बिहीबार, चैत १५, २०८०

सशस्त्र र नेपाल प्रहरीमा गृहमन्त्री खाँणको ठाडो हस्तक्षेप

खाँणको निर्देशनमा इन्सपेक्टर कृष्ण अर्याललाई रुपन्देहीको डन्डा बिओपीमा काज सरुवा

मेरोन्यूज २०७८ साउन १९ गते ९:२१

काठमाडौं । सुरक्षा निकायमा नियमसंगत सरुवा बढुवा गर्छु कुनै हस्तक्षेप गर्दिन भनेका गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र र नेपाल प्रहरी दुवैमा हस्तक्षेप सुरु गरेका छन् ।

डिएसपीबाट एसपीमा सात जनालाई बढुवा गर्न दबाब दिएका खाँणले सोमबार साँझ एक प्रहरी नीरिक्षक (इन्स्पेक्टर)को काज सरुवा गराएका छन् ।

‘समयनै नपुगी त्यो पनि महत्वपूर्ण विओपीमा काज सरुवा गराइएको छ ’, सशस्त्र प्रहरीका एक अधिकारीले भने । उनका अनुसार भदौको दोस्रो साता वा तेस्रो सातातिर मात्रै विओपीमा सरुवा हुने भएपनि मन्त्रीको दबाबमा सशस्त्र मूख्यालयले काज सरुवा गरेको हो ।

‘गृहमन्त्री खाँण र उनका सहयोगीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पूरै हस्तक्षेप गर्न थालेका छन्, यस/यसलाई बढुवा र सरुवा गरिदिनुपर्यो भन्दै सूची लिएर मन्त्रालयमा आउछन्’, गृहमन्त्रालयका एक अधिकारीले भने ।

नेपाल प्रहरीको सई बढुवामा विवादित बनेका गृहमन्त्रीले सशस्त्र प्रहरीमा उत्तिकै हस्तक्षेप सुरु गरेको मन्त्रालयको दाबी छ ।

Advertisement

‘डिएसपीबाट एसपीमा सात जनालाई बढुवाका लागि दबाब दिएका गृहमन्त्रीले सोमबार मात्रै एक इन्स्पेक्टरको काज सरुवाका लागि दबाब मात्रै दिएनन काज निकाल्न लगाईछाडे’, ती अधिकारीले भने ।

सशस्त्र प्रहरी बलमा हत्तपत्त काज सरुवा हुँदैन । तर, गृहमन्त्रीले नै निर्देशन दिएपछि सशस्त्र मूख्यालयले एकल काज सरुवा निकालिदियो । ‘आइजीपी साहेब पोखरा जानुभएको थियो । आएपछि साह्रै दबाब महशुस गरेर काज निकाल्न आदेश दिएको बुझिन्छ’,मूख्यालय स्रोतले भन्यो ।

सोमबार गृहमन्त्री खाँणको निर्देशनमा इन्सपेक्टरको एकल काज सरुवा भएको छ । खाँणको निर्देशनमा इन्सपेक्टर कृष्ण अर्याललाई रुपन्देहीको डन्डा बिओपीमा काज सरुवा गरिएको हो ।

सामान्यतया बिओपीका इन्चार्जहरुको एकैपटक सरुवा हुने गरेको छ । यो वर्ष इन्सपेक्टरको सरुवाको तयारी भइरहेको छ । तर, नियमित सरुवा समेत नकुरी इन्सपेक्टर अर्याललाई सो बिओपीमा पठाइएको छ ।

स्रोतका अनुसार सो बिओपीमा जान धेरैको चाहना भएकाले यसरी गृहमन्त्रीको ठाडो आदेश लगाएर इन्सपेक्टर अर्याल त्यहाँ गएका हुन् । अन्य बिओपीमा समेत सरुवाका लागि गृहमन्त्री निकट व्यक्तिहरुले पैसा उठाइरहेको स्रोत बताउँछ ।

‘राम्रो विओपी जाने हो पाँच देखि सात लाख चलेको रहेछ’, गृहममन्त्री निकट रहेका व्यक्तिले भनिरहेको स्रोतले जनाएको छ ।

‘राम्रो काम गर्न त भैरहवा वीओपी पक्कै पावर लगाएर जान लागेका होइन होला,’ गृहका एक अधिकारी भन्छन्, ‘कमाउनकै लागि यसरी जाने हो, अनि सीमा सुरक्षा के बलियो हुन्थ्यो ?’

सीमा सुरक्षा जस्तो महत्वपूर्ण निकायमा उनी गृहमन्त्रीको बलमा पुग्नुलाई त्यहाँ सुरक्षाका नाममा तस्करीलाई बढुवा दिनु रहेको अनुमान गरिएको छ ।

सामान्यतया बीओपीका लागि बाहिनीहरुले नै तयारी गरेर मूख्यालयले काज सरुवा गर्छ । केहीरकेही व्यक्ति बाहेक मूख्यालयले हस्तक्षेप नगर्ने भनिएपनि अहिलेचाहि मन्त्रीले नै हस्तक्षेप सुरु गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले यसअघि कहिल्यै नझेलेको दबाब झेल्नु परेको गुनासो समेत गरिरहेका छन् ।

प्रतिक्रिया