शनिबार, वैशाख ८, २०८१

‘विश्वभर चम्किएका ब्राण्डेड जुत्तामा गोल्डस्टार थप्ने योजनामा छौँ’

मेरोन्यूज २०७८ साउन १६ गते १६:१९

हात्ती बलियो कि हात्ती छाप चम्पल ? उस्तै उस्तै हो नानू ! धेरै वर्षअघि सर्वसाधारणको मुखमा झुण्डिरहने स्लोगनमध्येको एउटा थियो ।अधिकांशको रोजाई पनि त्यही हात्ती छाप चम्पल नै हुन्थ्यो । अहिले त्यही चप्पल उकासिदै सुपर ब्राण्ड ‘गोल्डस्टार’ बनेको छ । बालबालिका, युवा, वयस्क र वृद्धले ‘गोल्डस्टार’ प्रयोग गर्ने गरेका छन् ।

प्रतिस्पर्धाको युगमा नेपाली ब्राण्डका अन्य जुक्ता, चप्पल नभएका होइनन् । अझ अडिडास, नाइक, फिला, कप्पालगायत विभिन्न २३ ब्राण्डका कम्पनीले विश्वभर तहल्का मच्चाएका छन् । चर्चित भएका छन् । २३ मा १ थपेर विश्वका चर्चित ब्राण्डमा ‘गोल्डस्टार’लाई चम्काउन कम्मर कसेकी छिन्, गोल्डस्टारकी डाइरेक्टर अफ ब्राण्डिङ एण्ड मार्केटिङ विदुषी राणा । राणासँग ‘गोल्डस्टार’ ब्राण्डको सुरुआतदेखि अहिलेसम्म र आगामी योजनाबारे मेरोन्युजका किरण अधिकारीले गरेको कुराकानी :


‘गोल्डस्टार’ ब्राण्डलाई कसरी चिन्ने ?

‘गोल्डस्टार’ पहिलोपटक हेटौँडामा ९ महिना लगाएर खोलिएको चप्पल कारखाना हो । जुन अहिले ‘गोल्डस्टार’ ब्राण्डका रुपमा नेपाल, भारतलगायत कतिपय देशमा चिनिएको छ । २०४० सालमा थाइल्याण्डबाट मेसिन ल्याएर चप्पल उत्पादन सुरु गर्ने काम ससुरा बा नुरप्रताप राणाका लागि सजिलो थिएन । मेसिन ल्याउनदेखि कारखाना खोल्ने अनुमति लिन र कामदार खोज्नदेखि बजार प्रबर्द्धनसम्मका काम गर्दा बुबाले निकै हण्डर ब्यहोर्नु परेको थियो । उहाँले पछिसम्म पनि त्यसको चर्चा गरिरहनुहुन्थ्यो र हामीले थाहा पायौँ ।

नेपालका सहरदेखि गाउँसम्म चप्पल भन्नु नै हात्ती छाप चप्पल हो भन्ने आम बुझाई थियो । यही सफलताबाट हौसिएर बुबा चप्पलसँगै जुत्तातिर लाग्नु भयो । बुबाले हात्ती छाप चप्पलसँगै जुत्ता उत्पादन गर्ने मेसिन भित्र्याउनु भयो र ‘गोल्डस्टार’ ब्राण्डसम्म ल्याइपुर्‍याउन निकै दु:ख गर्नु भयो । उहाँले सबैलाई चिनिने बनाउनु भयो ।


सस्तो र बलियो भएकाले गोल्डस्टार जुत्ता लोकप्रिय भएको छ । समयानुसार लागतसँगै कर्मचारीलाई दिने सेवा, सुविधालाई हेर्दै जुत्ता केही महंगो हुँदै गएको छ । तर, सबै क्षेत्रका व्यक्तिलाई लक्षित गर्दै बलियो कम मूल्यदेखि अहिलेका युवाले छान्न सक्ने महंगो, स्पोर्टससँगै लेदर सुज उत्पादनमा पुगेका छौँ । यो सबै ससुरा बाको योगदानले हामीले अघि बढाउने कोशिस गरिरहेका हौँ ।

उहाँले त्यति बेला जुन हण्डर खानु भयो, भोग्नु भयो, त्यही संघर्षमा खारिएर हामी यहाँसम्म आइपुगेका हौँ । बुबाको मिहिनेतले हामीलाई केही गर्नुपर्छ भन्ने बाटोमा लगाएको छ । देशभरमा गोल्डस्टारका ५९ वटा स्टोर छन् । अस्ट्रेलियाको सिड्नीमा छ । भारत, बहराइन र मलेसियामा गोल्डस्टार पुगिसकेको छ । गोल्डस्टारले विदेश पठाउने जुत्ताको गुणस्तर परीक्षण लगायत काम थालेको छ । प्राविधिकमा सक्षम छौँ । गोल्डस्टारसँग चालिस वर्षको अनुभव छ । जनशक्ति छ। विश्वभर बिक्री हुने जुत्ता बनाउन सकिन्छ भनेर काम गरिरहेका छौँ ।

बुबा अहिले नभए पनि उहाँको दु:खको कुरा सम्झदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रन खोजिरहेका छौँ ।

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कसरी बुझौं ?


