शुक्रबार, वैशाख ७, २०८१

आत्मनिर्भरताको भाेकले सफलता चुमेका युवा व्यवसायी रुपेश

नरेन्द्र रौले २०७८ साउन १७ गते ९:५४

काठमाडौं । फेसनको ब्रान्डिङ बजारमा स्थापित युवा व्यवसायी हुन्, रुपेश पाण्डेय । रुपेशले दरबारमार्गमा ‘दा मिलानो’, लबिम मलमा ‘लुई फिलिप’, ‘इन्डियन टेरेन’ र जावलाखेलमा ‘एपी ब्रान्ड’ का सोरुम सञ्चालन गरिरहेका आरपी ग्रुपका सञ्चालक समेत हुन् पाण्डेय ।

यि शोरुमहरुमार्फत बच्चादेखि वृद्ध, महिला, पुरुष सबैका लागि लत्ता, कपडा उपलब्ध गराउँदै आएका छन् । उनको आरपी ग्रुप अन्तर्गत २१ वटा अन्तर्राष्ट्रिय ब्रान्डका सोरुम छन् । यस्तै राजधानीका विभिन्न स्थानमा उनका ३१ वटा आउटलेट छन् । ब्रान्डेड कपडासँगै खाद्यान्न व्यवसाय पनि उनले सञ्चालन गरिरहेका छन् ।

‘महान कार्य गर्ने एउटै तरिका हो, तिमी जे गर्दैछौ प्रेमपूर्वक गर । यदि अहिलेसम्म त्यस्तो काम मिलेको छैन भने खोज ।’ सुप्रसिद्ध अमेरिकी उद्यमी स्टिभ जब्सको चर्चित वाणी हो यो । उनको यो वाणीमा भनिएजस्तै कुनै पनि काम गर्दा प्रेमपूर्वक गर्नुपर्ने मान्यता राख्ने युवा उद्यमी हुन् रुपेश पाण्डेय ।

वीरगञ्जमा मध्यम वर्गीय परिवारमा जन्मिएका रुपेश घरका जेठा सुपुत्र हुन् । उनका बुबा पेशाले शिक्षक हुन् । शिक्षण पेशामा तनमनले लागेका बुबाको लगनशीलता, मेहनतबाट प्रभावित रुपेश समयसँगै आफै मेहनत गर्न थाले ।

विरगञ्जको बजारमा कुर्ता–सुरुवाल, धोती–साडीदेखि खाद्यान्न समेतको व्यापार गर्न उनले सानै उमेरमा सिके । स्टिभ जब्सकै भनाइलाई उनले मनन् गरे । आफ्नो कामलाई उनले निकै प्रेम गर्न थाले । कुनै पनि कामलाई सानो–ठूलो नठान्ने रुपेश शुरूवाती समयमा जुनसुकै काम गर्न पछि परेनन् । विभिन्न रेडिमेड कपडादेखि खाद्यान्नसम्मको व्यवसाय उनले सानै उमेरदेखि नै सुरू गरे ।

‘कलेजमा पढ्दा नै मलाई व्यवसायको रस पस्न थालेको थियो । मैले कुनै पनि कामलाई काम मात्रको रुपमा लिइन । त्यसैमा पूरै तनमन दिएर शुरूदेखि नै लागे ।’ रुपेश सुनाउँछन् । कलेजका साथीभाइहरू अरु क्षेत्रमा रमाउँदै गर्दा उनी भने आफ्नो व्यवसाय विस्तारमा तल्लिन थिए । कहिले सिमापारीबाट सामान ल्याउने त कहिले बिक्रीमा नै समय दिने उनको दैनिकी थियो ।

अंग्रेजी भाषाका चर्चित साहित्यकार जर्ज बर्नाड शाले भनेका छन्, ‘जसले आफ्नो सोचलाई परिवर्तन गर्न सक्दैनन्, उनीहरूले केही पनि परिवर्तन गर्न सक्दैनन् ।’ रुपेशले पनि सानैदेखि आफ्नो सोचलाई अरूको भन्दा फरक राखे । साथीभाइ कतै अन्यत्र रमाइरहँदा आफूमा व्यवसाय शुरू गर्ने ‘प्यास’ देख्थे उनी । सानैदेखि आत्मनिर्भरताको बाटो पहिल्याउन अन्तत: उनी सफल पनि भए ।

युवाहरूलाई उनको एउटै सन्देश छ, ‘आज कठिन परिस्थिती छ, भोलि अझै कठिन परिस्थिति हुन सक्छ । तर, हार नखानुहोस् पर्सी अवश्य राम्रा दिन आउनेछ ।’

