शुक्रबार, चैत १६, २०८०

महाेत्तरीमा कागज उद्योग स्थापना हुँदै, दैनिक ७५ टन उत्पादन हुने

मेरोन्यूज २०७८ साउन ११ गते १९:१८
फाइल फाेटाे

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गरेका हुन् ।

अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी रहेको छ । उनीहरूले आज संयुक्तरुपमा उद्योगकाे शिलान्याश गरेका हुन् । आइएमइ समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ ।

उद्योगलाई आवश्यकपर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने जनाइएको छ । उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने जानकारी पनि सो अवसरमा दिइयो । उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ ।

सो समारोहमा उद्यमी ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन थालिने जानकारी दिए । नेपालमा कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीहरूको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने बताए ।

Advertisement

प्रतिक्रिया