शुक्रबार, चैत १६, २०८०

कांग्रेसका तीन नेता एकैसाथ किन पुगे दिल्ली ?

दिल्ली पुगेर विमलेन्द्र निधी फर्किसकेका छन् भने एनपी साउँद र विनोद चौधरी दिल्लीमै छन्

मेरोन्यूज २०७८ साउन १६ गते १७:०१

काठमाडौँ । साउन १३ गते प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बसिरहेको थियो । पार्टीभित्रको क्रियाशिल सदस्यता छानबिन गर्न गठन गरिएको रमेश लेखक नेतृत्वको समितिले अघिल्लो दिन मात्रै कतिपय विवाद थाती राख्दै आफ्नो प्रतिवेदन सभापतिलाई बुझाएका थिए ।

अब प्रतिवेदनका विषयमा के गर्ने ? कसरी विवाद मिलाएर जाने ? जस्ता विषयमा छलफल गर्न त्यसै दिन दिउँसो सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आफ्नो निवास बुढानीलकण्ठमा बोलाएका थिए । तर सभापतिको उम्मेदवार उठ्ने घोषणा गरिसकेका र तयारीमा जुटिरहेका नेता विमलेन्द्र निधी बैठकमा देखिएनन् । उनी कांग्रेसका उपसभापति समेत हुन् । पार्टी उपसभापति र सभापतिका आकांक्षी उनी नदेखिएपछि बैठकमा नेताहरुका बीचमा कानेखुसी चल्यो । ‘निधी जी कता जानुभएछ आज, देखिनु भएन नि !’ वरिष्ठ नेता रामचन्द्र पौडेलले मुख खोले ।

‘खोई उहाँ कता दिल्लीतिर जाने कुरा गर्दै हुनु हुन्थ्यो, उत्तै लाग्नुभयो होला,’ देउवाले छोटोमा यत्ति बोले ।

Advertisement

एकातिर पार्टीको महाधिवेशनको तयारी बैठकहरु छन् । अर्काेतिर सभापतिमा उम्मेदवारी दिने बताइरहेका निधी अचानक दिल्ली नै किन पुगे ? नेताहरुबीचमा मुखामुख मात्रै भयो । तर, थप कसैले केही सोधीखोजी गरेनन् । सोध्दा पनि सोधेनन् । तर, मनमा कौतुहलता भने भए ।

फेरि त्यहीबेला भारतमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन भ्रमणमा आएका थिए । भारत आएसँगै उनले प्रधानमन्त्री देउवासँग टेलिफोन सम्वाद गरेका थिए । सम्वादमा नेपाल-अमेरिका साझेदारीको महत्त्वमा जोड दिँदै अमेरिकाले हालै नेपाललाई दिएको १५ लाख भ्याक्सिन र अन्य कोभिड सहायता, जलवायु परिवर्तनलगायत विषयमा ब्लिन्केन र देउवाबीच कुराकानी भएको समाचार सार्वजनिक भएका थिए ।

यता सत्ता गठबन्धन दलभित्रै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अब सरकारले के गर्ला ? भन्ने भित्री बहस शुरु भइसकेको थियो । सत्ता गठबन्धन दलमै एमसिसी पारित गराउने गरी प्रधानमन्त्री लविङमा लागिरहेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसिसी जस्ताको तस्तै संशोधनबिना पारित हुन नसक्ने अडानमै छन् । त्यहीबेला निधीको दिल्ली भ्रमण हुनुलाई कतै केही भित्री तयारी भ्रमण हो की ? भन्ने आशंकाले हेरिन थालिएको छ ।

तर, निधीको परिवारले भने उनको सुसुरालीका एक आफन्तको निधनकाले भारत पुगेको प्रतिक्रिया दिएको छ । निधीको सुसराली कोलकत्तामा छ । सुसराली परिवार भारतको कोलकत्तामा बस्दै आएका छन् । त्यही भएर उनी दिल्ली हुँदै कोलकताका लागि गएको कांग्रेस नेताहरु बताउँछन् । यद्यपि, निधी शुक्रबार साँझ मात्रै काठमाडौं आइपुगेका छन् ।

निधी मात्र होइन, देउवाका अर्का भित्रिया नेता एनपी साउँद यतिबेला दिल्लीमा छन् । देउवाले उनलाई प्रधानमन्त्री भएपछि आफ्नो प्रमुख राजनीतिक सल्लाहकारका रुपमा नियुक्त गर्न खोजेका थिए । तर, उनले आफू चुनाव केन्द्रीत हुने र बालुवाटारको घेराभित्रै नअल्झिने भन्दै चुनावी वातावरण निर्माण गरिदिन देउवालाई आग्रह गरिरहेका थिए ।

सूदुरपश्चिमकै नेता भएकाले साउँदलाई देउवाले आफ्नो पहिलो रोजाईमा प्रमुख राजनीतिक सल्लाहकार बनाउन चाहेका थिए । साउँदकै रुची नभएपछि अब यसमा लेखक, प्रकाशशरण महतदेखि महामन्त्री पूर्णबहादुर खड्कासम्मकै चर्चा चलेको छ । योबेला साउँद करिब साता दिनदेखि दिल्लीका विभिन्न स्थानमा पुगिरहेका छन् ।

उनी के कति कारणले दिल्लीमा छन् ? भन्ने खुलेको छैन । उनी निकट नेता र पारिवारिक सुत्रका अनुसार उनी धार्मिक भ्रमणका लागि दिल्लीमा रहेको बताइरहेका छन् । साउँद परिवार धार्मिक स्वभावको परिवार भएकाले धार्मिक मठमन्दिरमा पुजापाठका लागि दिल्ली पुगेको निकट सुत्रहरु बताउँछन् ।

अर्का नेता कांग्रेस सांसद तथा उद्यमी विनोद चौधरी पनि दिल्ली पुगेका छन् । शुक्रबार पौने ४ बजे एयर इण्डियाको जाहाजबाट चौधरी दिल्ली पुगेका हुन् । त्यही जहाजमा भारतीय राजदूत विनयमोहन क्वात्रा दिल्ली गएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खास सम्बन्ध रहेको बताइएका चौधरी देउवा नेतृत्वको सरकारमा मन्त्रीको समेत लविङमा थिए ।

मन्त्रिपरिषद् विस्तारको लागि सत्ता गठबन्धन दलको बैठक चलिरहेका बेला र मन्त्रीका आकांक्षीले पार्टीका शीर्ष नेतामाथि दबाब बढाइरहेका बेला उद्योगपति चौधरी भारतीय राजदूतसँगै किन दिल्ली पुगे ? प्रश्न उठेको छ । उनको र राजदूत क्वात्राको भारत जाने समय पूर्व निर्धारित व्यवस्थापन हो वा संयोग ? त्यो खुलेको छैन । तर, जे होस सरकारको नेतृत्व गरिरहेका कांग्रेसका तीन नेताहरू एकपछि अर्को भ्रमण भन्दै दिल्ली पुग्नु अर्थपूर्ण रहेको छ ।

प्रतिक्रिया