शुक्रबार, वैशाख १४, २०८१

विमला वली प्रकरण

सांसद विमलालाई मन्त्रीको गाडीमा नेपालगञ्ज भनेर बुटवल पुर्‍याएपछि…

ओनसरी घर्ती भन्छिन : नेपालगञ्ज भनेर बुटवल पुर्‍याएको रहेछ

मेरोन्यूज २०७८ साउन २० गते १७:१३

बुटवल । लुम्बिनी प्रदेशसभाका सांसद विमला वली अहिले चर्चामा छिन । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपाबाट उपचुनावमा विजयी भएकी उनले एमाले-माओवादी विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन ।

उनी सांसद हुनुअगाडि उक्त स्थानमा उनकै श्रीमान उत्तरकुमार वली सांसद थिए । तत्कालीन एमालेबाट चुनाव जितेका उनका श्रीमानको २०७५ फागुन १० गते बुटवलबाट दाङ फर्किदै गर्दा सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उक्त क्षेत्रमा उपचुनाव भयो । त्यसबेला एमाले र माओवादी एकता भई नेकपा बनिसकेको थियो ।

नेकपाले उत्तरकुमारकी पत्नी विमलालाई उपचुनाव लडाउने निधो लिए । उपचुनावमा सूर्य चिन्ह लिएर उनले चुनाव जितिन् । तर, उनको पार्टी नेकपा सर्वाेच्च अदालतको गत फागुन २३ को निर्णयपछि अलग भयो । उनले एमाले वा माओवादीमध्ये एउटा रोज्ने पाइन ।

गत वैशाखसम्म उनी मौन बसिन् । उनलाई एउटा पार्टी रोजिहाल्नु पर्ने बाध्यता आएन । जब प्रदेश सरकारहरू एकपछि अर्को गरी डगमगाउन थाले । त्यसपछि उनी तानातानमा परिन् । प्रदेशमा मुख्यमन्त्री सम्हालेका एमाले नेता शंकर पोखरेलले उनलाई एमालेमा आउन भने । तर, उनले पोखरेलको पद धरापमा पार्ने गरी मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइरहेको अवस्थामा माओवादी केन्द्र रोजिन् ।

एमालेले उनलाई आफ्नो पक्षको सांसद हुने बताए पनि उनले प्रदेश सभा दल कार्यालय, प्रदेश सभा सचिवालयदेखि माओवादीका अध्यक्ष प्रचण्डसम्मलाई पत्र लेखेर माओवादी केन्द्र रोज्ने निर्णय लिएको बताइन् ।

हेर्नुहोस त्यसबेला उनले जारी गरेको पत्र

विमलाले माओवादी केन्द्र रोजेपछि एमालेकै सांसद हुने तर्क एमालेका नेताहरुले गरिरहे । उनीमाथि कारबाही हुनेसमेत धम्की दिए । तर, कर्णाली प्रदेशका प्रकाश ज्वालासहित प्रदेशसभा सदस्यमाथि कारबाही प्रक्रियाअगाडि बढाएको जस्तो एमालेले विमलामाथि कुनै प्रक्रिया चालेनन् ।

विमलाले माओवादी केन्द्र रोजेको कारण कारबाही गर्ने आधार बलियो नभएकाले एमालेले कारबाही प्रक्रिया अगाडि नबढाएको चर्चा प्रदेश सभामा हुने गरेको थियो । विमला पनि माओवादी केन्द्रको बैठकमा सहभागी हुने, विपक्षी गठबन्धनका क्रियाकलापमा हस्ताक्षर गर्दै आइरहेकी थिइन् । तर, एकाएक उनी गत साउन १५ गते हराइन् । उनी हराएसँगै अनेक अडकलबाजी लगाइन थालियो ।

