बिहीबार, चैत १५, २०८०

कांग्रेसमा क्रियाशीलको लफडा : कसरी होला महाधिवेशन

चार जिल्ला र प्रदेश दुईका निर्वाचन क्षेत्रका विवाद थाती, सय वटा वडामा १३ औँ महाधिवेशनकै मान्यता

मेरोन्यूज २०७८ साउन ११ गते १२:१०

काठमाडौँ । नेपाली कांग्रेसको आगामी भदौ १६ देखि १९ गतेसम्मका लागि तय भएको महाधिवेशनको मिति सर्ने निश्चितजस्तै भएको छ । महाधिवेशन प्रयोजनार्थ क्रियाशील सदस्यता छानबिनमा विवाद व्यापक बढेपछि महाधिवेशन नहुने निश्चित छ ।

क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार बिहान ९ बजे छानबिन प्रतिवेदन बुझाउनलाई प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको समय मागेको छ । तर, छानबिन समितिले विवाद जिउका तिउ राखेर प्रतिवेदन बुझाउन लागेकाले महाधिवेशनबारे संशय पैदा भएको हो ।

छानबिन समितिका अनुसार चार जिल्लाको विवाद मिलाउन नसकेको भन्दै विवाद सभापतिमार्फत केन्द्रीय समितिमै फिर्ता गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सप्तरी, बारा, सिन्धुपाल्चोक र रसुवाको विवाद यथावत राखेर केन्द्रीय समितिमा फर्काइएको हो । यस् सबै जिल्लामा अन्य पार्टीबाट पार्टीमा समायोजन भएकाबारे विवाद रहेको छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए ।

पूर्वनिर्धारित तालिकाभन्दा करिब एक महिनापछि प्रतिवेदन बुझाउन लागेको समितिले देशभर करिब एक सय वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन सिफारिश गरेको छ । विवाद भएका स्थानमा बाहेक भने सर्वसम्मतिले सदस्यता सिफारिस भएको पौडेलले बताए ।

सबैभन्दा बढी विवादित प्रदेश दुईका सप्तरी र बारा जिल्लाको क्रियाशील सदस्यतामा सहमति जुट्न नसक्दा बारा र सप्तरीमा नयाँ र समायोजनलाई स्थगन गर्न समितिले सिफारिस गरेको छ । ‘यी दुई जिल्लामा निकै समस्या देखियो । विवाद पनि जटिल खालको भएकाले यसपटक नयाँ र समायोजनलाई हामीले स्थगन गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

Advertisement

समायोजनका विषयमा सिन्धुपाल्चोक र रसुवामा विवाद देखिएको छ । समितिले यी दुई जिल्लाबारे निर्णय गर्न केन्द्रीय पदाधिकारीलाई सिफारिश गरेको हो । बाराका कांग्रेस नेता कार्यकर्ता दुई समूह बनाएर १५ दिनदेखि पार्टी कार्यालय सानेपामा छुट्टाछुट्टै समूहमा धर्ना बसिरहेका छन् ।

प्रवक्ता पौडेलका अनुसार धनुषा क्षेत्र–४ मा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई लिएर विवाद कायमै भएकाले नयाँ र समायोजनमा विवाद देखिएको छ । सर्लाही क्षेत्र नं २ मा समायोजनका विषयमा देखिएको विवाद कायमै रहेपछि १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिइएको छ । सर्लाही–२ मा तत्कालीन राजपाका नेता जंगीलाल यादव कांग्रेस प्रवेश गरेका थिए । उनलाई दिइएको क्रियाशील सदस्यताका विषयमा अर्को पक्षले असन्तुष्टि जनाएको हो ।

समितिले क्रियाशील सदस्यको संख्या ८ लाख ५३ हजार पुर्याएको छ । करिब १२ हजार नयाँ र समायोजनको सदस्यता स्थगन गरिएको छ । समितिका अनुसार ३५ देखि ४० हजारले सदस्यता नवीकरण गरेनन् ।

क्रियाशील सदस्यताको विवादले १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ । अन्य स्थानीय अधिवेशनको पनि कार्यतालिका प्रभावित हुने निश्चित छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले क्रिायशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएपछि आन्तरिक कार्यतालिका परिवर्तन गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया