बिहीबार, वैशाख १३, २०८१

मुड चल्दा मात्र ब्रत बस्ने मञ्जु

नरेन्द्र रौले २०७८ साउन १६ गते १८:१८

तीज नजिकिँदै जाँदा लोक गायिका मञ्जु पौडेलको व्यस्तता बढ्थ्यो । दर्शक तथा श्रोताहरूका लागि नयाँ सांगितिक कोसेली पस्किने उनको बानी छुट्दैनथ्यो । सांगितिक कार्यक्रमका सिलसिलामा स्वदेशभन्दा विदेशमा उनको समय बित्थ्यो । नेपालमा राम्ररी तीज मनाउन पाएका थिएनन् ।

कोरोना महामारी सुरु हुनुअगाडि मञ्जुले जापान, कतार, भारतलगायत अन्य देशमा तीज मनाइन् । तीजको बेला परदेशमा रहँदा उनलाइ खासै नरमाइलो भने लागेन । नेपालीको बाक्लो उपस्थितिबीच नाँच्न, गाउन र रमाउन पाउँदा उनलाई बेग्लै आनन्द मिल्थ्यो ।

यसपाली मञ्जुका दर्शक तथा श्रोताहरूले उनका पुरानै गीतमा चित्त बुझाउनु पर्ने छ । कोरोना महामारीले मञ्जुको सपनालाई बिथोलेको छ । यो वर्ष समय त्यति राम्रो छैन । अघिल्लो वर्ष भने उनले तीजैमा…. भन्ने गीत बजारमा ल्याएकी थिइन् ।

‘अहिले बिरामी आमाको उपचार र रेखदेख गर्नु पर्ने जिम्मेवारी छ, दर्शकलाई नयाँ कोसेली पस्किन समय मिलेन, त्यो खालको मुड बनेन, यस्तो माहोलमा मन भएन,’ उनले भनिन्, ‘तीजपछि दोहोरी र लोकगीत पस्किने सोचमा छु ।’

मुड चल्दा मात्र ब्रत बस्ने

मञ्जु आफू आफ्नै नजरमा ‘मुडी खालकी’ छिन् । उनी मुड चल्दा मात्र ब्रत बस्छिन् । भोकभोकै ब्रत बस्नुपर्छ भन्ने उनलाई लाग्दैन । ‘कर्म ग¥यो भने फल पाइहालिन्छ नि,’ उनले सुनाइन्, ‘ब्रत बसेर मात्र फल पाइने होइन ।’ गुल्मी तम्घासमा जन्मिएकी मञ्जुलाई जन्मथलो पुग्दा आनन्द लाग्छ । घरपरिवार, साथी संगीसँगको भेटघाट, जमघटले रमाइलो बनाउँछ ।

गुल्मीमा तिज भव्य रुपमा मनाइन्थ्यो । रातिराति लालटिन बालेर दौतरीसँगै हुल बाँधेर पल्लो गाउँहरु थुम्का, डँडालीसम्म पुगेको सम्झना उनलाई अझै ताजै छ । नाँच गान र रमाइलो गर्ने बेला चारैतिर मञ्जुको हाइहाई हुन्थ्यो ।

किनकि उनको परिवार, मामाघरको माहोल नै पूरै सांगितिक थियो । उनकी आमा भगवतीले गीत गाउँथिन् । त्यसैको प्रभाव मञ्जुमा पनि देखियो । अर्कोतिर उनले अध्ययन गरेको जनबोध उमाविका शिक्षक नारद गौतमले गीत गाउन, नाच्न लगाउँथे । यसरीमा उनमा आत्मबल बढ्दै गयो । जीवनमा उनको नर्स बन्ने सपना त पूरा भएन । तर, लोकगायिका बन्न भने सफल भइन् ।

मिडियातिर मञ्जुको यात्रा

मञ्जुले सुरुवातमा तिनाउ र बुटवल एफएममा कार्यक्रम प्रस्तोताका रुपमा अनुभव बटुलिन् । लोक दोहोरी र महिला विशेष कार्यक्रम चलाउँदा चलाउँदै उनी गायिका बनिन् । राजधानी फर्किएपछि माउन्टेन टिभी र नेपाल टेलिभिजनमा उनले अनुभव बटुलिन् । मिडियाकर्मीबाट उनको पहिचान विस्तारै फेरियो । उनी आफूलाइ स्टेज पर्फमर भन्न रुचाउँछिन् ।

मञ्जु गायनसँगै स्टेज कार्यक्रममा उत्तिकै जम्न सक्छिन् । सांगितिक महोत्सवका क्रममा मुलुकका ४० भन्दा बढी जिल्ला घुमेकी उनी झण्डै एक दर्जन मुलुक पुगिसकेकी छन् । उनले सूदुरपश्चिमलाई सुन्दर पश्चिम भन्न रुचाइन् । भाषा, संस्कृति, पर्यटन र विविधताका हिसाबले उनलाई त्यस क्षेत्रले आकर्षित ग¥यो । विदेशमा जापान र सिंगापुरले उनलाई तान्यो । जापानीहरु मिलनसार बानी, अरुको आदर गर्ने रहेछन् ।

मञ्जु कार्यक्रमअनुसार पहिरन लगाउन रुचाउँछिन् । उनी सारीमा आफूलाई सेक्सी महशुष गर्छिन् । गाउन, वान पिस, कुर्ता, सलवार, पाइन्ट, टिसर्ट लगाउँदा सहज महशुस हुन्छ । उनी औँठी लगाउन र संकलन गर्न सौखिन छिन् ।

स्टेज प्रोगामका लागि बाहिर रुपमा सुन्दर देखिनु अपरिहार्य जस्तै ठान्छिन्, उनी । ‘पहिलो नजर त बाहिरी आवरणमै जान्छ नि ।’ उनले भनिन् ।

सामाजिक सञ्जालमा सक्रियता

मञ्जुले फेसबुकको इन्फोमा लेखेकी छिन्, म कहिल्यै हार्दिन, कि जित्छु, कि सिक्छु । उनीसँग गफिने हरेकलाई महशुस हुन्छ, उनी सकारात्मक सोच राख्ने व्यक्ति हुन् । उनीमा निरासा छाएको कहिले आभास हुँदैन ।

उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । घुमफिर, साथीभाइ, परिवारसँगको भेटघाट फोटोहरु उनले नियमित अपलोड गर्छिन् । टिकटकमा ३५ हजारभन्दा बढीले उनलाई फलो गरेका छन् । फेसबुकमा उनलाई फलो गर्नेको संख्या ६६ हजार ७ सय ८८ पुगिसकेका छँ । २ लाख ५ हजारभन्दा धेरैले लाइक्स भएको फेसबुक पेजमा उनी त्यत्तिकै सक्रिय छिन् । दर्शक तथा श्रोतासँग जोडिन सामाजिक सञ्जालले निकै सहयोग गरेको छ । फुर्सदमा उनी सामाजिक सञ्जालमै रमाउँछिन् ।

प्रतिक्रिया