शुक्रबार, वैशाख १४, २०८१

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा फेरी मृत गैंडा भेटियो

मेरोन्यूज २०७८ साउन २१ गते ९:३४

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैंडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा पर्ने नमूना मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा पोथी गैंडा फेला परेको हो ।

सो सामुदायिक वनको पश्चिमतर्फको गेटमा करिब ३०–३५ वर्षको पोथी गैंडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

मृत गैंडाको खाग र खुर सुरक्षित रहेको अधिकारीको भनाइ छ । मृत गैंडाको प्रकृति हेर्दा रोगी र कमजोर देखिएको तथा वनमा लगाइएको झट्का दिने करेन्टमा परी लडेर मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारीले जानकारी दिए ।

नवलपुरमा बुधबार भेटिएको मृत गैंडासँगै चालु आर्थिक वर्ष २०७८/०७९ मा चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैंडा मरेका छन् ।

प्रतिक्रिया