दुईमध्ये एक पार्टी रोज्ने बेलामा उनको चुनावी खर्च माओवादीले व्यहोरेर आफ्नोतिर लगेको चर्चा चल्यो । अहिले फेरि त्यो खर्च मुख्यमन्त्री पोखरेलले व्यहोर्ने गरी विमलालाई एमालेतिर लगेको चर्चा चलिरहेको थियो ।

त्यहीबेला दुई दिनअगाडि मात्रै विमलाको हस्ताक्षरसहित सञ्चारमाध्यमलाई दुई पानाको एउटा विज्ञप्ति सार्वजनिक भयो । जहाँ उनले आफू माओवादीमा नभई एमालेमा नै रहेको उल्लेख गरेकी थिइन् ।

हेर्नुहोस् वक्तव्य

विमला एमालेमा नै फर्किन भन्ने चर्चाका बीच माओवादी केन्द्रले चाहेमा अब उनको पद खोस्न सक्ने टिकाटिप्पणी हुन थाल्यो । तर, बुधबार विमलाको बारेमा थप नयाँ चर्चा शुरु भएको छ । उनी माओवादी नेताहरुको सर्म्पकमा पुगिन । माओवादीको लुम्बिनी प्रदेशका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’लाई उनले एसएमएस पनि पठाइन् र भनिन्, ‘म माओवादी केन्द्रमै छु, दुई दिनअगाडि जारी गरिएको विज्ञप्ति नक्कली हो ।’

विमलालाई नेपालगञ्ज माइतीघर जाने भनेर मन्त्रीकै गाडीमा चडाएर मुख्यमन्त्रीको निवासमा लगेर बन्धक बनाएको र त्यहाँबाट उम्केर उनी अहिले माओवादीको सर्म्पकमा आएको माओवादीका प्रदेश सांसदहरुको भनाई छ । विमला अहिले आफूहरूकै सर्म्पकमा रहेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । तर, उनीसँग अहिले सञ्चारकर्मीहरुले कुरा गर्न पाएका छैनन् ।

यसबारे माओवादीका प्रदेश अध्यक्ष ओनसरी घर्तीले विमलालाई मन्त्रीको गाडीमा नेपालगञ्ज भनेर बुटवल पुर्‍याएको बताएकी छन् ।

विमला प्रकरणबारे अनेसरीको भनाई विमलालाई मन्त्रीको गाडीमा नेपालगञ्ज भनेर बुटवल पुर्‍याएका रहेछन्

ओनसरी घर्ती, लुम्बिनी प्रदेश अध्यक्ष, नेकपा माओवादी केन्द्र

विमलाको माइती नेपालगञ्जमा नै हो । नेपालगञ्ज जाऔँ भनेर मन्त्रीकै गाडीमा हालेर लगिएको रहेछ । आफ्नो माइती घर नेपालगञ्जमै रहेकाले उहाँले पनि जान स्वीकार गर्नु भएछ। नेपालगञ्ज जानका लागि भनेर गाडी चढाइएकी उहाँलाई अमिलियाबाट सीधैँ पूर्वतर्फ लगिएको रहेछ ।

नेपालगञ्ज पश्चिततर्फ जानु पर्नेमा अमिलियादेखि पूर्वतर्फ गाडी कुदाएपछि उहाँले असन्तुष्टि जनाउनु भएको रहेछ । त्योबेला उहाँले आफू अपहरणमा परेको भनेर बल्ल थाहा पाउनु भएको रहेछ।

त्यसपछि उहाँलाई सीधै मुख्यमन्त्री शंकर पोख्रेलको निवासमा पुर्‍याइएको रहेछ । झण्डै साता दिनअघि बुटवल पुर्‍याइएकी उहाँलाई बाहिर निस्कनै नदिई राखिएको रहेछ । बिहीबार निस्कनासाथ उहाँ हाम्रो सम्पर्कमा आउनु भयो । अहिले हाम्रा माननीय ज्यूहरुसँग उहाँ सुरक्षित हुनुहुन्छ । उहाँलाई अब कुनै अप्ठ्यारो पर्न दिने छैनौँ ।

प्रतिक्रिया