शनिबार, वैशाख ८, २०८१

के सामाजिक संस्कार बाध्यता हाे ?

रमा भट्टराई २०७८ साउन ११ गते १७:४०

करिब सोह्र महिनादेखि जनजीवन सामान्य छैन । मानव जीवन आधारभूत विषयहरू रोजगारी, स्वास्थ्य, शिक्षाबाट बञ्चित छ । बाँकी मनोरञ्जन, कला, साहित्य, संगीतलगायत विषयको कुरै नगरौँ ।

मान्छेको जीवन नै चुनौतीपूर्ण बनिरहेको आजको परिस्थितिमा कोराना महामारीको बीचमा भएका आभारभूत आवश्यकताका संघर्ष बाध्यता हुन् । तर, नेपालमा कोरोना फैलिनुको मुख्य कारण भारतसँगको खुला सिमाना, देशमा भइरहने आन्दोलन र देशमा हुने चाड पर्वप्रतिको अविछित्र मोह हो । यस्तो जटिल परिस्थितिमा सामाजिक संस्कारप्रतिको अगाध विश्वास, जीवनप्रतिको वेवास्ता हो कि, बाध्यता हो । अथवा जीवन नै यही हो । यस विषयमा सोच्नु पर्ने बेला आएको छ ।

कतिपय संस्कारहरुलाई समाजले बाध्यात्मक बनाएको हुन्छ । जस्तैः जन्म र मृत्यु संस्कार । निश्चित दिनमा गर्ने भनेर तोकिएका यस्ता संस्कार सामाजिक दुरीको नियम पालना परिवारले गरेकोमा यो अत्यन्तै स्वाभाविक मात्र सकिन्छ । र, पर्छ पनि । तर मैले देखेको मेरो वरिपरीको परिवेशमा कोरानाले कुनै सामाजिक संस्कार गर्न रोकिएको वा परिवारमा मात्रै मनाएको थाहा छैन ।

विवाह, व्रतबन्ध, पुराण, श्राद्घ, वैवाहिक वर्ष गाँठ, चौरासी पुजा, गुन्यूचोली, जन्म उत्सव, तीज, छठलगायत अनेक पर्वहरू सबैले मनाएकै देखियो । अहिले पनि देखिरहेकै छन् । कुरो उठ्ला घरका सदस्यमात्रै पुजा लाउँदा त के आपत्ति ? सरसामानको जोहो र पण्डितको व्यवस्था डिजिटल नहुने भएकाले घरैभित्र थोरै संख्याको सहभागितामा गरे पनि संक्रमण भित्रिने सम्भावना कायमै रहन्छ ।

यसपटक दशै घरमा मात्र मनाइयो भनेर बाबु-आमा, दाजु-भाइ, दिदी-बहिनी, तीनका परिवारको २०–३० जना, ४०–५० जनासम्मको सामूहिक तस्वीर सामाजिक सञ्जालमा देखियो । निजामती सेवामा परिवारको परिभाषाको प्रयोजन अलग हुन्छ । बिमामा अलग हुन्छ । विवाहमा जन्ती लैजाने प्रयोजनका लागि सामाजिक सुधार ऐनले परिवारको दायरा अलि फराकिलो बनाएको हुन्छ ।

नितान्त निजी भएर पनि नेपाली समाजले अत्यन्तै महत्व दिएर सामाजिकीकरण गरेको विषय हो, विवाह ।

कोरोना फैलिएसँगै परिवार भनेको एउटै भान्सा प्रयोग गर्ने र सधै एउटै घरमा बसोबास गर्ने भनिएको हो । तर, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म परिवार, परम्परा, र संस्कार भनेर ओहोरदोहोर गर्दा रोग कसरी फैलियो ? कति क्षति भयो ? यसको हिसाब कि क्षति व्यहोर्नेले गरे कि समयले नै राखेको होला । तर, चाडबाड, परम्परा, सामाजिक संस्कारले कतिसम्म जरा गाडेको रहेछ भत्रे दृष्य कोरोनाको यस विषम घडीमा बुझ्न र देख्न पाइयो ।

चाडबाड मनाएको वा परम्परा धानेको वा समाजका नियमहरू पालना गरेको प्रति कुनै इर्ष्या वा द्वैश हैन । तर किन मान्छे यति जड भयो । यति बाध्य भयो वा अलि पेचिलो शब्दमा भन्दा सामाजिक संस्कार, चालचलन वा परम्पराको दास भयो भन्ने सन्दर्भमा यसको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्षबाट केही चर्चा गरौँ ।

