शनिबार, वैशाख ८, २०८१

थेग्न सक्लान् देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाएपछिको दबाब ?

मेरोन्यूज २०७८ साउन १२ गते १४:२८

काठमाडौं । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी नेताहरु र गठबन्धन दलहरुसँगको छलफलबिना एकल निर्णयमा स्वास्थ्यराज्यमन्त्रीमा व्यापारी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि अहिले चर्को विरोध भइरहेको छ ।

विपक्षी दल र आम नागरिकबाट होइन, देउवा सभापति भएको नेपाली कांग्रेस, सत्तारुढ गठबन्धनका दलहरुले पनि श्रेष्ठलाई राज्यमन्त्री बनाएकोमा विरोध गरिरहेका छन् । देउवासँग निकट रहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले समेत सामाजिक सञ्जाल फेसबुकमै असन्तुष्टि जनाइसकेका छन् ।

निजी स्कुल, बैंक र हाइड्रो पावर व्यवसायी श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेपछि कांग्रेस नेता कार्यकर्ताले सामाजिक सञ्जालमा सभापतिले राम्रो नगरेको भनिरहेका छन् । नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि महामन्त्री डा. शशांक कोइराला र खड्कासहितका नेताहरुले राज्यमन्त्री बनाएकोमा असन्तुष्टि जनाएका हुन् ।

बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेता पौडेल र महामन्त्री खड्काले श्रेष्ठलाई राज्यमन्त्री बनाएको सबैतिर चर्को असन्तुष्टि देखिएको भन्दै निर्णयमा पुनःविचार गर्न आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए । ‘सरकारले केही निर्णय गरेकोमा बाहिर र पार्टीभित्रै चर्को असन्तुष्टि देखिएको छ भनेर सबै नेताहरुले भन्नुभयो,’बैठकमा सहभागी एक नेताले भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेलले र महामन्त्री पूर्णबहादुर खड्काले त राज्यमन्त्री नियुक्तिमा गलत भएको भन्नुभयो । अरुले भने असन्तुष्टि जनाएपछि के विषयमा भनेर तोक्नुभएन ।’

धेरै नेताहरुले देउवा प्रधानमन्त्री भएको अर्को दिन उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थिति हुनुले पनि नराम्रो सन्देश गरेको घुमाउरो पारामा भन्दै राज्यमन्त्री नियुक्तिले विरोधको स्वरलाई झन मजबुद बनाएको बताएका थिए । नेताहरुले अपरान्ह चार बजेसम्म बनाउदिन भने सभापतिले कसरी साँढे चार बजे मन्त्री सिफारिस गर्नुभयो र पाँच बजे शपथ गराउनु भयो भनेर पनि प्रश्न गरिरहेका छन् ।

‘सभापतिबाट एकलौटी भयो । उहाँलाई पार्टी चाहिएन । छलफलै नगरी एकलौटी रूपमा प्रधानमन्त्रीले मन्त्री सिफारिस हुनुस्,’ नेताहरूको भनाइ छ, ‘उहाँविरुद्ध हामी सबै एकजुट भयौँ भने के हुन्छ ?’ सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीले पनि राज्यमन्त्री नियुक्तिले राम्रो सन्देश नगएको सभापति देउवालाई बताएका छन् ।

अझ जसपाले त आफूहरुलाई दिन्छु भनेर स्वास्थ्यमा राज्यमन्त्री आफ्नो पार्टीबाट राखेको भन्दै असन्तुष्टि जनाएको छ । अध्यक्ष उपेन्द्र यादवले देउवालाई टेलिफोन गरेर असन्तुष्टि जनाएका बालुवाटार स्रोतले बतायो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले त आज प्रधानमन्त्री देउवालाई भेट्दा पनि राज्यमन्त्री नियुक्ति प्रशंगमा केही गल्ती भएको जस्तो आफूलाई भान भएको भन्दै छेड हानेका देउवाका एक सहयोगीले बताए ।

कांग्रेस महामन्त्री खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ’गण्डकी प्रदेश सरकार र संघीय सरकारको विस्तारमा पार्टीभित्र र बाहिरबाट आएका कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रूपमा समयमै पाठ सिकी यो ऐतिहासिक अवसरमा हामीले देश एवं आम नागरिकप्रतिको कर्तव्य पालना गर्न र आशा जागृत राख्‍न तत्काल सच्चिन र भविश्यमा कम्तिमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प समय छँदै गर्न जरुरी छ ।’

हामीबीचबाट जस-जसको कारणले यो कमजोरी भएको भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबैसँग म क्षमा याचना गर्दछु । सबै तिरबाट दबाब आएपछि के गर्ने भन्ने बारेमा देउवाले आफू निकटका नेताहरुसँग सल्लाह गरिरहका छन् । जसपालाई स्वास्थ्य मन्त्रालय दिने बचन दिइसकेकाले अब मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रालय परिवर्तन गर्ने तयारीमा देउवा रहेको पनि निकटस्थ स्रोतले बतायो ।

पत्नी आरजु राणा देउवाको दबाबमा राज्यमन्त्री नियुक्त गरिहालेको र पछि विरोध आउँदा किन गरिएछ भन्ने अवस्थामा देउवा पुगेको उनी निकट नेताहरु बताउँछन् । उनी निकट एक नेता भन्छन्, ‘पार्टीभित्रका धेरै साथीहरुले असन्तुष्टि जनाएपछि केही दिनमा परिवर्तन गर्ने तयारी गरिरहनु भएको छ ।’

प्रतिक्रिया