शुक्रबार, चैत १६, २०८०

एचआरले फेर्‍यो ट्रमाको मुहार

मेरोन्यूज २०७८ साउन १९ गते १०:१४

काठमाडौं । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि उक्त अस्पतालको बहिरङ्ग सेवामा उपचार गर्न आउने बिरामी दैनिक २०० थिए । अहिले उक्त सङ्ख्या १०० ले बढेर ३०० पुगेको छ ।

विगत तीन महिनादेखि इनोभेटिभ एचआर सोलुशन प्रालि नामक संस्थाले सेन्टरको सरसफाइको जिम्मा लिएको छ । उक्त संस्थाले जिम्मा मात्रै लिएको छैन, साँच्चै व्यवस्थापनले भनेअनुरुप र बिरामीले अनुभव गर्न सक्ने गरी सरसफाइ र व्यवस्थापनको काम पनि गरेको छ ।

संस्थाको चाहनाअनुरूप अस्पताल व्यवस्थापन पक्षले पनि सहयोग दिँदै आएका कारण काम गर्न सहज हुनुका साथै अस्पताल सफा र बिरामीको आकर्षण बनेको निर्देशक डा. सन्तोष पौडेलले बताए ।

“सरकारी अस्पतालले सरसफाइ व्यवस्थापनमा ध्यान दिँदैन भन्ने कुरा हाम्रोमा लागू हुँदैन, अस्पताल सफा मात्रै होइन बिरामीलाई कर्मचारीले गर्ने सहयोग पनि उत्कृष्ट छ”, निर्देशक पौडेलले भने, “एचआरले सफाइको काम थालेसँगै केही बिरामीले यस सेन्टरलाई निजी हो भनी प्रश्नसमेत गर्ने गरेका छन् ।”

सरकारी अस्पताल सधैं फोहर मात्र हुन्छ र त्यहाँ गुणस्तरीय सेवा प्राप्त गर्न सकिँदैन भन्ने भनाइ अहिले यहाँ लागू हुँदैन । नेपाल सरकारले तोकेअनुसारको अस्पतालबाट निस्किने फोहर व्यवस्थापन गर्नका लागि इनोभेटिभ एचआर सोलुशन प्रालि अहिले यस अस्पतालसँग जोडिएको छ ।

Advertisement

एचआर आएसँगै अहिले सरसफाइको क्षेत्रमा अस्पतालले मुहार फेरेको छ । एचआरले यसअघि पनि अस्पताल, होटेल र अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइको जिम्मा पूरा गरिसकेको छ ।

“सरसफाइसँगै अस्पतालमा बिरामी पुगेपछि मानवीय व्यवहार राम्रो हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । सोहीअनुरूप हामीले हाम्रा कर्मचारीलाई निर्देशन दिएका छौं, अहिले सोहीअनुरूप काम भइरहेको छ”, एचआरका प्रमुख चिरञ्जीवी न्यौपानेले भने, “अस्पताल आउने बिरामीलाई राम्रो व्यवहार गर्न सके बिरामीको आधा रोग उपचारविना नै निको हुन्छ ।”

चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने उद्देश्यअनुरुप नै ट्रमा सेन्टर सञ्चालनमा आएको हो ।

सङ्कटमा सहारा ट्रमा सेन्टर
गत वैशाख तेस्रो साता मुलुकभर कोरोना सङ्क्रमण र मृत्युदर बढेपछि देशभरिकै कोभिड अस्पतालमा शैय्या र अक्सिजनको हाहाकार हुँदा धेरै सङ्क्रमितको मृत्यु भयो । कोभिड–१९ दोस्रो लहरबाट सङ्क्रमितको उपचार गर्न यस सेन्टरलाई डेडिकेटेड अस्पताल बनाई बिरामीको उपचार गर्न थालियो ।

“त्यतिबेला दुई साताअघि १० प्रतिशत रहेको सङ्क्रमणदर बढेर ५० प्रतिशत पुगेको थियो भने दैनिक २८ मा रहेको मृत्युको आँकडा ८८ हुँदै २०० नाघिसकेको थियो, यस्तो जटिल परिस्थितिमा विशेष अस्पतालका रूपमा उपचार गर्नु सहज भने पक्कै थिएन”, निर्देशक डा. पौडेलले भने ।

