बिहीबार, वैशाख ६, २०८१

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार आतुरः मुख्यमन्त्री पोखरेल

मेरोन्यूज २०७८ साउन १८ गते २१:३५

पोखरा । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने बताए ।

उनले भने,‘ लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार के गर्नुपर्छ हामीलाई सुझाव चाहिएको छ, हाम्रो क्षमताले भ्याएसम्म सहकार्य गर्न सरकार तयार छ ।’ उनले युवाहरुलाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा राखेको बताए । व्यवसाय र उद्योगसँग अहिले प्रविधि जोडिएको भन्दै उनले प्रविधिकै कारण लागत मूल्य कम पर्ने र उपभोक्तासम्मले अनुकुल मूल्यमा सामान प्राप्त गर्न सकिने बताए ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रतिकुल समयबीच व्यवसायीहरु रहेको भन्दै व्यवसायीको बाध्यता आफूले बुझेको बताए ।

अर्थमन्त्री रामजी बराल जीवनले सानो बजेट लिए सरकार अगाडि बढेको भन्दै निजी क्षेत्रलाई साथमै लिएर आफूहरुले काम गर्ने बताए । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले व्यवासायीहरुलाई खोप प्रदान गर्न लागि परेको बताए ।

कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले सरकार आफैले व्यापार व्यवसाय गर्न नसक्ने भएकाले त्यस्तै खालको वातावरण बनाउनुपर्ने बताए । व्यवसायीहरु अहिले चौतर्फी मारमा परेको भन्दै उनले तर पनि उनीहरुको पहिलो माग खोप नै रहेको भन्दै यसका लागि प्रदेश सरकारले सहजीकरण गरिरहेको बताए ।

कम्पनी रजिस्टारको कार्यालय पोखरामा ल्याउन आवश्यक रहेको उनको भनाइ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले समावेशिताका आधारमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रदेशको राजधानी पोखराको समग्र विकासका लागि सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताए । पोखरा लगायत आसपासमा तीब्र सहरीकरण भइरहेको भन्दै उनले यसतर्फ पनि बेलैमा सोच्न आग्रह गरे । पोखरा चक्रपथको आवश्यकता महसुस गरी आयोजना अगाडि बढाउन उनले सुझाव दिए ।

नेपाल उद्योग वाणज्य महासंघ केन्द्रीय सदस्य बाबुराम गिरीले चुनौतीबीच आएको अहिलेको सरकारबाट आफूहरुले धेरै अपेक्षा गरेको बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सहजरुपमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै प्रदेश सरकारसँग संघ सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

कार्यक्रम संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले कोरोनाले मारमा परेका व्यवसायीलाई उकास्ने गरी सरकारले पहल थाल्नुपर्ने भनाइ राखे ।

कार्यक्रममा शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, जलस्रोत, सिँचाइ तथा ऊर्जा मन्त्री हरिशरण आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा, वन तथा वातावरण मन्त्री दीपक थापालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया