मंगलबार, वैशाख ११, २०८१

उच्च अदालतद्वारा पूर्वसभामुख महरालाई सफाइ

मेरोन्यूज २०७८ साउन १२ गते १५:२५

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले उनलाई मंगलबार सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पनि उनलाई सफाइ दिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो । उच्च अदालत पाटनले त्यसको सदर गरिदिएको छ । २०७५ असोज १२ गते राति महराले रक्सी खाएर बलात्कार गर्ने प्रयास गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

शाहीको कोठामा देखिएको तथ्य र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले महराविरूद्ध जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएको थियो । पीडितलाई रक्सी खुवाएर अनुचित प्रभावमा पारेर महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको सरकारी वकिलको ठहर थियो ।

जिल्ला अदालत काठमाडौको फैसलामा चित्त नबुझाएर सरकारी वकिलको कार्यलयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । तर, अदालतले महरालाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

प्रतिक्रिया