शुक्रबार, वैशाख ७, २०८१

दार्चुला घटनाः एसएसबीको संलग्नताबारे बोलेनन् गृहमन्त्री

मेरोन्यूज २०७८ साउन १८ गते १४:४८

काठमाडौं । सरकारले दार्चुला जिल्लाको महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका नागरिकको घटनाबारे राष्ट्रियसभामा जानकारी गराएको छ ।

सोमबार राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताए । दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा धामी महाकाली नदीमा बेपत्ता भएका थिए । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नताबारे भने गहृमन्त्री बालकृष्ण खाँडले केही बोलेका छैनन् ।

प्रत्यक्षदर्शीहरुले भने जस्तो भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटेको वा फुकाएको भन्ने विषयप्रति मन्त्री खाडले केही बोलेनन् ।

एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको भनेर प्रत्यक्षदर्शीहरुले भनिसक्दा पनि सरकार किन मौन बसेको भनेर सांसदहरुले प्रश्न गरेका थिए ।

जवाफका क्रममा गृहमन्त्री खाँणले भने आम नागरिक र सांसदहरुको धारणालाई सरकारले गम्भीर रुपमा लिएको बताए । तर आफैंले छानविनका लागि समिति बनाएकाले त्यसलाई प्रभावित हुने गरी राय दिन नमिल्ने जानकारी दिए ।

छानविन समितिमा को-को छन् ?

गत शुक्रबार भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गरेका थिए ।

समितिमा नेपाल प्रहरीका महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।

बेपत्ता भएको घटनाबारे भारतीय पक्षले यस घटनामा एसएसबीको कुनै संलग्नता नरहेको भन्दै लिखित पत्र पठाएको छ ।

प्रतिक्रिया