शुक्रबार, वैशाख १४, २०८१

निर्मला पन्त प्रकरण : बलात्कारपछि हत्याको ३ वर्ष पूरा, कहाँ पुग्यो अनुसन्धान ?

दया दुदराज २०७८ साउन १० गते १६:३९

काठमाडौँ । आजकै दिन अर्थात २०७५ साल साउन १० गते साथी घरमा गृहकार्य गर्न पुगेकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट मृत अवस्थामा भेटिइन् । कञ्चनपुरको भिमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा निर्मलालाई बलात्कारपछि मृत अवस्थामा प्रहरीले फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पूरा भएको छ । तर, घटनामा संलग्न अभियुक्तबारे प्रहरीले अनुसन्धानको कुनै क्लु भेट्टाउन सकेको छैन ।

उक्त हत्या प्रकरणबारे अनुसन्धान गर्न काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घटनाको २३ दिनपछि भदौ २ गते भिमदत्त १९, बाँगफाँटाका ३९ वर्षीय दिलीप सिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीसँगको बयानमा उनले घटनाको दिन आफूले लगाएको सर्ट र आकाशे निलो रङको अण्डरवेयरबारे खुलाएका थिए ।

जिल्ला प्रहरी कार्यालयले मुख्य अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरेकै दिन प्रहरीले उनको घरबाट गोजी च्यातिएको सर्टसमेत बरामद गरेको थियो । ०७५ भदौ ४ गते घटना स्थलमा हुबहु सोही रङकै च्यातिएको सर्टको गोजीको टुक्रा फेला पारेको थियो ।

विष्टको घरमा प्रहरीले वडाध्यक्षसहितलाई राखेर बरामद सर्ट, कट्टुसहितका सामानको मुचुल्का गरेको थियो । घटनास्थलमा प्रहरीले विष्टका बाबुलाई समेत लगेको थियो । सर्टको टुक्रा घटना स्थलमा भेटिएको बेलाको फोटो हेर्दा त्यहाँ प्रहरीसहित अन्य केही मान्छेको उपस्थित थिए ।

विष्टको आफ्नो बयानमा बलात्कार गरेर हत्या गरेको बताएका थिए । तर, उनको डिएनए नमिलेपछि विष्ट उन्मुक्त भए । साथै पक्राउ परेका उनी मानसिक रुपमा असन्तुलन भएको प्रमाणित भएसँगै मानव अधिकारकर्मी र अभियान्ताहरूको दबाबमा बयान दिन लगाइएको समेत अफवाहा फैलाएको थियो ।

के–के भयो ?

निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै एक महिनापछि ०७५ भदौ ७ मा गृह मन्त्रालयद्वारा तत्कालीन कारागार व्यवस्थापन विभागका महानिर्देशक महासचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समिति गठन गरेको भोलिपल्ट ८ भदौमा पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउको माग राख्दै गरिएका आन्दोलनमा प्रहरीको गोली लागेर १० वर्षीय सन्नी खुनाको मृत्यु भएको थियो ।

सन्नी खुनाको मृत्युपछि सरकारले १० भदौमा निर्मला पन्त र सन्नी खुनाको परिवारलाई १०÷१० लाख राहत दिने निर्णय गरेको थियो । त्यसलगत्तै भदौ २८ गते एसपी दिल्लीराज विष्ट, उनका छोरा र भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिज आयुष विष्टको डिएनए परीक्षण गरेको थियो । तर, उनीहरूको तिनै जनाको रिपोर्ट मिलेको थिएन ।

मैनालीको नेतृत्वमा गठन गरिएको समितिले ३० भदौमा गृह मन्त्रीलाई बुझाएको प्रारम्भिक प्रतिवेदनका आधारमा कञ्चनपुरका तत्कालीन एसपी दिल्ली राज विष्टसहित ५ जना प्रहरीहरू निलम्बनमा परेका थिए । ३१ भदौमा प्रहरी प्रधान कार्यालयले एसपी उत्तम सुवेदीको नेतृत्वमा रहेको समितिलाई विस्तार गरी डिआइजी धिरु बस्नेतको नेतृत्वमा नयाँ समिति बनाएर अनुसन्थान सुरु गरिएको थियो । २२ असोजमा प्रमाण नष्ट गरेको आरोपमा प्रहरी प्रधान कार्यालयद्वारा घटना स्थल अनुसन्धान अधिकृत रहेका प्रहरी नायव निरीक्षक हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका थिए ।

घटनाक्रम बित्दै गएपछि निर्मला पन्तको घटना विस्तारै ओझेलमा पर्दै गएको थियो । जनसागरले न्यायको माग गर्न भने छाडेका थिएनन् । तर, ०७६ साल माघ १५ गतेबाट फेरि पन्तको घटना फेरि उत्कर्षमा पुग्यो । ०७६ साल १५ माघमा डिआइजी सुरज केसीको नेतृत्वमा निर्मला पन्त घटनाबारे यसअघि गरिएका अनुसन्धानको पुनरावलोकन गर्न ०७५ साल ७ भदौमा गठन गरेको सदस्यीय समिति ब्युँताएको थियो ।

डिआइजी केसी नेतृत्वको पुनरावलोकनको प्रतिवेदन प्रहरी प्रधान कार्यालयद्वारा स्वीकार गरेर एआइजी धिरु बस्न्यात नेतृत्वको समितिले दिएको प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै खारेज गरेको थियो ।

कहाँ पुग्यो अनुसन्धान ?

घटनाको ३ वर्ष बित्दासमेत प्रहरी प्रशासनको उत्तर अनुसन्धानमै रहेको भन्दा कुनै नौलो उत्तर पाइदैन । यस घटनापछि हालसम्म ३–३ जना गृहमन्त्री र प्रहरी महानिरीक्षक फेरबदल भए । तर, घटनाको विषयमा कुनै उपलब्धी भएको छैन ।

प्रहरीले आफुहरु अनुसन्धानमै रहेको र अनुसन्धानको दायरामा साँघुरिएको बताएका छन् । निर्मला हत्या प्रकरण आउदो साउन १० गते ३ पुग्यो । प्रहरी अभियुक्तको नजिक छ त ? भन्ने मेरोन्युजको प्रश्नमा नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले भने, ‘प्रहरीले अनुसन्धान जारी राखेको छ । हामीले पहिलेकै सम्बेदनशिलतामा अनुसन्धान निरन्तर रुपमा अगाडि बढाएका छौँ । हामीले केन्द्रमा केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई), प्रदेशअन्तर्गतको प्रदेश अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुसन्धान टोलीले सघन रुपमा सबै सम्भावनालाई विश्लेषण गरेर काम गरिरहेको छ । साथै अनुसन्धानको दायरा साँघुरो बनाउनेतर्फ टोली लागेको छ ।’

प्रहरीले विभिन्न जटिलताका बाबजुत प्रहरीको पहिलो प्राथमिकतामा राखेर निर्मला पन्त प्रकरणलाई अनुसन्धान गरिरहेको प्रवक्ता कुँवरले बताए । ‘सबै तिरको जनचासो, प्रेसर, दबाबका बाबजुत प्रहरीको अनुसन्धानले सकारात्कम किसिमले काम गर्छ जस्तो लाग्छ, यो घटनालाई हामीले प्रथम प्राथमिकतामा राखेर अनुसन्धान गरिराखेका छौँ, यो घटनामा हामी एकदम गहनशील रुपमा गहन ढंगबाट समय केन्द्रीत भएर अनुसन्धान जारी राखेका छौँ ।’

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया