बिहीबार, वैशाख १३, २०८१

उधारो पोलिसी बिक्री नगर्न बिमा समितिको निर्देशन

मेरोन्यूज २०७८ साउन ११ गते १५:०३

काठमाडौँ । उधारो पोलिसी बिक्री नगर्न बिमा समितिले बिमा कम्पनीलाई निर्देशन दिएको छ । बिमाबापतको पैसा बैँक खातामा प्राप्त भएपछि मात्र जोखिम स्वीकार गर्न बिमा समितिले निर्देशन दिएको प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए ।

सोमबार समितिले सूचना जारी गर्दै बिमकले कुनै पनि किसिमको बिमा व्यवसाय गर्दा लिइने शुल्क रकम प्राप्त नभएसम्म बिमा जोखिम स्वीकार नगर्न निर्देशन दिएको हो । बिमकले जोखिम ग्रहण गरेबापत बिमा शुल्क रकम प्राप्त गरेपछि मात्र बिमा मानिने सूचनामा उल्लेख रहेको उनले बताए । सो व्यवस्थाको जानकारी गराउँदै समितिले कम्पनीलाई समेत गत असार मसान्तमै पत्र पठाइसकेको प्रवक्ता पौडेलले उल्लेख गरे ।

विभिन्न पत्रिकामार्फत र समितिमै पनि यस विषयमा उजुरी आएपछि ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको हो । जीवन निर्जीवन दुवै कम्पनीमा उधारो बिमा विकृतिको रुपमा नै छ । यो निर्देशनको कार्यान्वयन यसकोे अन्त्य हुने निर्देशिकामा उल्लेख छ ।

उक्त निर्देशनलाई उल्लघंन गर्दै कम्पनीले उधारो बिमा पोलिसी बिक्री गरेको पाइएमा समितिले कारबाही गर्ने बिमा समितिले जनाएको छ । समितिले जारी गरेका नीति निर्देशन पालना नगरी व्यवसाय गर्ने कम्पनीलाई ऐनअनुसारको कारबाही गर्न समितिपछि नहट्ने समितिको दाबी छ ।

बिमा कम्पनीले राम्रो पर्फर्मेन्स देखाउन त्रैमासिकको अन्त्यमा वा आर्थिक वर्षको अन्त्यमा बढी उधारो बिमा गर्ने गरेको देखिन्छ । जोखिम बहनवापतको पैसा बिमकले प्राप्त नै नगरी बिमा लेख बिक्री गर्दा भविष्यमा यसले बिमासम्बन्धी नराम्रो सन्देश जानुका साथै दुर्घटना निम्त्याउने समितिले चेतावनी दिएको छ ।

समितिको निर्देशनअनुसार बिमा कम्पनीहरुले आफ्नो बैंक खातामा बिमा शुल्कबापतको रकम प्राप्त भएको बैँक स्टेटमेन्टमा देखिएपछि मात्र बिमा लेख जारी गर्न सक्ने छन् ।

प्रतिक्रिया