शनिबार, वैशाख ८, २०८१

जङ्गली जनावरले खेती नष्ट गर्न थालेपछि किसान कृषि पेशाबाट विस्थापित हुँदै

मेरोन्यूज २०७८ साउन २१ गते ७:३३
फाइल तिस्बर

डडेल्धुरा । डडेल्धुरा जिल्लामा वन्यजन्तु चोरी शिकारी कम भएर वन्यजन्तुको संरक्षण भए पनि कृषि उत्पादन भने घट्दै गएको छ ।

नजिकैको संरक्षण क्षेत्रबाट आउने जङ्गली जनावरले खेतीपाती नष्ट गर्न थालेपछि किसान कृषि पेशाबाट विस्थापित हुँदै गएका हुन् ।

जिल्लाको अमरगढी नगरपालिका–१ र जिल्ला सदरमुकामका विभिन्न वडामा फैलिएको ऋषि खोला सामुदायिक वन संरक्षण भएसँगै वन्यजन्तुको सङ्ख्यामा पनि वृद्धि हुँदै गएपछि यस क्षेत्रका स्थानीय बासिन्दाले कृषिजन्य उत्पादनलाई छोड्दै गएका हुन् ।

जिल्लाको अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका तथा भागेश्वर गाउँपालिकाका किसानले खेतीपातीभन्दा पनि अन्य काम गर्न थालेको स्थानीयवासी दिलबहादुर ताम्राकारले बताए ।

“खेतीपाती लगाएर के गर्नु, आफूले त्यसको उपभोग गर्न पाउँदैनौं”, उनले भने । वन्यजन्तुले खेतबारीमा लाएको अन्न तथा तरकारी सबै नष्ट गर्न थालेपछि अहिले धेरै किसान कृषिखेतीबाट विस्थापित हुँदै गएको उनले बताए ।

पछिल्लो समय वन्यजन्तु संरक्षण हुँदै गएपछि बँदेललगायतका अन्य जनावरको बथानले बालीनाली सखाप पार्न थालेको अजयमेरु–१ का रमेश दमाईले बताए ।

जङ्गली जनावरले क्षति नहुने अवस्थाको अध्ययन र पहिचान गरी उक्त कृषि बाली लगाउने योजनामा अगाडि बढिरहेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए ।

यस्तै वन्यजन्तुले खेतीपाती सखाप पार्ने थालेपछि तारबार लगाइएको अमरगढी–६ का वडाध्यक्ष गोविन्दराजन भट्टले बताए ।

प्रतिक्रिया