कुरा शुरु गरौँ, विवाहबाट । नितान्त निजी भएर पनि नेपाली समाजले अत्यन्तै महत्व दिएर सामाजिकीकरण गरेको विषय हो, विवाह । अधिक सामाजिकीकरणको फल स्वरुप हुर्केका छोराछोरीको विवाह परिवारको मात्र नभई समाजकै चासो र चिन्ताको विषय बनेको हुन्छ । कोरोनाको त्रासबीचमा डराई डराई हतारहतारमा भए पनि विवाह गरिहाल्नु पर्ने बाध्यता यही अधिक सामाजिक मुद्दाको रुपमा विवाहलाई हेरिनुले हो । यौनलाई अत्यन्तै गुप्त विषयको रुपमा हेरिनु, स्त्री पुरुष सम्बन्धलाई अतिरञ्जित गरिनु जस्ता कारणले ती जैविक र मनोवैज्ञानिक विषयको अपारदर्शी व्यवस्थापन गर्न विवाहले अति महत्व पाएको छ । तर, खुलेर त्यो पनि भत्र नसकी समाजको व्यवस्थापन र सृष्टीको संचालनका लागि विवाह हो भनेर अत्यन्तै आदर्श सामाजिक कार्यको रुपमा व्याख्या गर्ने गरेको पाइन्छ ।

यदि, सृष्टी संचालनका लागि विवाह हो भने सिन्दुर पोते नलगाई, कन्यादान नगरी, बाबुआमाले खुट्टाको पानी नखाई प्रजनन अंग सक्रिय नहुने हुन र ? त्यो पनि होइन नि । विवाहको जुन अति सर्व स्वीकार्य सामाजिक मान्यता र स्त्री पुरुषसम्बन्धको जुन अति बर्जित सामाजिक मान्यता छ नि त्यसको चेपुवामा परेको भावनात्मक र शारीरिक आवश्यकता, पारिवारिक र सामाजिक मानसिकताको परिणाम हो कोरोना कहरकाबीच भएका विवाहहरू ।

समाज अलि खुला हुन्थ्यो । वयस्क व्यक्ति आफ्नो जोडी खोज्न, संगै बस्न, आफ्नो अनुकुलतामा विवाह गर्न वा भनौँ आफ्ना मुद्दा आफै किनारा लगाउन स्वतन्त्र हुन्थ्यो भने आगो निभाउन कुदेको दमकलको शैलीमा हतारहतार आफ्ना प्रियजनसँग अंकमाल गरेर खुसी साट्न वा रुदै बिदाई हुन पनि नपाइने बेलामा दुई मिटरको दुरी कायम गरी मास्क लगाएर विवाह गर्न अभिशप्त हुँदैन थियो ।

विवाहको जमघटमा कोरोना संक्रमण भएर कति अभिभावक तथा आफन्तहरू संक्रमित तथा मृत्यु भएको घटना हामीले देख्यौँ । आफ्नो विवाहमा संक्रमित भएर बाबु आमा तथा आफन्त नै गुमाएका जोडीले विवाह सम्झिदा पक्कै खुसी मात्रै सम्झदैनन् । यसको मतलब विवाह गर्नेलाई दोष हैन । म बाध्यताको कुरा गर्दैछु । शारीरिक र मानसिक रुपले परिपक्व युवा युवती जोडीको चाहनामा छन्, कोरोना कहिलेसम्म रहन्छ टुंगो छैन । भागेर विवाह गरौँ सामाजिक मान्यताको डर । सँगै बसौँ अनुकुल भएपछि विवाह गरौँलाभन्दा परिवार मान्दैन् । समयको जटिलता बुझेर यी बाध्यताका कारणले कोरोनाको महामारीकै बीचमा मान्छे डाकेर रितपूर्वक समाजलाई देखाएर विवाह गर्नु पर्ने अवस्था र्सिजना भयो ।

अर्कोतिर विवाहको आर्थिक पक्षको कुरा गरौँ । सम्पत्र परिवारमा अहिले विवाह शान, रवाफ प्रदर्शन गर्ने माध्यम बनेको छ । हरेक धर्म र समूदायका विवाह चलन नेपाली विवाहमा प्रयोग हुन थालेका छन् । जस्तैः हल्दी, मेहन्दी, संगीत, व्याचलर पार्टी, केक, स्वयंवर, साइपाटा, विवाहको मूल समारोहदेखि दुल्हन फर्काउने र सम्धी भेटसम्मका हरेक कर्मलाई विशेष र खर्चिला बनाउने प्रतिस्पर्धा चलेको छ ।

निजी, सरल र गौण विषयका रुपमा विवाहलाई लिने प्रचलन बसाउन सके बाटोको प्रहरीलाई छलेर मकै बारीबाट जन्ती जानु पर्ने अवस्था आउँदैन थियो ।

