शुक्रबार, वैशाख ७, २०८१

उद्योग परिसंघको उपाध्यक्षमा ७ जना मनोनित

मेरोन्यूज २०७८ साउन १३ गते ७:५९

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को उपाध्यक्षमा ७ जना मनोनित भएका छन् ।

नयाँ कार्यसमितिका लागि उपाध्यक्ष पदमा निर्वाण कुमार चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, बीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल र रोहित गुप्ता चयन भएका हुन् ।

धेरै जना उपाध्यक्षको लागि आकांक्षी भएपनि अन्ततः ७ जना परिसंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । परिसंघको वरिष्ठ उपाध्यक्ष वर्तमान उपाध्यक्षबाटै चुनिने छ ।

साउन ६ गते सम्पन्न परिसंघको १८औं वार्षिक साधारण सभाले विष्णुकुमार अग्रवाललाई अध्यक्ष चयन गरेको थियो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका उनी परिसंघको प्रावधान अनुसार अध्यक्षमा नियुक्त भएका हुन् ।

परिसंघका अध्यक्ष अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने बताउनुभयो। औद्योगिकरण विना मुलुकको दीगो विकास असंभव रहेको भन्दै उनले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

परिसंघका निवर्तमान् अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझाब नीति निर्माणका क्रममा लिन थालिएकोले चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे ।

उनले ह्विलिङ चार्ज तिरेर विद्युत उत्पादकबाट उद्योगले विद्युत खरिद गर्न सक्ने तथा ‘मेक इन नेपाल स्वदेशी – अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे । उनले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसाथ गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए ।

प्रतिक्रिया