सिमापारीबाट साइकलमा लत्ताकपडा ल्याउने र विरगञ्ज बजारमा बिक्री गर्ने उनको दिनचर्या थियो । र, शुरू भयो रुपेशको आत्मनिर्भरतातर्फको यात्रा । मध्यम वर्गीय परिवारमा हुर्किएका उनलाई खासै काम गरिरहनुपर्ने बाध्यता त थिएन । तर, आत्मनिर्भरताको भोकले उनलाई त्यसै बस्न पनि दिएन । केही गरौं भन्ने ‘हुटहुटी’ व्यवसायमा लगाए । सानैदेखिको व्यवसायप्रतिको लगाव देखेर उनका साथीभाइ तथा परिवार, इष्टमित्र पनि चकित थिए । समय बित्दै जाँदा उनलाई सुझाव आउन थाल्यो–जग्गामा पनि लगानी गर्नु र व्यवसाय गर्नु ।

रुपेश पनि के कम । शुरू गरे–घरजग्गा कारोबार । उनी यतिमै मात्र सिमित रहेनन् । लत्ता कपडा, महिलाका लागि पहिरन तथा खाद्यान्न व्यवसाय विस्तारतर्फ ध्यान दिए । विरगञ्ज बजारबाट शुरू भएको उनको व्यवसाय केही समयमै हेटौंडा तथा नारायणगढसम्म फैलियो । जता अवसर मिल्छ उतै दौडिन थाले उनी । अझ भनौं–अवसरले नै उनलाई पछ्याएको थियो । सरकारले जंगलबाट काठ उठाउन इजाजत दिएको समयमा उनले सो काम पनि गरे भने चुंगीकरको ठेक्कामा पनि हात हाले । परिणाम स्वरुप उनको व्यवसाय आज वीरगञ्जमा मात्र नभई हेटौंडा, नारायणगढ, चितवनको यात्रा हुँदै काठमाडौंसम्म विस्तार भईसकेको छ ।

काठमाडौंसम्म आइपुग्दा रुपेशले धेरै हण्डरठक्कर खाएका छन् । संघर्षले मानिसलाई थप मजबूत बनाउँछ भनेजस्तै अहिले उनी मजबूत छन्, अनुभवी छन् र आत्मविश्वासी पनि । ‘जे गर्ने हो मनदेखि नै गर्नुपर्छ, पूरा योजनाका साथ गर्नुपर्छ र उपलब्धी हात पार्नु नै पर्छ,’ यो रुपेशको मुलमन्त्र नै हो ।

वि.सं. २०६० सालदेखि काठमाडौंमा व्यवसाय शुरू गरेका रुपेशसँग अहिले व्यवसायको सञ्जाल नै छ । आफ्नै नामबाट व्यवसायिक ग्रुप आर.पी. ग्रुप बनाएका छन् भने उनले व्यवसायिक कम्पनी आर.पी ट्रेडिङ सञ्चालन गरिरहेका छन् ।

आर.पी ट्रेडिङमार्फत काठमाडौं उपत्यकामा उनले ब्राण्डेड लुगा, जुत्ता तथा व्याग शोरुमहरूमा आधिपत्य नै जमाएका छन् । अहिले उनीसँग काठमाडौं उपत्यकामा मात्रै २ दर्जन रिटेल शोरुमहरू रहेका छन् । यी मध्ये दरबारमार्गमा रहेको ‘द मिलानो’ तथा ललितपुरको लाबिम मलमा रहेका ‘लुई फिलिप’ तथा ‘इण्डियन टेरेन’ शोरुम चर्चित छन् ।

विशेषगरी रुपेशले अन्तर्राष्ट्रिय बजारबाट ब्राण्डेड लुत्ता, जुत्ता तथा महिलाका पहिरन भित्र्याउँदै बिक्री गरिरहेका छन् । उनको व्यवसाय काठमाडौंमा मात्रै हैन प्रदेश २ मा समेत फैलिएको छ । विस्तारै मुलुकभर व्यवसाय विस्तार गर्ने तयारीमा उनी कस्सिएका छन् ।

भगवान गणेशको भक्त, अध्ययनका पारखी
सकारात्मक सोचका धनी रुपेश भगवान गणेशका भक्त नै हुन् । हरेक दिन बिहान नित्यकर्मसँगै भगवान गणेशको पूजा आराधना गर्नु उनको दैनिकी हो । निधारमा रातो टिका, मनमा गणेश भगवानलाई सम्झिनु उनको विशेषता नै हो ।

सामान्यतया: बिहान ५ बजे ब्युँझिन्छन् उनी । योगाभ्यास गर्ने तथा भगवान गणेशको पूजा आराधना गर्नु उनको दैनिकी हो । ‘भगवान गणेशको पूजा आराधना नगरी पानी पनि खान्न,’ उनी भन्छन्, ‘कमलादीमा रहेको गणेश मन्दिरमा गई पूजाआराधना गरेर मात्र दिनचर्या शुरू गर्छु । भगवानप्रतिको आस्था र दृढ संकल्प जिन्दगीको मुल मन्त्र हो ।’

