शुक्रबार, वैशाख ७, २०८१

मेडिकल काउन्सिलको प्रमाणपत्र कीर्ते गर्ने रञ्जित पक्राउ

मेरोन्यूज २०७८ साउन १० गते १७:४०

काठमाडौं । मेडिकल काउन्सिल (एनएमसी)को प्रमाणपत्र कीर्ते गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल ललितपुर महानगरपालिका २ बस्ने ३६ वर्षीय विजय श्याम रञ्जितलाई पक्राउ गरेको हुन् ।

३६ वर्षीय रञ्जितलाई काठमाडौं महानगरपालिका ३ महाराजगञ्जबाट आइतबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । रञ्जितले सन् २०११ मा चीनबाट एमबिबिएस गरेका थिए ।

विदेशमा पढेर पास भए पनि नेपाल मेडिकल काउन्सिलको परीक्षा दिएर पास भएपछि मात्रै काम गर्न पाइने व्यवस्था छ । तर रञ्जितले सन् २०१२ मा नेपाल आएर कीर्ते कागज बनाएर काम गर्न थालेको सुचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

डाक्टर हुँ भन्ने बुझाएको नम्बर एनएमसीबाट भेरिफाई नभएपछि उनलाई पक्राउ गरेको हो । उनले उक्त प्रमाणपत्रका आधारमा काठमाडौंको ग्राण्डी अस्पतालमा काम गरेका थिए ।

कागजात कीर्ते भएको हल्ला चलेपछि रञ्जित फरार भएका थिए । पक्राउ परेका उनीविरुद्ध प्रहरीले लिखतसम्बन्धी कसुरको आधारमा कारबाही गर्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको सिआइबीले जनाएको छ ।

प्रतिक्रिया