शुक्रबार, वैशाख १४, २०८१

‘गद्दीच्यूत’ भएका पारस कहिले सुध्रेलान् ?

सधै विवादमा तानिइरहे-पूर्व युवराज पारश शाह, अझै रोकिएन उनको उदण्डता

दया दुदराज २०७८ साउन १६ गते २०:४२

काठमाडौँ । शुक्रबार राति काठमाडौंको चक्रपथ नारायण गोपाल चोकमा एउटा घटना घट्यो । जुन घटना सामाजिक सञ्जालमा रातारात भाइरल बनेको छ । अहिलेसम्म सामाजिक सञ्जालमा उक्त घटनाको चर्चा सेलाएको छैन । उक्त घटनामा पूर्व युवराज पारस शाह संलग्न थिए ।

‘गद्दीच्यूत’ भएसँगै जनताले दरबारबाट निकालिएका पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पूर्व युवराज पारस शाहले ड्युटीमा खटिएका प्रहरी जवानलाई अभद्र व्यवहार गरेका थिए । यतिबेला उक्त घटना एकाएक चर्चामा छ ।

शुक्रबार अन्दाजी साढे ७ बजेतिर मोटरसाइकलमा आएका शाहलाई ट्राफिक प्रहरीले रोकेका थिए । उनले ड्युटीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेका हुन् । ह्याल्मेट नलाएर ट्राफिक नियम मिचेको अभियोगमा ट्राफिक प्रहरीले उनलाई रोकेका थियो । उनलाई ट्राफिक प्रहरीले रोकेर राखेको एउटा भिडियो बाहिरिएको छ । भिडियोमा शाहले प्रहरीमाथि हातपात गरेको देखिन्छ । भिडियोमा आफूले ‘ड्रङ्क’ मदिरा सेवन नगरेको बताएका छन् । र, प्रहरीले उनको हातमा समाउँदा ‘म जान्न, जान्न, जान्न’ भन्दै यही बस्छु बनेका छन् ।

सवारी चाप बढी हुने समयमा प्रहरीले पारसलाई रोकेको र उनले गरेको लफडाले धेरै यात्रु र सवारी साधनले सास्ती भोग्नु परेको देखिन्थ्यो । भिडियोमा हेर्दा उनी होस् भएर बोले वा बेहासीमा थिए ? भन्ने प्रश्न देखिन्थ्यो । भिडियोमा एक ट्राफिक प्रहरीले हातमा समातेर गाडीको माग गरिराखेका छन् । तर, पारस प्रहरीमाथि नै जाइलागेका थिए । भिडियोमा पारसले एउटा वाक्यसमेत भनेका थिए । त्यो वाक्य थियो, ‘श्रीपेच लगाउने टाउकोमा ह्याल्मेट लगाउछ ?’

उनको यो वाक्यले आफू अझै पनि युवराजका उपाधिमा रहेको जस्तो दम्भ पारसले देखाउन खोजेको देखिन्छ ।

बारम्बर प्रहरीसँगको टकराव

प्रहरीसँगको उनको विवाद यो पहिलोपटक होइन । यसअगाडि उनले डियुटीमा रहेका प्रहरीसँग बारम्बार लफडा गर्दै आएका अनेकै घटना छन् । गत २८ जेठ २०७५ मा बा १४ च २१३१ नम्बरको गाडीमा पारस शाह सवार थिए । उनले जावलाखेलबाट ट्राफिक नियम उल्लंघन गर्दै भागेका थिए ।

प्रहरीले उनको गाडीलाई थापाथलीमा रोकेको थियो । तर, रिसमा उनले थापाथलीमा कार्यरत प्रहरी जवान सुष्मा चौधरीलाई हान्ने गरी गाडी हुइँक्याएका थिए । उनी संयोगले जोगिएकी थिइन् । उनी तिनै प्रहरी जवान थिइन् । जसले पारसको लाइसेन्स लिएर जरिवानाको चिट काटेकी थिइन् ।

२०७६ भदौमा समेत पारसले डियुटीमै रहेका प्रहरी नायव निरीक्षकमाथि दुर्व्यवहार गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीलाई सार्वजनिक स्थलमै पारशले दुर्व्यवहार गरेका हुन् । उनले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएका थिए ।

पारसले विमानस्थलभित्र छिर्ने क्रममा बायाँ हातले प्रहरीलाई धकेलेका थिए । उनको धक्कापछि प्रहरी दुई कदमपछाडि हुत्तिएका थिए । प्रहरीलाई धलेकेपछि पारस रातो कार्पेट टेक्दै अगाडि बढेका थिए । उनले अलिकति अगाडि बढेर प्रहरीतर्फ फर्केर हेरे । र, फेरि जगिँदै फर्किएको भिडियो त्यसबेला भाइरल बनेको थियो ।