यसका दुई वटा कुरा छन् । पहिलो- विश्वभर रहेका नेपालीले नेपाली उत्पादन प्रयोगमा ल्याउनु पर्‍यो । गोल्डस्टार जुत्ता सबैले लगाऔँ । विश्वमा रहेका नेपालीले नेपालको परिचय दिँदा नेपाली उत्पादन प्रयोगमा ल्याए विश्वभरमा परिचय हुन्छ । गोल्डस्टारलाई विश्वरभरमा रहेका नेपालीले प्रयोग गर्नुका साथै विश्वभर चर्चित अडिडास, नाइकजस्तै सबैले छान्ने सुज लिष्टमा राख्ने लक्ष्य रहेकाले विभिन्न मार्केटिङ, ब्राण्डका उद्देश्य लिएर लागेका छौँ ।


अबको केही वर्षमा अमेरिका, युके, अष्ट्रेलियालगायत विश्वका जुनसुकै देशमा जाँदा सुज सपमा नेपाली ‘गोल्डस्टार’ देखिने छ । किनबेच हुनेछ । अहिले नेपालमा मात्र नभई गोल्डस्टारले भारतको बिहार र उत्तरप्रदेश तथा अन्य केही देशमा समेत ख्याती पाएको छ । यसैलाई अन्तर्राष्ट्रियकरणमा लान लागेका छौंँ । मेरी २१ वर्षकी छोरी र १६ वर्षको छोरा विदेशमा अध्ययनरत छन् । उनीहरुलाई नेपाली उत्पादन प्रयोगमा ल्याउन सिकाइरहेकी छु । विदेशमा अध्ययन गरी नेपालमै केही गर्ने मार्गदर्शन गरेकाले उनीहरू नेपाल आएर ‘गोल्डस्टार’लाई विश्वमा लान नयाँ योजना बनाउन सक्छन् ।

माओवादीले बढी प्रयोग गरेकै कारण गोल्डस्टार जुत्तामाथि माओवादी जुत्ताको ट्याग लाग्यो । सुरक्षाकर्मीले गोल्डस्टार जुत्ता बिक्रीमा कडिकडाउ गर्न थाले ।


मेरो अध्ययनबाट आएको तथ्य गोल्डस्टारलाई टर्निङ प्वाइन्ट बनाएर अघि बढेको छु । गोल्डस्टार नाम थाहा छ ? भनेर सोध्दा सबैले छ भन्ने जवाफ दिए पनि गोल्डस्टार बुवा, हजुरबुवाले लगाउने जुत्ता हो भन्ने प्रविधि युवा पुस्ताका लागि हुनु पर्छ भनेर युवाको रोजाईमा पार्न लागेका छौँ । तपाईको न्युज पोर्टल मेरोन्युज डटकमजस्तै अन्य मिडियाले पनि गोल्डस्टारलाई साथ दिए । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अगाडि बढ्न सजिलो हुन्छ ।

गोल्डस्टारका चुनौती के छन् ?


समयानुसार चुनौती परिवर्तन हुँदै जान्छन् । २ वर्षको कोरोनाले पारेको निषेधाज्ञासँगै कम्पनी बन्द हुँदा कर्मचारीलाई निरन्तर सेवा सुविधा उपलब्ध गराउने उत्तरदायित्वले मारमा पारेकै हो । अझै तेश्रो चरणको कोरोना आउने लक्षणले झनै मारमा पार्ने छ ।

भूकम्पसँगै अधिकांश सबै गाउँ फर्किए । लगत्तै नाकाबन्दी भयो । हामीले कच्चा पदार्थ ल्याउन सकेनौँ । अहिले पो कच्चा पदार्थ नेपालमै उत्पादन गर्दै छौँ । भारतमा उत्पादन निर्यात गर्न नसक्ने भएपछि उत्पादन कटौती गर्नु पर्‍यो । यो पनि चुनौती हो । त्यसपछि गोल्डस्टारका लागि भारत निर्यात सहज भएन । भारतीय रकम एक हजार र पाँच सय नोट नचल्ने घोषणा सरकारले गरेपछि लामो समय नोटबन्दीको असर पर्‍यो । जसले गोल्डस्टारलाई अघि बढ्न चुनौती दियो ।


उत्पादन भएका जुत्ता चप्पल बिक्री हुँदैनन् । सर्वसाधारणले जुत्ता, चप्पल किन्न गाह्रो हुन्छ । रकम सहज सबैसँग हुँदैन । लकडाउनको बेला समाजमा सामाजिक उत्तरदायित्वको लागि केही स्थान, समूह, व्यक्तिलाई गोल्डस्टारले सहयोग गरेको छ । सहयोग सिमित समय, सिमित स्थानमा मात्र हुने भएकाले नपाउनेलाई मार हुन्छ । यो पनि चुनौती हो ।


