६० वर्षभन्दा मुनिका क्रियाशील सदस्य ८० प्रतिशतको हाराहारीमा छन् । अहिले सभापतिको पदको उम्मेदवारी हेर्दा ६० वर्षभन्दा माथिका १० जना रहेका छन् । भने ६० वर्ष उमेर समुहका म एक्लो केन्द्रीय सभापतिको उम्मेदवार हुँ ।

सबै उमेर समुहलाई समेटिएर केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन्छु । म आफू केन्द्रीय सभापतिलाई उम्मेदवारी दिँदै गर्दा सँगै सहमहामन्त्री, महामन्त्री पदहरुमा प्यानलसहित महाधिवेशनको चुनाव लड्छु । म सभापति उठ्दा हिजोको दिनमा रहेका परम्परागत रुपमा रहेका गुटहरु समाप्त हुन्छन् । म नेपाली कांग्रेसभित्र सबै पक्षका सबै उमेर समुहलाई समेटेर अगाडि बढ्छु । सातै प्रदेशका मानिसहरु समेटेर अगाडि बढ्छु । मेरो समुहमा प्यानल निर्माण गरेर नै सबै समुहका व्यक्तिहरु समेटेर अगाडि बढ्छु ।

अबको कांग्रेसले उठाउने राजनीतिक नारा के हुनुपर्छ महाधिवेशनमार्फत ?

नेपाली कांग्रेस पुरानो पार्टी हो । जनताका दुःख कष्ट मर्मलाई बुझेर अगाडि बढ्नुपर्छ । अहिले कोरोना भाइरसको महामारी विश्वभरि फैलिएको छ । कोरोना महामारीको समयमा सरकारले खोप चाँडोभन्दा चाँडो आम जनताका लागि सर्वसुलभ रुपले उपलब्ध हुने वातावरण बनाउन सरकारलाई दबाब दिने गर्नुपर्छ । हरेक जनताले सजिलै रुपमा खोप लगाउने वातावरण बनाउनु पर्छ ।

अहिले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा जुन प्रकारका विकृतिहरु नियन्त्रण गर्नुपर्छ । अर्को मूल्य वृद्धि रोक्नु पर्छ । नेपाली कांग्रेसकै सरकार भए पनि कसरी हुन्छ, शिक्षाको क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा, रोजगारी बढीभन्दा बढी प्रदान गर्ने काममा, मूल्य वृद्धि नियन्त्रणमा नेपाली कांग्रेस अगाडि बढ्नु पर्छ । कोरोनाका कारण व्यावसायहरु डुबेका छन् । तिनीहरुलाई आर्थिक रुपमा कसरी अगाडि लैजाने दिशातर्फ सरकारले काम कारवाही अगाडि बढ्नु पर्छ ।

अहिलेको अवस्थाबाट कसरी सुधार्ने त कांग्रेसलाई ? तपाईसँग कुनै योजना छन् ?

कांग्रेस विधानअनुसार चल्नुपर्छ । पार्टीका क्रियाकलाप गर्दा वैधानिक बाटोबाट जानुपर्छ । विधानभन्दा माथि व्यक्ति हुनु हुँदैन । १३ औँ महाधिवेशनमा पास भएका नीति तथा कार्यक्रमको परिधिभित्र रहेर आफ्ना गतिविधीहरु सञ्चालन गर्नुपर्छ । पार्टी अहिले सरकारमा गएको समयमा १३ औँ महाधिवेशनले पास गरेका निति तथा कार्यक्रम भित्र रहेर नै आफ्ना कार्यक्रम र एजेन्डाहरु अगाडि बढाउनु पर्छ ।

अहिले कांग्रेसलाई अन्य दलहरुसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको छ । पार्टीको १४ औँ महाधिवेशनमा पार्टीको नीति तथा कार्यक्रमहरु विषयमा गहन छलफल गर्ने र युवा पुस्ताहरुलाई केन्द्रीकृत गरेर आफ्ना एजेन्डा अगाडि ल्याउनु पर्छ । किसान, मजदुर र उद्योगलाई केन्द्रीत गरेर एजेन्डा अगाडि ल्याउनु पर्छ ।

तस्विर : जुली गिरी

प्रतिक्रिया