शनिबार, वैशाख १५, २०८१

अण्डाको मूल्य अहिलेसम्मकै उच्च, कृषक खुसी, उपभोक्ता मर्कामा

किरण अधिकारी २०७८ साउन १२ गते ८:२८

काठमाडौं । अण्डाको मुल्य अहिलेसम्मकै महंगो भएकाले पोल्ट्री व्यवसायीले राहत महसुस गरेका छन् । निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले आज मंगलबारदेखि लागु हुने गरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) ३ सय ८५ रुपैयाँ र मिडियम प्रतिक्रेट ३ सय ५५ रुपैयाँ कायम गरिएको छ ।

नेपाल अण्डा उत्पादक संघले लागू गरेको यो दर रेट अहिलेसम्मकै उच्च हो । संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले माग अनुसार अण्डा पुर्‍याउन कठिन भएको बताए ।

अहिले दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ । अन्य समयमा यो संख्या ४७ लाखसम्म पुग्ने गरेको उनले जानकारी दिए ।

निषेधाज्ञाका समयमा अण्डाको रेट प्रतिक्रेट ३ सय ३० रुपैयाँसम्म झरेको थियो । अहिले अण्डाको लागत मूल्य प्रतिक्रेट ३ सय ६० रुपैयाँ हाराहारी पर्ने उनको भनाइ छ । बजारको मागअनुसार दररेट बढाइएको उनले बताए ।

कोभिडले निषेधाज्ञा भएको समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ । उनले भने, ‘अण्डाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर खानेक्रम बढेको छ ।’ पहिरोले अवरोध भएका बाटो खुलेसँगै देशैभर अण्डा पुर्‍याउन सकिएको र साउन महिनामा समेत अण्डाको माग बढेको उनले उल्लेख गरे ।

२ हजार ७ सय पोल्ट्री फार्म रहेका छन् । लेयर्स कुखुरामा ८० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाएको अण्डा उत्पादक संघले जनाएको छ ।

अण्डाको मूल्य बढे पनि दानाको कच्चा पदार्थको दर उच्च हुँदा किसानले सोचे जस्तो मुनाफा नपाएका कृषक बताउँछन् ।

पोल्ट्री व्यवसायी मदन पोख्रेलले कुखुराको दानामा प्रयोग हुने प्रतिकिलो ५० रुपैयाँ पर्ने भटमास १ सय ५ रुपैयाँसम्म पुगेको र २२ रुपैयाँ हाराहारीमा पाउने मकै ३७ रुपैयाँसम्म पुगेको बताए ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया