शनिबार, वैशाख १५, २०८१

पार्टीको अस्तित्व जोगाउँन पनि कांग्रेसले महाधिवेशनमा अब, दायाँबायाँ गर्नु हुँदैन

मेरोन्यूज २०७८ साउन १४ गते १७:५९

कांग्रेसको १४ औँ महाधिवेशन आउँन अब ३४ दिन मात्र बाँकी छ । महाधिवेशन केन्द्रित महिला नेतृहरुले नेतृत्वमा आउँन भेटघाट र छलफल पनि बाक्लो बनाएका छन् । अर्कोतिर महिला नेतृृहरुलाई माथी आउन कुनै न कुनै पुरुष नेताहरुको साथ, गुटको साथ अनिवार्य चाहिने र चाकडी नै गर्नुपर्ने अवस्था अहिले पनि विधमान छ भन्ने आरोप लाग्ने गर्छ ।

किन महिलाहरु आफ्नो योग्यता र क्षमता देखाएर नेतृत्वमा आउन सक्दैनन् र ? अबको महाधिवेशनमा महिला नेतृत्वमा आउँन कस्ता छन् चुनौति र अप्ठ्यारा ? यिनै विषयमा केन्द्रीत रहेर कांग्रेस महासमिति सदस्य तथा मकवानपुर पार्टी सल्लाहकार नेतृ उमा दाहालसँग मेरोन्युजकी सञ्जिता खनालले गरेको कुराकानीको सम्पादित अंश :-

कांग्रेसको १४ औँ महाधिवेनमा तपाई पनि उम्मेदवार हो ? हो भने के मा उम्मेदवारी दिँदै हुनुहुन्छ ?

निश्चय पनि म महाधिवेशनमा उम्मेद्दवार हुँ । अबको महाधिवेशनमा म केन्द्रिय सदस्यको उम्मेदवार हुँ । त्यसैको तयारीका लागि अहिले छलफल र भेटघाटमा लागि रहेकी छु ।


तोकिएको मितिमा महाधिवेशन हुन्छ त ?

साउन १२ को वडा महाधिवेशनको मिति गुज्रिएको अवस्था छ । पालिकाको पनि अव के हुने ? प्रश्न स्वभाविक रुपमा उठेको छ । तर वडा अधिवेशनले केन्द्रिय अधिवेशनमा असर गदैन् । कुनै एक दिन मिति तोेकेर गरेमा देशैभरको वडाको अधिवेशन सकिन्छ । नगर र जिल्लामा धेरै मानिसहरु भेला हुने हुदाँ त्यसको तालिका अनुसार भएन् । तर केन्द्रीय महाधिवेशन कांग्रेसले निर्धारित मितिमा नगरी सुर्खे छैन । पार्टीको अस्तित्व जोगाउँन पनि कांग्रेसले महाधिवेशनमा अव दायाँबायाँ गर्नु हुँदैन ।


वडा अधिवेशन तोकिएको मितिमा नहुदाँ केन्द्रिय महाधिवेशन पनि नहुने हो कि भन्ने आशंका देखिन्छ, तर तपाई निर्धारित मितिमै हुने बताईरहनु भएको छ, विश्वस्त हुन सकिएला र ?

तोकिएको वडा अधिवेशन नहुदाँ केन्द्रिय महाधिवेन सर्छ भनेर आशंका गर्नु स्वभाविक छ । तर, कांग्रेसको विधान अनुसार चार वर्षमा महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । संवैधानिक व्यवस्था ५ वर्षको थियो । अघिल्लो महाधिवेशनमा विधान संशोधन गर्दा कुनै महामारी वा प्राकृतिक विपद आएमा थप ६ महिना समय थप्न पाउँने व्यवस्था गरेको थियो । अहिलेको महाधिवेशनका लागि पनि ६ महिना थप गरिसकेको छ । अब थपेको समय भदौं १९ गतेबाट सकिदैछ । त्यस कारण पार्टीको अस्तित्व जोगाउँन पनि भदौँ १९ सम्ममा महाधिवेशन गर्नुपर्ने बाध्यता नै छ ।


अहिलेको कोरोना संक्रमणको दर पनि बढ्दो छ, यस्तो अवस्थामा कसरी सम्भव होला त महाधिवेशन, अर्को चर्चा अनलाइन भोटिङको माध्यमबाट गरौँ भन्ने कांग्रेसभित्र छलफल चलेको छ भनिन्छ, यसरी पो हुन्छ की ?


