शुक्रबार, वैशाख १४, २०८१

माओवादीद्वारा सांसद पदमुक्त भएका पूर्वमन्त्री सर्वोच्चमा, विहीबारका लागि पेसी तोकियो

मेरोन्यूज २०७८ साउन १३ गते १४:२७

काठमाडौं । नेकपा एमाले माओवादी खेमाका चार जना नेता सर्वोच्च अदालत पुगेका छन् । नेकपा माओवादी केन्द्रले सांसद पदबाट कारबाही गरेका चारजना पूर्वमन्त्रीले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्

। आज सर्वोच्च अदालतमा गएर माओवादीले गरेको कारबाहीका विरद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेको पूर्वमन्त्री तथा एमाले नेता लेखराज भट्टले बताएका छन् । गत चैत २६ मा माओवादी केन्द्रले माओवादी दल त्याग गरी एमालेमा लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको थियो ।

सोही पत्रका आधारमा संसद सचिवालयले उनीहरुलाई सांसद पदबाट मुक्त गरेको थियो । आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरुले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । रिटमा उनीहरुले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरण अनुसार आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहाली हुनुपर्ने माग गरेका छन् ।

रिट निवेदनमा माओवादी केन्द्रीय समितिले गर्नुपर्ने निर्णय गैरकानूनी तरिकाले अध्यक्ष प्रचण्डले मात्र गरेको र विधानले अध्यक्षलाई दिएको ५ वटा अधिकारमा प्रतिनिधिसभा सदस्यको पद खारेज गर्ने अधिकार नरहेको उल्लेख गरिएको छ । उनीहरुको रिटमाथि सर्वोच्च अदालतले विहीबार सुनुवाइ गर्न पेसी तोकेको छ ।

प्रतिक्रिया