शुक्रबार, चैत १६, २०८०

महामारीमा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा चासो

जोखिमकै कारण ज्येष्ठ नागरिक घरबाहिर निस्कन सकेका छैनन्

मेरोन्यूज २०७८ साउन २१ गते ९:०१

पोखरा । कोरोना महामारीको प्रभाव समाजमा हरेक वर्ग र क्षेत्रमा त छँदै छ यसले विशेषतः ज्येष्ठ नागरिकलाई प्रत्यक्ष प्रभावित बनाएको छ ।

महामारीका कारण झण्डै दुई वर्षयता ज्येष्ठ नागरिक जोखिमकै कारण घरबाहिर निस्कन सकेका छैनन् । घरबाहिर निस्कन चाहे पनि घरका अन्य सदस्यले उनीहरूलाई महामारीको खतराका कारण घरभित्रै बस्न बाध्य पारेका छन् ।

यसका कारण कतिपयका घरमा ज्येष्ठ नागरिक र घरका अन्य सदस्यबीच मनमुटावसमेत बढ्ने गरेको छ ।

बुढ्यौलीको पट्यारलाग्दो समयमा टोल छिमेकमा घुम्न र आफ्ना पीडा व्यथा पोख्न चाहने ज्येष्ठ नागरिकलाई दुई वर्षयता देखिएको कोरोना महामारीले प्रत्यक्ष प्रभावित बनाएको अधिकांशको अनुभव छ ।

कोरोना सङ्क्रमण भइहालेका अवस्थामा अस्पतालमा समेत अक्सिजन तथा शैय्याको अभाव हुने गरेका कारण पनि ज्येष्ठ नागरिक घरघरमा थुनिएर बस्न बाध्य बन्नुपरेको छ ।

Advertisement

कोरोना महामारी शुरु भएयता ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएका वृद्धाश्रममा पनि उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमकितामा राखिएको पोखरा महानगरपालिका–१७ स्थित पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले बताए ।

महामारी शुरु भएयता वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई सङ्क्रमणको जोखिम नहोस् भनेर आफूहरूले अनावश्यकरूपमा भित्र बाहिर गर्न नदिएको उनले बताए ।

“पोखरा वृद्धाश्रमममा हालसम्म ज्येष्ठ नागरिकलाई कोरोना सङ्क्रमण भने भएको छैन”, उनले भने, “हामी जोखिम नभित्रियोस् भनेर अत्यन्त सचेत बनेका छौं, सम्भाव्य जोखिमलाई दृष्टिगत गरी वृद्धाश्रमभित्रै आइसोलेसनको व्यवस्थासमेत गरिएको छ ।”

पोखरा वृद्धाश्रमले ज्येष्ठ नागरिककको नियमित स्वास्थ्य अवस्था जाँचका लागि एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिक बिरामी भइहालेको अवस्थामा अस्पताल लैजानका लागि सिद्धार्थ क्लबसँग सम्झौता गरी एम्बुलेन्सको व्यवस्था गरिएको अध्यक्ष पराजुलीले बताए ।

पोखरा–३२ स्थित राधाकृष्ण वृद्धाश्रम तथा शान्ति आश्रमममा पनि कोरोना महामारीलाई दृष्टिगत गर्दै सावधानी अपनाइएको छ ।

कोरोना महामारी शुरु भएयता आश्रममा बस्ने ज्येष्ठ नागरिकलाई सङ्क्रमण नहोस् भन्ने हेतुले सजगता अपनाइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले जानकारी दिए ।

सो वृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिकलाई स्वास्थ्य समस्या भएमा स्थानीय स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी बोलाएर स्वास्थ्य परीक्षण गर्ने गरिएको उनले बताए ।

स्वास्थ्यमा ठूलै समस्या आएमा अस्पताल लैजाने गरिएको जानकारी दिँदै खनालले कोरोना सङ्क्रमण भएयता यहाँ बस्ने कुनै पनि ज्येष्ठ नागरिकमा कोरोना सङ्क्रमण भने नदेखिएको बताए ।

ज्येष्ठ नागरिकलाई लक्षित गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको ज्येष्ठ नागरिक मिलन केन्द्र गत वर्ष कोरोना महामारी शुरु भएयता सञ्चालनमा आउन सकेको छैन ।

सङ्क्रमणको जोखिमीलाई दृष्टिगत गरी गत वर्ष कोरोना महामारी शुरु भएपछि बन्द गरिएको केन्द्र हालसम्म पनि खुल्ने अवस्था नरहेको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

“कोरोना सङ्क्रमणको उच्च जोखिमममा ज्येष्ठ नागरिक रहेका कारण केन्द्र सञ्चालनमा रोक लगाएका हौं, सङ्क्रमण हटेपछि मात्रै केन्द्र सञ्चालनमा आउने छ”, श्रेष्ठले भने ।

कोरोना सङ्क्रमणले घरघरमा रहेका ज्येष्ठ नागरिकका साथै ज्येष्ठ नागरिक आश्रम, मिलन केन्द्र सबै स्थानमा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा चासोको विषय बनेको सचिव श्रेष्ठले बताए । रासस

प्रतिक्रिया