बजारमा उर्लिएको भड्किलो विवाह संस्कृतिका कारणले पनि धेरै खर्च गर्न नसक्ने वा इच्छा नभएका परिवारले धेरै मान्छे बोलाउन भोज भतेर गर्न नपर्ने भएकाले ‘यस्तो बेलामा विवाह गर्नुपर्यो बोलाउन पनि पाइएन’ भन्ने मौकाको उपयोग गरेको पनि हुन सक्छ । खास गरी विवाह र ब्रतबन्धमा अति बढेको भोज भतेरको खर्चले कोरोनाको मौका छोप्नु बाध्यता हुन सक्छ । यसका अन्य पितृसत्तात्मक कारणको चर्चा यस आलेखमा संभव छैन ।

विवाहका सामाजिक, मनोवैज्ञानिक र आर्थिक विश्लेषण गर्दा सामाजिक मूल्य र मान्यतामा केही सुधार गर्नु पर्ने जस्तो देखियो । निजी, सरल र गौण विषयका रुपमा विवाहलाई लिने प्रचलन बसाउन सके बाटोको प्रहरीलाई छलेर मकै बारीबाट जन्ती जानु पर्ने अवस्था आउँदैन थियो । रोग, भोक र शोकबाट कहालिँदै विवाह गर्नु पर्ने बाध्यता हुँदैनथ्यो कि । विवाहलाई सामान्य र निजी विषयको रुपमा छाडिदिँदा अर्को पनि एउटा जटिल सामाजिक मुद्दाको सहजीकरण हुन्छ । ‘एकपटक गर्ने हो विवाह धक फुकाएर गर्नुपर्छ’ भन्दै ढोल पिटेर गरेपछि सम्बन्ध टुक्रिएर धुलोपिठो भइसक्दासम्म टालटुल पारेर सग्लो देखाउने जुन बाध्यता अहिले छ, त्यो बाध्यता हुँदैन । र, अरुको सम्बन्ध जोडिनु र भत्किनुमा समाजको चासो पनि क्रमशः कम हुँदै जान्छ ।

विवाह जस्तै अन्य सामाजिक संस्कारहरू यस्तै सामाजिक, आर्थिक र धार्मिक कारणहरु छन् । जनजीवनमा व्याप्त संस्कारगत जडता, अन्ध विश्वास र परिवर्तन नै नचाहने प्रवृत्तिले संस्कारको सुधार वा लचकतामा जोखिम लिन मान्दैन । पाप धर्मका कुरा, कुल पितृको डर, कुसंस्कारको आरोप, असामाजिक भइने डर आदिले आफ्नो चलन छोड्न सामान्य आँटले पुग्दैन । अनि कोरोना आओस कि, कोरोनाले घरैका मान्छे लगोस, ज्यानलाई हत्केलामा राखेर सामाजिक संस्कार गर्नै पर्ने बाध्यात्मक परिस्थिति बनिसकेको पाइयो ।

अन्त्यमा, कोरोना महामारीमै विवाह गरेर कतिले सृष्टी थाम्ने उत्तराधिकारी जन्माइसके होला । ब्रतबन्ध गरिदिएर आउँदै गरेको जनै पूर्णिमामा फेर्ने जनाई पनि तयार भए होला । अर्को सोह्रश्राद्घ, तीज र दशै आउँदै छ । परम्परा र संस्कार धात्रे नाममा तीनमा संलग्न भई कोरोना संक्रमित भई मृत्युवरण गर्नेलाई पनि बिर्सिदै जान सकिएला ।

कोरोनाको खोप आयो, कोरोना पनि विस्तारै हराउँला । तर, सामाजिक संस्कार त्यति जटिल र बाध्यात्मक बनाइनु हुँदैनथ्यो कि । चाल चलन र परम्परा समयको माग र व्यक्तिको अनुकूल हुनु पर्छ । यदि, त्यो भएन भने कि चलन मासिन्छ कि त मान्छे चलनको दास हुन्छ । र कसैले यो विषयमा बोलेन भने समाज समयको मागसँगै जनजीवनको सहजता अनुकूल सुध्रिदै अगाडि बढ्दैन । यसले एकातिर समाज जडताभित्र फस्दै जाँदा अर्कोतिर पछिल्लो पुस्ताको परम्पराप्रतिको रुची खस्किदै जान्छ । झर्को मान्छन् । फलतः आफ्ना मौलिक संस्कृती हराउँदै जान्छ र समाज विखण्डित हुन्छ ।

(लेखक दक्षिण कोरियास्थित नेपाली दुतावासमा श्रम काउन्सिलर हुन् ।)

प्रतिक्रिया