नयाँ पुस्तालाई अनलाईन भोटिङ् सजिलो होला । तर पुरानो पुस्तालाई यो गाह्रो नै छ । सबैलाई अनलाईन भोटिङ प्रणालीमा विश्वास नहुन पनि सक्छ । यसमा मत विभाजनको समस्या पनि देखिन सक्छ । हामीले पहिला जसरी भोटिङ गरेका थियौँ । सोही अनुसार जाँदा पनि आवश्यक जनस्वास्थ्यको मापदण्ड मास्क , सामाजिक दुरी र स्यानटाईजरको प्रयोग गरेर जान सक्छौँ नि । अर्को महाधिवेशन प्रतिनिधिहरु धेरैले खोप लगाउँनु भएको हुन्छ । भिडभाड नहुने खुल्ला स्थानमा छोटा–छोटा लाइनको व्यवस्था गरेर गर्न सकिन्छ । पार्टी जोगाउँनलाई भदौँ १६ मै महाधिवेशन गनै पर्छ ।


कांग्रेसमा कार्यकारीणी पदमा महिला नेतृत्व आउँने सम्भावना कतिको छ ?

कांग्रेसमा महिला नेतृत्व तहमा कम महिला पुगेका छन् । अहिले पार्टीको केन्द्रिय पदाधिकारीमा सह-महामन्त्रीको आरक्षण कोटामा मात्र महिलाले प्रतिस्पधा गर्ने आट गरेका छन् । अरुमा उम्मेदवारी दिने भनेको सुनिदैन् । २०५२ सालको महाधिवेशनमा शैलजा आचार्य दिदीसहित म गरेर महासमिति सदस्यमा जम्मा ९ जना थियौँ । अहिले सयौंको संख्यामा महासमिति सदस्यमा महिलन आउने वातावरण निर्माण भएको छ । आएका पनि छन् । २०५२ सालमा आरक्षण थिएन् । अहिले त आरक्षणको पनि ब्यवस्था छ ।


त्यसो भए महिला नेतृहरु आरक्षणमै सिमित हुन खोजेका हुन् त ?

त्यस्तो पनि होइन् । आरक्षणको लोभी र भोको दुबै म चँही छैन् । आरक्षणले महिलालाई मात्र हैन्, हरेक क्षेत्रलाई कमजोर बनाउँछ । जातजाति भन्दा पनि वर्गका हिसाबले धनी र गरिब छुट्याएर आरक्षणको व्यवस्था गरौँ । आरक्षणलाई एउटा सिढि भनिएको छ । यदि सक्षम समाजको निर्माण गर्न हरेक स्थानमा प्रतिस्पर्धा नै हुनुपर्छ । चाहे जुनसुकै स्थानमा किन नहोस् । देशलाई दरो बनाउँने हो भने । आरक्षणलाई हत्तोसाहित गर्नुपर्छ ।


महिला नेतृत्वमा आउँदा पार्टी अझ गतिशिल हुन्छ भन्ने हो ?


महिलाहरु देशमा नेतृत्वमा आए भने भ्रष्टचारहरु कम हुन्छ । जुन जुन देशमा महिलाहरु अगाडी आएका छन् त्यहाँ भ्रष्टचार कम भएको तथ्यांकले नै देखाँउछ ।


अर्को कांग्रेसमा महिलाहरु क्रियाशील कम छन् । प्रतिनिधि आउँदा आरक्षण बाहेकका अन्य स्थानमा आउँने महिला कम छन् । भोटिङ गर्ने भोटरले पनि महिला छुट्याएकोमा मात्र भोटिङ गर्नु पर्छ भन्ने धारणा रहेको देखिन्छ । त्यो गलत छ ।


कांग्रेसका महिला नेतृहरुलाई नेतृत्व् तहमा आउनकै लागि पनि पार्टीका बरिष्ठ पुरुष नेताको चाकडी गर्ने पर्ने, या गुटको फेरो समाउनै पर्ने अवस्था विधमान छ भन्ने आरोप लाग्ने गरेको छ, के अवस्था त्यस्तै हो ?