धर्मसँगै कर्ममा बढी विश्वाास गर्ने पाण्डे भन्छन्, ‘धर्म गरेपछी ईश्वरसँग माग्नु पर्छ, कर्म गरेपछी ईश्वरले स्वयम् आफै दिनुहुन्छ ।’

फुर्सदको समयमा पुस्तक पढ्ने, खेल खेल्ने उनको शोख हो । सफलताका कथा, व्यवसायसँग सम्बन्धित पुस्तक, सफल व्यक्तित्वहरूको जीवनी अध्ययन गर्न उनी रुचाउँछन् । हालैमात्र उनले अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको पुस्तक पढेर सिध्याए । भर्खरै उनले ‘हाउ टु डेभलप सेल्फ कन्फिडेन्स एन्ड इन्फ्लुएन्स पिपुल बाई पब्लिक स्पिकिङ’ अध्ययन गरेका छन् । आफूमा आत्मविश्वास जगाइराख्न पनि यस्ता पुस्तकहरूको अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।

उनी भन्छन्, ‘मलाई यस्ता पुस्तकहरू मन पर्छ, जसले मलाई सकारात्मक हुन प्रेरित गरुन्, र आत्मविश्वास बढाउन् ।’ उनले हालैमात्र बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाद्वारा लिखित ‘अनफिनिस्ड’ पुस्तक पढेर सके । भगवानप्रतिको आस्था र दृढ संकल्प जिन्दगीको मुल मन्त्र भएको उनी ठान्छन् ।

‘यस्तो पाठ सिकें’

विश्वभर कोरोना महामारी फैलिएसँगै अर्थतन्त्र नै ठप्प रह्यो । यसले नेपालमा पनि अछुतो रहेन । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि भन्दै बन्दाबन्दी तथा निषेधाज्ञा जारी भएपछि व्यवसाय ठप्प भए । सबैकुरा ठप्प भए ।

व्यवसायी रुपेशले यसलाई नभोग्ने कुरै थिएन । तर, पनि उनी आत्तिएनन् । हरेक घटनाभित्र केही सिक्नुपर्ने पाठ हुने उनी बताउँछन् । उनले विश्वभर फैलिएको कोरोना महामारीबाट आफूले धेरै कुरा सिकेको बताए । ‘जस्तोसुकै विपद्मा पनि आत्तिनु हुन्न भन्ने पाठ मैले सिकें,’ उनी भन्छन्, ‘हामीहरू आत्तियौं भने यसको असर निकै नराम्रो हुन्छ । त्यसकारण आत्मविश्वास जगाइराख्ने, नआत्तिने गर्नुपर्ने रहेछ ।’

रुपेशले आफूले व्यवसायको बारेमा केही सोचेको समेत सुनाए । उनले भने, ‘हामी प्राय: व्यवसायीहरूले सामान्यतया ६ महिनाको ब्याकअप राख्छौं । तर, अब यो पनि प्रयाप्त भएन । यसलाई बढाएर कम्तिमा डेढ वर्षको ब्याकअप राख्न सकियो भने सहज हुन्छ ।’

युवाहरूलाई सन्देश
सकारात्मक सोच राखेर अगाडि बढे सधैं सफलता मिल्ने रुपेशको मान्यता छ । उनी अहिले कोरोना महामारीका समयमा युवा तथा अन्य जो कोहीलाई पनि ‘फ्रस्टेसन’ भएको भन्दै यसलाई चिर्न जरुरी रहेको बताउँछन् । उनी भन्छन्, ‘जसरी हुन्छ सकारात्मक सोच राख्नुपर्छ । आज नभए भोलि त पक्कै हुन्छ भन्ने आशा मात्रै राखे पनि सफलता चुम्न सकिन्छ ।’

आज कठिन परिस्थिति भएपनि भोलिका दिनमा परिस्थिती पक्कै सहज हुने उनी सुनाउँछन् । युवाहरूलाई उनको एउटै सन्देश छ, ‘कहिल्यै हार नमान्नुस् । आज कठिन परिस्थिती छ, भोलि अझै कठिन हुनसक्छ । तर, नआत्तिनुस् पर्सी अवश्य राम्रा दिन आउनेछन् ।’ जिन्दगीमा धैर्यता, सभ्यता र सत्यता लाई स्वीकार गर्न सक्ने हो भने दु:ख, पिडाबाट टाढा रहन सक्नेमा पाण्डे ढुक्क छन् ।

प्रतिक्रिया