प्रहरीलाई दोस्रोपटक झम्टँदा छोरा हृदयेन्द्रले आफ्ना पितालाई हातमा समातेर रोक्ने प्रयास गरे । त्यसपछि उनीबीचबाट फर्केर चोर औँला देखाउँदै विमानस्थलको दोस्रो गेटतर्फ लागेका थिए ।

आमा कोमल शाहलाई बैंककका लागि बिदाई गर्न पारस आइतबार सपरिवार विमानस्थल पुगेका थिए । पारससँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भाञ्जा पार्थक सिंह पनि विमानस्थल गएका थिए । उनले गरेको दुर्व्यवहारको निन्दा नभएको होइन । तर, उनले कारबाही भोग्नु परेन । उनले यो विषयमा कुनै कारबाही बेहोर्नु परेन ।

उदण्डको खातैखात

शुक्रबार (१५ साउन) को घटना त पारसको उदण्डताको एउटा नमुना घटना मात्र हो । उनले घटाएका उदण्डताका खातैखात छन् । राजगद्दीमा रहँदादेखि गद्दीच्यूत हुँदासमेत उनको विवादका श्रृखंला खोतल्ने हो भने लामै सूची बन्छ । पटक–पटक प्रहरीसँग विवादमा मुछिइरहने उनी लागु औषध दुर्व्यसनीमा समेत उत्तिकै फसेका छन् ।

कहिले प्रहरीसँग लफडा गर्ने, कहिले लागुऔषध सेवन गरेर मनलाग्दी बोल्दै हिड्ने उनको उदण्डता रोकिएको छैन । लागूऔषधको दलदलमा फसेका उनलाई कुलतबाट निकाल्न सुधार केन्द्रमा समेत राखिएको थियो । उनमा सुधार भने देखिएको छैन ।

हृदयघातका कारण गम्भीर बिरामी भएसँगै एक महिना लामो नर्भिक अस्पतालको बसाईपछि उनले पुनः जन्म पाए । योभन्दा पहिलाे पनि उनी बैंककमा हृदयघातबाट विरामी हुँदा लामाे समय अस्पतालमा बसेका थिए । तर, उनको कुलतप्रतिको आकर्षण र लागुऔषधप्रतिको मोह घट्न सकेकाे छैन । कहिले श्रीमती हिमानीसँगको सम्बन्ध, कहिले प्रेमिकासँगकाे सम्बन्धले विवादमा तानिइरहने पारसको छवि अनेकौँ फण्डाका कारण जनमानसमा राम्रो हुन सकेकाे छैन ।

उनी युवराज हुँदा नै विवादमा आइरहन्थे । वि.सं २०५७ साल साउन २२ गते उनले चलाएको गाडीको ठक्करबाट गायक प्रविण गुरुङको मृत्यु भएको थियो । उनलाई कारबाही गर्नका लागि पाँच लाख सर्वसाधरणको हस्ताक्षर संकलन गरिएको थियो । उनले राजपरिवारको सदस्य भएकै कारण सजायाको भागीदार बन्न परेन । सजिल्यै उनले उन्मुक्ति पाए ।

उक्त घटनापछि नै हो– पारशको कालो अवतार सर्वसाधारणले देखिने गरी सार्वजनिक भएको । तत्कालीन राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरबार हत्याकाण्डमा बाबु ज्ञानेन्द्र शाहसँगै उनीसमेत सोधपुछको घेरामा पुगेका थिए ।

वंश परम्परा अन्त्य भई गणतन्त्र स्थापना भए पनि पारसको उदण्डता रोकिएको छैन । विसं २०६७ फागुन २८ मा चितवनको टाइगर टप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका बंगलादेशी ज्वाइँ रुबेल चौधरीसँग झगडा भएको थियो । घटनामा उनले रुवेलमाथि गोली चलाएका थिए । गोली चलाएपछि पोखराको फूलबारी रिसोर्टमा आएर बसेका उनलाई प्रहरीले होटलबाट नियन्त्रणमा लिएर हेलिकप्टरमा चितवन लगेको थियो । उनीमाथि सार्वजनिक अपराध अभियोग लागेको थियो । तर ‘आइन्दा यस्तो नगर्ने’ सर्तमा उनलाई रिहा गरिएको थियो ।

वि.सं २०६८ जेठमा उनले आफ्नै ज्वाइँलाई कुटपिट गरेको कुरा बाहिरिएको थियो । पारसले बहिनीसँगको सम्बन्धलाई लिएर ज्वाइँ राजबहादुर सिंहलाई कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । त्यतिमात्र नभई बैंककमा रहँदा उनले आफू असुरक्षित रहेको भन्दै त्यहाँको नेपाली दूतावासमा निवेदनसमेत दिएका थिए ।

विदेशमा पनि विवादमा !

