शनिबार, वैशाख ८, २०८१

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा

भन्छन्, – ‘नेपालका लागि खेल्नु जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।’

मेरोन्यूज २०७८ साउन १९ गते ८:१३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । पारसले सामाजिक संजालमा संदेश राख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय टोलीको कप्तानी पनि सम्हालेका थिए । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म प्राप्त गरेको थियो ।

नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे । एसोसिएट क्रिकेटकै स्टारका रुपमा रहेका पारसले पछिल्लो समय विदेशी फ्रेन्चाइज लिगमा पनि खेलेका थिए ।

घरेलु क्रिकेटमा पनि सफल कप्तानका रुपमा दरिएका उनले स्थानीय स्तरमा भने खेल्ने संकेत दिएका छन् ।

पारसले नेपालबाट पछिल्लो पटक गत वर्ष फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि–२० प्रतियोगिता खेलेका थिए ।

पारसले गत वैशाखमा घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि–२० आई सिरिज भने चोटका कारण खेलेका थिएनन् । नेपालका लागि यू १७, यू १९ हुँदै २००४ मा पारसले मलेसियाविरुद्ध डेब्यू गरेका थिए ।

पारसले सन् २००८ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी गरेका थिए । उनले २०१९ मा नेपाली टोलीको कप्तानी छाडेका थिए ।

पारस नेपाली क्रिकेटका सर्वाधिक सफलक कप्तान हुन् । उनको कप्तानीमा नेपालले पहिलो पटक २०१४ टि २० विश्वकप खेलेको थियो । २०१८ मा पहिलो पटक ऐतिहासिक ओडिआई मान्यता पाएको थियो ।

पारसले नेपाललाई पहिलो पटक २०१० मा डिभिजन पाँचको उपाधि जिताएका थिए । उनको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्म उपाधि जितेको छ ।

पारस कप्तानसँगै सर्वाधिक सफल खेलाडी पनि हुन् । ओडिआई र टि२० आई दुबैमा नेपालबाट पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् । ओडिआईमा २०१९ मा यूएई र त्यसैवर्ष सिंगापुरविरुद्ध टि२० आईमा शतक प्रहार गरेका थिए ।

पारसले नेपालबाट १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४४ लिष्ट ए र ५६ टि२० क्रिकेट खेलेका छन् ।

संयोगवश पारसले पहिलो ओडिआई खेल जितेकै दिन सन्न्यास लिएका हुन् । २०१८ मा पारस तीन अगष्टमै नेदरल्यान्ड्सलाई एक रनले हराउँदै ऐतिहासिक ओडिआई खेल जिताएका थिए ।

प्रतिक्रिया