मंगलबार, वैशाख ११, २०८१

बैंकिङ कसुरमा फरार महिला पक्राउ

मेरोन्यूज २०७८ साउन १० गते १८:४२

काठमाडौँ । नेपाल प्रहरीले १० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १० लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ बुढानीलकण्ठकी ४५ वर्षीय निता भण्डारीलाई आज बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ वैशाख ६ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम १० लाख जरिवाना ठहर गरेपछि फरार रहेकी भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी भण्डारीले आफ्नो मुक्तिनाथ विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले भण्डारीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।

पक्राउ परेकी भण्डारीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

प्रतिक्रिया