चाकडी मन पराउँने मान्छेहरुको मानविय स्वभाव पनि हो । तर यस्ता समस्या विस्तारै हट्दै जान्छ । काम मात्र गरेर अगाडी बढ्न सकिदैन् भनेर नेतृत्व वर्गले तयार गरिदिएको छ । कतिपय काम गरिरहका छन् अवसर नपाएका पनि छन् । अर्को हाम्रोमा चलि आएको प्रवृति के देखिएको छ भने कांग्रेसमा मात्र हैन की जहाँ पनि, नेताहरुले नदिए पाईदैन् भन्ने छ । संगठित भएर काम गरेकाहरु पर्टीमा पछाडी भएकै देखिन्छ । सांगठनिक काम गरिरहेका व्यक्तिले नेताको घरमा दिनका दिन धाईरहन त सक्दैन ।


काम गर्नुपरो, त्यो व्यक्ति नेताकोमा चाकडी गर्न जान सकेन् । जसले पछाडी परेको देखिन्छ । तर अहिले महिलाहरु यस्ता चाकडी गर्ने कुरामा सचेत हुनु थाल्नुभएको छ । पुरुषहरु पनि मागेर खाने चलनको अन्त्य गर्नुपर्छ भन्नेमा आउन थाल्नुभएको छ । यो सकारात्मक पक्ष हो । यो महाधिवेशनमा यो नेताले मलाई उनको टिममा परेर नेतृत्व लिन्छु भन्नुभन्दा हामी नै किन नजुट्ने भनेर छलफल कांग्रेसका महिलाहरुका वीचमा शुरु भएको देखिन्छ । यो सकारात्मक पाटो हो । नयाँ नेतृत्वहरु आउँदैछन् । अबको नेतृत्वमा आउँन पहिलाको भन्दा सहज पनि हुन्छ ।

अब कांग्रेस कस्तो हुनुपर्छ ?

अहिले जनतासँग कांग्रेसले लामो भाषण गरेर मात्र हुदैन् । जुन जनताले सुन्दा पनि सुन्दैन् । नयाँ पुस्तालाई लम्बेतान भाषणबाजी मात्रै सुनिरह्ने धैर्यता पनि छैन् । अहिलेको युुग भनेको आर्थिक विकासको युग हो । हामीले प्रचार गरेनौँ होला, अर्को प्रचारप्रसार नै गर्नुपर्छ भन्ने पनि छैन् । जब देश अप्ठेरोमा पुग्छ, त्यसपछि त्यसको संकट निवारणका लागि पनि सत्तामा कांग्रेस पुगेको छ । त्यो समयमा जनतालाई राहत नै दिएको छ ।

५ वर्ष प्रतिपक्षको म्यान्डेट पाएको कांग्रेस साढे ३ वर्षमै सतामा पुगेको छ, अब कांग्रेसले कस्तो भुमिका निर्वाह गर्नुपर्छ ?

कांग्रेस प्रतिपक्षमै बस्नु्पर्छ भन्ने म्यान्डेट पाएको थियो । दुई तिहाइको केपी ओलीको सरकार अल्पमतमा परेपछि साढे तीन वर्षमा अन्य राजनीतिक शक्तिहरुको पनि साथ, सहयोग र गठबन्धनबाट कांग्रेस सत्तामा पुग्यो । अबको डेढ वर्ष कांग्रेसको सरकारले कोरोना नियन्त्रणका लागि खोपको व्यवस्था गर्नुपछ । सबै जनताले सहजरुपमा खोप लगाउँन पाउने व्यवस्था गर्नु पर्छ । कांग्रेसले ठुला कार्यक्रम लिएर पनि गएको छैन् । किन भने कांग्रेस सोच्दै नसोची सतामा पुगेको छ । अव उसले सरकारमा पुगेर के गर्ने गम्भिर भएर सोच्नुपर्छ । कांग्रेसको अवको प्राथमिकता के हुन् ? त्यसमा पनि काग्रेसले सोच्न र घोत्लिन जरुरी छ ।


हामीले मानसिकता परिवर्तन गनै पर्छ । कांग्रेसको अवको काम भनेको आर्थिक क्रान्तिको एजेण्डा हुनुपर्छ । नेतृत्व तहले अलिकति देश प्रति जिम्मेबार भएर काम गरेमा अबको ५ वर्षमा हामीले आर्थिक क्रान्ति गर्न सक्छौं । जो नेतृत्व तहमा बसेका छन् । जब देश अप्ठेरोमा पुग्छ, सत्तामा कांग्रेस पुगेको छ । त्यो समयमा जनतालाई राहत नै दिएको छ । हामी नेपाली हिरामोती भएको देशको माग्ने भएका छौँं । यसवाट काग्रेसले मुलुकलाई समृद्दिको बाटोमा लैजान सक्नुपर्छ । त्यो जिम्मेवारी पनि कांग्रेसको काँधमा आएको छ ।

प्रतिक्रिया