कुनै पनि सफलता एकै नासको हुँदैन । हाम्रोमा माओवादी द्वन्द्वका बेला ठूलो चुनौती आयो । मुख्य कुरा सस्तो र बलियो भएकाले गोल्डस्टार माओवादी द्वन्द्वमा माग अझ बढ्यो । बलियो र टिकाउ भएकाले विकट पहाडी बाटोमा उकाली–ओराली गर्न माओवादीले गोल्डस्टार नै प्रयोग गर्न थाले ।


माओवादी द्वन्द्वले सुज बजार त बढ्यो । तर, यसको छवि धुमलियो, सरकारले गर्दा । माओवादीले बम बनाउने त्रासमा सरकारले काठमाडौ बाहिर प्रेसर कुकर बेच्न प्रतिबन्ध लगाएजस्तै माओवादीले बढी प्रयोग गरेकै कारण गोल्डस्टार जुत्तामाथि माओवादी जुत्ताको ट्याग लाग्यो । सुरक्षाकर्मीले गोल्डस्टार जुत्ता बिक्रीमा कडिकडाउ गर्न थाले । यो एउटा चुनौती थियो ।


यसले जुत्ताको व्यापार खस्किँदै गयो । र, कम्पनी करिब बन्द हुने स्थितिमा पुग्यो । मेरा श्रीमानले मन्त्रीदेखि सेना र प्रहरीकालाई भेटेर यो माओवादीको जुत्ता होइन । उनीहरुले सस्तो र बलियो भएकाले मात्र प्रयोग गरेका हुन् भन्दै सम्झाउनु हुन्थ्यो । केही माओवादीले लगाए भनेर सरकारले सम्पूर्ण सर्वसाधारणलाई गोल्डस्टार सुज बेच्न, लाउन रोक लगायो । गोल्डस्टारको लोकप्रियता चुलिँदै गएपछि बजारमा उस्तै देखिने नक्कली जुत्ता छ्यापछ्याप्ती आउन थाले । यो अर्को चुनौती हो ।


समयअनुसार देखा परेका चुनौतीको सामना गर्दै कसरी अगाडि बढ्ला ?


चुनौतीको समाधानका लागि सरकारले नेपाली उत्पादनलाई प्राथमिकतामा राख्नु पर्छ । सरकारले उत्पादनमा जोड दिए । नेपाली वस्तुको प्रयोगसँगै अन्तर्राष्ट्रियस्तरमा पुग्छ । गोल्डस्टार जुत्ता जस्तै नेपाली उत्पादन सुजलाई सरकारी कार्यालयमा अनिवार्य गर्नु पर्छ । अनिमात्र सबैको घरमा नेपाली जुत्ता पुग्छ ।


सरकारले नीतिमै नेपाली जुत्ताको प्रयोग गरौँ भन्ने हुनुपर्छ । धेरै जुत्ता भित्रिएका छन् । धेरै महंगा जुत्ता ट्याक्स र भ्याट नतिरेर, लुकाएर ठगेर नेपाल भित्रिएका छन् । चाइना, भारतबाट लुकाएर आउने जुत्ता चप्पललाई सरकारले कडाई गर्नु पर्‍यो । गार्मेन्ट र जुत्ता कारखानामा धेरै जनाले काम पाउँछन् । रोजगार धेरै दिने कम्पनीलाई बचाउँन, बाहिरबाट लुकाएर आउनेलाई कडाई । सरकारले सरकारी निकायमा अनिवार्य नेपाली उत्पादन प्रयोग गर्नु पर्छ । ठूला कारखाना खोल्दा, ऋण, जमिन कारखानाका सामाग्रीमा सहजता ल्याए चुनौती हट्छ ।


अबको यात्रा ?


अघि मैले भनेजस्तो प्रतिस्पर्धामा उत्रेका छौँ । विदेशमा पुग्ने । अहिले धेरै र म्याटेरियल नेपालमै बनाउँछौँ । धागो पनि यही बनाउँछौँ । कपडा पनि नेपालकै प्रयोग गर्छौं । तर, धेरै वस्तु अझै विदेशबाट ल्याउनु पर्ने भएकाले सानादेखि ठूला सबै वस्तुको नेपालमै उत्पादन गर्ने यात्रामा लागेका छौँ ।

जुत्ता बनाउने मेसिन आएपछि केही पनि विदेशबाट नल्याउने यात्रामा रहेकाले गोल्डस्टार जुत्ताका सामाग्री सबै नेपाली ब्राण्ड नै हो भनेर विदेशमा पठाउने यात्रामा छौँ । सबैको साथ पाए अगाडि बढिन्छ नि ।

भिडियोमा हेर्नुहोस्:-

प्रतिक्रिया