शुक्रबार, वैशाख ७, २०८१

एमाले एकता प्रयास

कति थेग्लान् माधव नेपालले आफ्नै समुहभित्रको ‘प्रेसर’ ?

केपी ओलीले माधव नेपालसामु दुई अध्यक्षको प्रस्ताव पठाएका छन् । तर नेपाल ओलीको प्रस्तावमा विश्वस्त बन्न सकिरहेका छैनन्

रामकृष्ण अधिकारी । काठमाडौं २०७८ साउन १२ गते १०:५१

‘अनन्तकालसम्म पार्टीभित्रको विवाद किन लम्बाइरहने ? पार्टीको आन्तरिक विवाद यसरी लम्बिरहँदा क्षति पार्टीलाई नै छ कमरेड ! अब विवाद टुंग्गाएर जाऔं । कार्यदलको १० बुँदे प्रस्तावमा धेरै कुरा हामीले उठाएका विषय सम्बोधन भएर आएको छ । त्यसमाथि सम्मानजनक एकताका लागि ‘पावर सेयरिङ’को प्रस्ताव आएकै छ, अनि अझ किन अल्झिरहने ? अब पार्टी विवाद मिलाएर जाऔँ !’

बुद्ध नगरको ‘क्वालिटी ब्याङ्केट’ मा सोमबार माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा भीम रावलले माधव नेपाललाई सम्झाउँदै थिए ।

गत साउन ७ गते बिहीबार बराबरी हैसियतको दुई अध्यक्षसहितको व्यवस्था गर्ने गरी एमाले विवादमा पावर सेयरिङको प्रस्ताव बोकेर उपमहासचिव विष्णु पौडेल र सुवास नेम्वाङ माधव नेपाल भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए ।

ओलीका तर्फबाट दूत बनेर पुगेका पौडेल र नेम्वाङले राखेको प्रस्तावमा माधव नेपालले खास थप प्रतिक्रिया दिएका थिएनन् । ‘साथीहरूसँग तपाईहरूको यस्तो प्रस्तावमा थप छलफल गर्छु’ भन्दै उनले नेम्वाङ र पौडेललाई निवासबाट बिदा गरेका थिए ।

त्यही दिन च्यासलको तुल्सीलाल स्मृति प्रतिष्ठानमा केपी ओलीले बोलाएको एमालेको केन्द्रीय कमिटीको समापन बैठक बस्दै थियो । ४ साउनदेखि शुरु केन्द्रीय कमिटी बैठकको सुरुवातमै ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको भन्दै नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय लिएका थिए । यस विषयमा अब औपचारिक निर्णय लिने अघिल्लो दिन (६ साउनमा) नै ओलीले बताइसकेका थिए ।

नेपालसामु दुई अध्यक्षको प्रस्ताव पठाएर ७ साउनको पुष्पलाल स्मृति दिवसको कार्यक्रममा ओलीले माधव नेपाल समूहलाई आममाफी दिने कुरा गरे । ‘बाटो बिराएका र भड्किएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड, आउनुहोस् मिलेर काम गरौँ,’ ओलीले त्यसदिन सार्वजनिक मञ्चबाट बोलेका थिए । त्यसपछि त माधव नेपाल झन आक्रोशित भए ।

एकातिर सम्मानजनक एकताका लागि बराबरी हैसियतका दुई अध्यक्षको प्रस्ताव बोकेर नेताहरु पठाउने र अर्काेतिर फेरि अपराधी झै आममाफी दिने घोषणा गर्ने काम भएपछि माधव नेपाल थप बिच्किए । तर, त्यसै दिन ओलीले पार्टीमा नेपाल समूहलाई सोधेको स्पष्टीकरण फिर्ता लिनेदेखि पार्टी एकताको जिम्मा आफैले लिने निर्णय लिए ।

तर, ओली र नेपाल अझै भेटवार्ताको तय भएको छैन । ओलीको प्रस्तावमा न माधव नेपालले आफू निटकका स्थायी कमिटी सदस्यसँग परामर्श गरे, न कसरी जाने भन्नेमा थप छलफल गर्न चाहे । उनले आफ्नै समूहका स्थायी कमिटी सदस्यसमेत अब ओलीतिरै मिल्न जान सक्ने ठानी नेपाल चुपचाप आफ्नै योजनामा लागिरहेका थिए ।

स्थायी कमिटीमा छलफलका लागि नेपालमाथि नेताहरुको दबाब बढ्दो थियो । तर नेपालले छलफल डाँकिरहेका थिएनन् । शनिबार सत्ता गठबन्धनको बैठकमै माधव नेपाल सहभागी हुन बालुवाटार पसेपछि भने उनको समूहका नेताहरुको धेरै नै दबाब नेपालमाथि पर्‍यो । त्यसपछि भने उनले आइतबार र सोमबार क्वालिटी ब्याङ्केटमा बैठक बोलाएका हुन् ।

त्यही बैठकमा नेपाललाई उनकै समूहका नेताहरुले ओलीसँग सम्वाद गर्न र पार्टीभित्रको विवाद अब धेरै नतन्काउन सुझाएका हुन् । शनिबार सत्ता गठबन्धनको बैठकका लागि बालुवाटार पुगेका माधव नेपालको त्यस कार्यको आलोचना गर्दै एकताका लागि बन्दै गरेको वातावरण नभत्काउन नेपालसँग आग्रह गरेको एक स्थायी कमिटी सदस्यले मेरोन्यूजलाई बताए ।

