बुधबार, वैशाख १२, २०८१

एफएनजे युके वर्ष पत्रकारिता पुरस्कारबाट पत्रकार खनाल सम्मानित

मेरोन्यूज २०७८ साउन १३ गते ८:३३

लण्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गरेको छ ।

पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेलले ५०२ पाउण्ड राशि, निवर्तमान अध्यक्ष नरेश खपाङ्गी मगरले सम्मानपत्र र वर्तमान अध्यक्ष ध्रुवराज अर्यालले खादा लगाई सम्मान गरे ।

खनालको हिमालखबर डटकममा विसं २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह’ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको अध्यक्ष अर्याल बताए । पत्रकारिता, वृत्तचित्र निर्माण र पुस्तक लेखनमा पनि सक्रिय खनालका तीनवटा पुस्तक प्रकाशित भइसकेका छन् ।

पुरस्कार ग्रहण गर्दै पत्रकार खनालले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययनका बेला र पत्रकारिता अभ्यासका क्रममा असल सम्पादकहरुसित काम गर्न पाएका कारण आफू अहिले यस स्थानमा आइपुग्न सक्षम भएको बताए ।

त्यस अवसरमा शाखाका निवर्तमान अध्यक्ष मगरले बेलायतमा रहेका नेपाली पत्रकारबाट खोजमूलक समाचार सामग्री लेखनमा प्रोत्साहन दिन पुरस्कार स्थापना गरिएको जानकारी दिए ।

शाखाले बेलायतमा कार्यरत नेपालीमूलका पत्रकारद्वारा सम्प्रेषित उत्कृष्ट समाचारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले यसै वर्षदेखि सो पुरस्कारको स्थापना गरेको हो ।

पुरस्कारको राशि एकल भए ५०२ पाउण्ड र दुई जनालाई भए जनही २५१ पाउण्ड साथै सम्मानपत्र राखिएको बताए ।

पुरस्कृत पत्रकार छनोटका लागि डा. कृष्ण अधिकारीको संयोजकत्वमा डा. प्रियवदा पौड्याल, खपाङ्गी मगर र डा. जगन कार्की रहेको छनोट समिति गठन गरिएको थियो ।

प्रतिक्रिया