मंगलबार, वैशाख ११, २०८१

एमालेको एकता कायम राख्न प्रमुख बाधक ओली : नेपाल पक्ष

मेरोन्यूज २०७८ साउन २१ गते १५:५३

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको एकता कायम राख्न प्रमुख बाधक अध्यक्ष केपी शर्मा ओली भएको निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष ओलीले पार्टी एकाता जोगाइ राख्न आफ्नो अभिव्यक्ति र कार्यशैलीलाई सच्याउनुपर्ने निष्कर्ष निकालेको छ । नेता नेपाल पक्षको केन्दीय कमिटी बैठक बस्नु अघि बसेको स्थायी कमिटी बैठकले आफ्नो पक्षबाट पार्टीको एकता कायम राख्न अन्तिम समयसम्म पहल गर्ने निर्णय गरेको छ ।

बैठकपछि स्थायी कमिटी सदस्य भीम आचार्यले बैठकले समसामयिक राजनीतिक र पार्टी एकताको एजेण्डा तयार गरेको बताए । उनले पार्टी एकता कायम राख्न केन्द्रीय कमिटीमा घनिभूत छलफल हुने बताए ।

उनले भने, ‘आफूहरु पार्टी एकताको सन्दर्भमा गम्भीर र संवेदनशील रहेका छौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले एकताको माहोल बिथोलिएको निष्कर्ष हामीले निकालेका छौं । केन्द्रीय समिति बैठक पनि यही ढंगले अघि बढ्छ । केपी ओली एकताको पक्षमा उभिनुपर्दछ । पार्टी एकता हुने कुरामा समस्या छैन ।’

उनले कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको जगमा टेकेर पार्टी एकता कायम राख्न दुबै पक्षले छलफलबाट समाधान निकाल्नु पर्ने बताए ।

प्रतिक्रिया