पार्टी मिलाउन ओलीले शुरुमा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको सन्देश पठाएका थिए । तर, पछि पहिलो र दोस्रो भन्ने भन्दा पनि बराबरी हैसियतका दुई अध्यक्ष, निर्णय प्रक्रियामा दुवै अध्यक्षको हस्ताक्षरसम्मको अधिकार र निकट दिनमै विधान महाधिवेशन गरेर त्यसको व्यवस्था गर्नेसम्मको प्रस्ताव ओलीका तर्फबाट नेम्वाङ र पौडेलले नेपालसामु राखेका थिए ।

तर, नेपाल ओलीका तर्फबाट आएको प्रस्तावमा अझै विश्वस्त हुन सकेका छैनन् । नेपाललाई आफ्नो समूहका नेता–कार्यकर्ताको व्यवस्थापन, सम्मानजनक एकता र आउने चुनावमा समानुपातिक टिकट वितरणका लागि पनि पावर सेयरिङ नमिल्दासम्म ओलीसँग मिल्न जान नहुने दबाब कार्यकर्ता तहमा थियो ।

त्यही कारण नेपाल सम्मानजनक एकताको पक्षमा मात्रै चट्टानी अडान दोहोराइरहेका थिए । दुवै पक्षका कार्यदलका नेताहरुले असार २३ मा ओली र नेपालबीच भेट गराउँदा नेपालको चासो सम्बोधन हुने गरी ओलीले नयाँ ठोस प्रस्ताव राख्ने सन्देश पहिले पठाएका थिए । त्यसपछि मात्रै मेरियट होटलमा ओलीसँग भेट्न नेपाल तयार भएका थिए । तर, त्यो भेटमा नेपालले सन्देश पाए झै ओलीका तर्फबाट कुनै ठोस प्रस्ताव पाएनन् ।

माधव नेपाललाई लागेको छ, ‘अहिले नेम्वाङ र पौडेलले ल्याएको प्रस्ताव ठोस रुपमा आएकै होइन । ओलीले झुक्याउने, अलमलाउने मेसोको रुपमा मात्र अनेक फण्डा चालेको बुझाईमा नेपाल छन् । आफूलाई पदलोलुप देखाउन मात्रै अहिले अध्यक्ष दिने खालको प्रस्ताव ओलीको तर्फबाट पठाइएको नेपालमा परेको छ । त्यही कारण पनि उनी सितिमिति ओलीसँग सम्झौता गर्ने पक्षमा देखिएका छैनन् ।

आइतबार र सोमबार उनी निकट स्थायी कमिटीमा पनि उनले ओलीप्रति विश्वास भावमा कुरा राखेका छैनन् । ‘ओलीलाई तपाईहरूले के चिन्नु भएको छ, जति महिले चिनेको छु, उनलाई बेइमानीमा कसैले उछिन्नै सक्दैन,’ नेपालले आफूनिकट स्थायी कमिटी नेताहरुसँगको छलफलमा त्यही धारणा दोहोराएका थिए ।

नेपाल अहिले आफू निकट स्थायी कमिटीमै अप्ठायारोमा छन् । आफैले बढी विश्वास गरेका भीम रावल सबैभन्दा बढी एकता पक्षधर देखिएर वकालत गरिरहेका छन् । तर, नेपाल ओली र उनका पक्षका नेताहरुले ल्याउने प्रस्ताव, कार्यदलमा रहेर आफ्नै समूहका नेताहरुले खेलेको भूमिका लगायतमा समेत विश्वस्त हुन सकेका छैनन् ।

कार्यदलमा रहेका नेताहरु सक्दा सम्मानजनक, नभए पनि १० बुँदेमा टेकेर एकताबाहेक अर्को विकल्पमा छलफल हुन नसक्ने अडानमा देखिन थालेका छन् । अब पनि पार्टी एकता नेपालले माने पनि नमाने पनि हुने बताउन थालिसकेका छन् । स्थायी कमिटीकै युवराज ज्ञवाली, अमृत बोहोरा, अष्टलष्मी शाक्यलगायत नेताहरु सम्मानजनक एकता हुँदा एकतामा जाऔँ माधव कमरेड भन्न थालिसकेका छन् ।

नेपालको विश्वासमा काम गर्नुपर्ने र पूर्ण विश्वास नहुँदासम्म अझै हत्तारिनु नहुनेमा वेदुराम भुषाल र मुकुन्द न्यौपाने देखिएका छन् । तर, भुषाल र न्यौपानेले अर्काे दल गठनभन्दा एकतामै जोड छोडेका छैनन् । तर, तेस्रो पुस्ताका नेताहरु जगन्नाथ खतिवडा, विरोध खतिवडा, राजेन्द्र राई, मेटमणि चौधरी, डा‌. विजय पौडेललगायत नेताहरू भने माधव नेपाल जत्तिकै चट्टानी अडानमा छन् । ओलीले अध्यक्ष नछोडेसम्म एकता सोच्नै नसकिने उनीहरूको अडान देखिन्छ ।

तर नेपालमाथी नेताहरुले एकतामै जोड गरेपछि नेपालले फेरि एकपटक विष्णु पौडेल र सुवास नेम्वाडसँग पहिले सम्वाद गर्ने र त्यसपछि मात्र ओलीसँग वार्ता गर्ने मुड देखाउका छन् ।

‘मलाई त अझै विश्वास छैन ओलीको, तैपनि तपाईहरूको त्यही कुरा छ भने अझै म एकचरण विष्णु पौडेल र सुवास नेम्वाडसँग छलफल गर्छु । त्यसपछि ओलीसँग सम्वाद गरौँला’, नेपालले सोमबार स्थायी कमिटी बैठक समापन गर्दै भनेका थिए, ‘त्यसका लागि रावल कमरेडले वातावरण बनाउनुस् ।’

प्रतिक्रिया