बिहीबार, वैशाख १३, २०८१

सबै विद्यालय बन्द गर्न प्रशासनको निर्देशन

मेरोन्यूज २०७८ साउन १९ गते ६:४०

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए ।

यसबारेमा सोमबार समाचार सम्प्रेषण भएको थियो । प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

उक्त बैठकमा प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुख लगायतको सहभागिता थियो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिसिएमसीले निर्णय नगरेसम्म विद्यालय सञ्चालन गर्न नपाइने बताए ।

“विद्यालय सञ्चालनका लागि प्रशासनले अनुमति दिएको छैन, कोरोना जोखिम कायमै रहेको अवस्थामा विद्यालय बन्द गर्न निर्देशन दिएका छौँ”, बरालले भने ।

व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुशी विद्यालय सञ्चालन गरेको बताए ।

“विद्यालय खोल्यौं भनेर कतिपय विद्यालय सञ्चालकहरुले जानकारी गराउनुभएको छ तर हामीले खोल्ने अनुमति दिएका थिएनौं”, उनले भने, “कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका थियौं ।”

तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा कायमै छ तर विद्यालयले सबै विद्यार्थीलाई विद्यालयमै बोलाएर भौतिकरूपमा कक्षा सञ्चालन गरिरहेका थिए ।

जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ । यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका थिए ।

प्रतिक्रिया