त्यहाँ उपचार गराइरहेका चोटपटकका बिरामीलाई सार्ने ठाउँको समस्या थियो । त्यहाँ शल्यक्रिया गर्न ठिक्क परेका र बहिरङ्ग विभाग (ओपीडी) मा समेत धेरै बिरामीलाई व्यवस्थापन गरी कोरोनाका बिरामीलाई सेवा दिनु मुख्य चुनौतीको सामना गर्दै यसले सेवा विस्तार गरेको हो ।

भारत सरकारको आर्थिक सहयोगमा आकस्मिक उपचार केन्द्र (ट्रमा सेन्टर) निर्माण गरिएको हो । चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने ठाउँका रूपमा यस सेन्टरको स्थापना भएको हो ।

अस्पतालजन्य फोहोर व्यवस्थापनमा चुनौती
घरबाट निस्किने फोहरभन्दा अस्पतालबाट निस्किने फोहर व्यवस्थापन कार्य आफैँमा चुनौतीको विषय हो । व्यवस्थापन गर्नुपर्ने अस्पतालका फोहरबाट पनि उत्तिकै सङ्क्रमणको जोखिम हुने गर्दछ ।

सङ्क्रमणजन्य फोहरलाई व्यवस्थापन गर्दा सबैभन्दा पहिले त्यसलाई निःसङ्क्रमणको काम गर्नुपर्ने हुन्छ । अनि मात्र व्यवस्थापनको काम हुन्छ । यन्त्रको प्रयोग गरी सङ्क्रमणजन्य फोहरलाई निःसङ्क्रमण गरेर मात्र सामान्य फोहर जसरी व्यवस्थपन गरिन्छ ।

सरसफाइको क्षेत्रमा २० वर्षे अनुभव भएको बताउने न्यौपालेले अन्य क्षेत्रको व्यवस्थापनभन्दा जटिल काम अस्पतालबाट निस्किने फोहर व्यवस्थापनको रहेको बताउँछन् ।

अस्पतालको मुख्य स्थान आईसीयु, भेन्टिलेटर, शल्यक्रिया कक्ष जस्ता स्थान सरसफाइको हिसाबले बढी जोखिम र सबै समयमा सफा नै रहनुपर्ने स्थान भएको प्रमुख न्यौपानेको भनाइ छ ।

हाल यस अस्पतालमा छ जना कर्मचारी फोहर व्यवस्थापनमा खटिएका छन् । यहाँ दैनिक करिब ४०० किलोसम्म फोहर निस्कने गरेको छ ।

कोरोनाको दोस्रो लहर उत्कर्षमा पुग्दा र अस्पतालले पूर्णरूपमा कोरोना बिरामीको मात्र उपचार गर्दा दैनिक ८०० किलोसम्म फोहर निस्कने गरेको र उक्त समयमा व्यवस्थापनमा निकै समस्या परेको अस्पतालका सूचना अधिकारी अर्जुन भेटवालले जानकारी दिए ।

दुई सय शैय्या क्षमता रहेको यस अस्पतालमा विशेषगरी हाडजोर्नीका बिरामीको उपचार हुने गर्दछ ।

हाल सेन्टरमा १० सघन उपचार कक्षसहित २०० शैय्या छन् । अझ आईसीयू र भेन्टिलेटर थपेर अस्पताललाई व्यवस्थित बनाइने अस्पतालको योजना छ । हाल सञ्चालनमा रहेका बाहेक अन्य थप १० शैय्या अस्पतालले थपेर बिरामीको उपचार गर्दै आएको छ ।

निर्माण सम्पन्न भएको छ वर्षपछि २०७१ मङ्सिर ९ गतेदेखि यो अस्पताल सञ्चालनमा आएको हो ।

गत वर्ष आकस्मिक कक्षमा १६ हजार ३९४ ले र बहिरङ्गतर्फ ५९ हजार २२२ जनाले उपचार गराएका छन् भने अघिल्लो वर्ष १८ हजारभन्दा बढीले आकस्मिक कक्षमा र करिब ८० हजारले बहिरङ्गतर्फ सेवा लिएका छन् । रासस

प्रतिक्रिया