वि.सं २०६६ भदौमा उनी जाली भारतीय रुपैयाँको कारोबारमा जोडिए । भारत मध्यप्रदेशबाट नक्कली भारतीय रुपैयाँसहित नेपाली नागरिक अतिक मोहम्मद र भारतीय राजेश गुप्ता पक्राउ परेपछि भारतीय मिडियाले जाली भारतीय रुपैयाँको कारोबारमा पारसको नाम समेत जोडेका थिए ।

नेपालमा गरेको अपराधिक क्रियाकलाप र विभिन्न विवादका कारण बस्ने वातावरण नभएपछि ०६७ भदौ ११ मा सिंगापुर हुँदै थाइल्याण्ड पुगे । तर थाइल्याण्ड पुगेपछि उनको उदण्डता रोकिएन । उनी चारपटक लागूऔषधसहित पक्राउ परे । हृदयाघात भएर कोमामा पुगेपछि अस्पतालमा एक महिनाको उपचारपछि बाहिरिएर उनी नेपाल फर्किए ।

थाइल्याण्डमा थाई युवती कन्निका चाइसानसँगको सम्बन्धले समेत उनी विवादमा परे । पारस–कन्निका सम्बन्धको खुलासापछि नेपालमा रहेको परिवारसँगको उनको सम्बन्ध चिसिएको थियो । उनी नेपाल फर्किएपछि पनि कन्निकाले पछ्याउन छाडेकी थिइनन् । उनले सामाजिक सञ्जालमा दुवैको अन्तरंग तस्बिर सार्वजनिक गर्दै आएकी थिइन् ।

कारबाहीको दायरामा ल्याउनु पर्छ : पूर्व डिआइजी

पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी

पारसले गरेको दुर्व्यवहारलाई कानुनी कारबाहीमा नल्याउनु लज्जाको विषय भएको नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले मेरोन्युजलाई बताए । उनले पारसलाई कानुनी कारबाहीमा ल्याउनु पर्ने बताए ।

‘पारसको पछिल्ले शुक्रबारको घटना निन्दनीय छ । उनी पूर्व युवराज हुन् तर यस्ता घटनाहरु उनको पटकपटक आउने गरेका छन् । उनले अब सप्रिनु पर्ने हो । तर पनि उत्तिकै उदण्डता देखाइरहेका छन्, पारसमा एउटा दम्भ अझै देखिएको छ,’ पूर्व डिआइजी ठकुरीले मेरोन्यूजसँग भने, ‘प्रहरीलाई पारसले पटक पटक गरेको दुर्व्यवहारलाई नियाल्दा उनले प्रहरीलाई सामान्य ठान्दै आएको देखिन्छ । उनले प्रहरीलाई कुनै सम्मान नै दिँदैनन् । यो कुरालाई सुधार्नु पर्ने देखिन्छ । त्यसका लागि पारसलाई कानुनी कारबाहीको दायरमा ल्याएर मात्र सम्भव छ ।’


एकपछि अर्काे उदण्डतामा पूर्व युवराजको नाममा छोड्दै जाने हो भने अझै पनि पारसको अराजकता नरोकिने ठकुरी बताउँछन् । ‘पारशको हर्कत रोकिएको छैन । दोहोरिरहेको छ यदि प्रहरीले कारबाहीको दायरामा नल्याउने हो भने प्रहरीभित्र र सर्वसाधरणमा एउटा नकारात्मक प्रभाव पर्न जान्छ, जुन नागरिक हितमा छैन,’ पूर्व डिआइजी मल्ल भने ।

यसअगाडि २०६८ फागुन २८ को घटनामा उनलाई मुद्दा दायर गरिएको थियो र कारबाहीको प्रक्रियासमेत अगाडि बढाइएको थियो । तर, पछि उनलाई ‘आइन्द यस्तो नगर्ने’ सर्तमा छोडिएको थियो ।

पूर्व डिआइजी मल्ल ठकुरीले भने, ‘उनलाई कारबाही गरिएन भने फिल्डमा खटिने प्रहरीहरुका लागि लज्जाको कुरा हुन्छ, उनीहरु कुन मुख लिएर ड्युटिमा जाने ? यदि, कारबाहीको दायरामा ल्याइएन भने, प्रहरी संगठनले नै हेपाई प्रवृति सहनु पर्ने हुन्छ । र पूर्व युवराज पारशले पनि आफूलाई सम्हाल्नु आवश्यक छ । उनी पब्लिक फिगर भएकाले सर्वसाधारणले उनको सिको गर्न खोज्छ र प्रहरीप्रतिको दुर्व्यवहार बढ्न सक्छ । जुन प्रहरी संघठन र नागरिक दुवैको हितमा छैन ।’

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया