शनिबार, वैशाख ८, २०८१

एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, आगामी रणनीति तय गर्ने

मेरोन्यूज २०७८ साउन २१ गते ७:५६

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

पछिल्लो समसामयिक विषयमा छलफल गर्न सो समूहले केन्द्रीय किमटी बैठक बोलाएको हो । बुद्वनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने बैठकमा पार्टीभित्रको अन्तरसंघर्षका विषयमा छलफल हुने सो समूहका एक नेताले जानकारी दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको खनाल–नेपाल समूहले समानान्तर गतिविधी सञ्चालन गर्दै आएको छ ।

ओली एकलौटी र मनोमानी तरिकाले अघि बढेको भन्दै सो समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारमा समर्थन समेत गरेको छ ।

खनाल–नेपाल समूहले देउवालाई समर्थन गरेपछि एमालेको सरकार विस्थापित भएको थियो । कांग्रेसको नेतृत्वमा सरकार गठन भएपनि अझै उक्त सरकारले पूर्णता पाउन सकेको छैन ।

सत्ता गठवन्धन दलले खनाल–नेपाल समूहलाई पनि सरकारमा सहभागि गराउन प्रयास जारी राखेको छ । यो विषयमा पनि आजको बैठकमा छलफल हुने ती नेताले बताए ।

खनाल–नेपाल समुहभित्र पनि दुई धार देखिएको छ । एउटा पक्षले पार्टी एकता गरेर अघि बढ्नुपर्ने निष्कर्षमा छ भने अर्को पक्ष नयाँ पार्टी दर्ता गरेर कम्युनिष्ट एकता गर्नुपर्ने पक्षमा छ ।

नयाँ पार्टी दर्ता गर्नुपर्ने पक्षले भने नेतृत्वलाई सिद्धान्त र आदर्श मिल्ने कम्युनिष्ट पार्टीहरुसँग एकता गर्न सकिने सुझाव दिएको छ ।

प्रतिक्रिया