बिहीबार, वैशाख ६, २०८१

जसपाको विवाद टाउको गनेर छिनोफानो हुने, कसले पाउला आधिकारिकता ?

मेरोन्यूज २०७८ साउन ११ गते ९:१४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाभित्रको विवाद निर्वाचन आयोगले हेड काउन्ट मार्फत आज टुङ्ग्याउने भएको छ ।

दुबै पक्षले पार्टीको आधिकारिकता दाबी गरेपछि आयोगले इजलासमा बहस गराएर हेड काउन्ट मार्फत पार्टीको विवाद निरुपण गर्न लागको हो ।

पार्टी आधिकारिकताको लागि आयोगले कार्यकारिणी समितिका ५१ जनालाई आज नागरिकताको सक्कलप्रति सहित उपस्थित हुन भनेको छ ।

हेड काउन्ट गर्दा आफ्नो पक्ष अल्पमतमा पर्ने निश्चित भएपछि अध्यक्ष महन्थ ठाकुर समूह भने रोक्न माग गर्दै सर्वोच्च अदालत गएको थियो ।

अदालतले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन आइतबार अस्वीकार गरेपछि आयोगलाई प्रक्रिया अघि बढाउन बाटो खुल्ला भएको हो ।

कार्यकारिणी समितिमा उपेन्द्र यादव बाबुुराम भट्टराई पक्ष बहुमतमा छ । सांसदमा पनि पछिल्लो चरण बहुमतमा यादव पक्ष नै छ ।
जसपाका अध्यक्ष यादवले पार्टीको आधिकारिकता आफुहरुलाई दिन माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

उनले दिएको निवेदनमाथि आयोगले गठन गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया नेतृत्वको ५ सदस्यीय इजलासले हेड काउन्ट गर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि नेताहरुलाई सशरीर नागरिकताको सक्कलप्रति सहित उपस्थित हुन आयोगले आदेश दिएको थियो ।

आयोगले हेड काउन्ट मार्फत विवाद टुङ्ग्याउने तयारी गरेपछि ठाकुर पक्षले आफ्ना केन्द्रीय कार्यकारिणी समिति र सांसदहरुलाई प्रभावमा पार्न सक्ने भन्दै यादव पक्षले रिसोर्टमा लगेर राखेको छ ।

यादव पक्षका नेताहरु हिजोदेखि नै गोदावरीस्थित एक रिसोर्टमा छन् । आवासीय प्रशिक्षणका लागि भन्दै नेताहरुलाई हिजो दिउँसोदेखि नै त्यहाँ लगेर राखिएको हो ।

आज त्यहींबाट नास्ता गराएर नेताहरुलाई सामुहिक रुपमा आयोगको कार्यालयमा ल्याउने यादव पक्षले बताएको छ ।

गोदावरी रिसोर्टमा केन्द्रीय कार्यकारिणी समितिका ३३ जना र संसदीय दलका २१ जनाको उपस्थिति रहेको यादव पक्षीय नेता मोहम्मद इस्तियाक राईको भनाई छ । आयोगले जसपालाई ११ बजे बोलाएको छ ।

प्रतिक्रिया