शुक्रबार, वैशाख ७, २०८१

अझै तय भएन, ओली-नेपाल भेटवार्ता

एक-अर्काप्रतिको इगो उस्तै, विवाद मिलाउने जिम्मा लिएका ओलीले नै मिलाउन सकेका छैनन नेपालसँगको भेटवार्ता

मेरोन्यूज २०७८ साउन १० गते १४:१५
तस्विर : फाइल फोटो । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा ओली प्रधानमन्त्री रहेकै बेला ओली र नेपाल वीच भएको भेटवार्ता ।


काठमाडौं । नेकपा एमालेले पार्टी विवादको अन्तिम पहलकदमी लिन अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी सुम्पेको आज चौथो दिन लागेको छ । साउन ४ देखि ७ सम्म वसेको केन्द्रीय कमिटि बैठकमा दुई ओटा परिदृश्य देखा परेको थियो । पहिलो, बैठकको सुरुआतकै दिन काग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका पार्टीका २२ सांसदलाई ओलीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय लिए । तर स्पष्टीकरण पत्र ६ गते मात्रै माधव नेपाल सहितका नेतालाई एमालेले थमायो ।

७ गते नेपाल सहितका नेताहरुले स्पष्टीकरण पनि पठाईसकेका थिए । तर एकाएक बैठक समापनको दिन ओलीले नेपाल सहितका नेताहरुले पठाएको जवाफीपत्र खोल्ने तिर ओलीले ध्यान लगाएनन । ७ गते उनले भने,–‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’

त्यसपछि एमाले बैठकले अध्यक्ष ओलीलाई पार्टी एकताको अन्तिम पहलकदमी लिन जिम्मेवारी सुम्पिएको थियो ।

एमाले बैठक सकिदा–नसकिदै ओली पक्षका कतिपय नेताहरुले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए– ‘अव एमाले विवाद मिल्छ, आजै अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल भेटवार्ता हुँदैछ । त्यसपछि विवादका धेरै विषय साघुरेर पार्टी एकतामा जान्छ ।’

यस्तै सोच राख्नेमा थिए, संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि । उनले मेरोन्यूजसँगकै कुराकानीका क्रममा भनेका थिए, –‘समय तय भईसकेको छैन, तर अध्यक्ष र वरिष्ठ नेता आजै वेलुकीसम्म वार्तामा बस्नुहुन्छ ।’

नेम्वाङले सोही साँझ दुई नेताको भेट हुने भनेपनि यो समाचार तयार पार्दासम्म ओली र नेपालका वीचमा भेटवार्ताको कुनै टुग्गो लागेको छैन । ओलीले विवाद मिलाउने जिम्मेवारी आफ्नै काँधमा बोकेको चौथो दिन भईसक्दा पनि सम्वाद गराउने गरी कुर्नै ठोस पहलकदमी सम्म लिन सकेका छैनन् ।

विवाद मिलाउन कार्यदलमा वसेर भूमिका खेलेका नेताहरुको अनौपचारिक सम्वाद यो वीचमा वेलावेला भएको छ। तेस्रो पुस्ताका सांसदहरुले पनि कार्यदलका नेताहरुसँग १० वुँदे सहमितको कार्यान्वयन र दुई शीर्ष नेताहरुलाई मिलाउन गर्नुपर्ने कामका विषयमा आइतबार सिंहदरवारमा छलफल चलाए । तर दोस्रो र तेस्रो तहका नेताहरु तात्तिएपनि दुई शीर्ष नेता भेट गर्ने, विवादित विषयमा छलफल गर्ने र विवाद मिलाउने सूत्र पहिल्याउने विषयमा न ओलीले चासो देखाएका छन्, न वरिष्ठ नेता नेपालले नै ।

ओलीले जिम्मेवारी लिएपछि एकपटक नेपाल पक्षका भीम रावललाई टेलिफोन गरी नेपालसँगको वार्ताको पहलकदमी लिन भनेका थिए । तर न रावलले ओलीको निर्देशनका आधारमा नेपाल–ओली भेट गराउन सकेका छन्, न दुई नेताकै वीचमा सिधा सम्र्पक नै भएको छ ।

ओली–नेपाल सिधासिधा टेलिफोन सम्वाद नभएको पनि महिनौं भईसकेको छ । कसैका फोनवाट आक्कलझुक्कल कुरा गर्नु फरक कुरा । नत्र ओलीले नेपाललाई र नेपालले ओलीलाई सिधा सम्वाद समेत गरेका छैनन ।

बालुवाटारबाट ओली आफनो निवास बालकोट जाँदा ‘गद्दार’ को अभिब्यक्ति आउनु र झन् ओलीले बाटो विराएका लाई आममाफी दिने भनी घोषणा गरेपछि नेपाल चिढिएका छन् ।त्यस्तै, ओली पनि सत्ता गठवन्धनको बैठकमा सहभागी हुन माधव नेपाल पुगेको खवरपछि आक्रोशित बनेका छन् ।

नेपाल निकटका एक स्थायी समिति सदस्य भन्छन्,–‘समस्या नै दुई नेताको इगोमा देखियो, एउटालाई शान्त बनाउन खोजियो, अर्काेले फायर खोलिहाल्छन्, अर्काेलाई मिलाउन खोज्यो एउटा वाउँठिहाल्छन्, अहिले ओली–नेपाल भेट गराउन नै समेत सकस पर्न थालेको छ ।’

नेपालप्रति वेलावेला विझने अभिब्यीक्त ओलीले दिन थालेपछि विवादित कार्यक्रममा जान ओलीलाई एकता पक्षधर नेताहरुले रोकेका थिए । युथ फोर्सको शनिवार उपत्यकास्तरीय कमाण्ड घोषणा कार्यक्रममा ओलीलाई प्रभुख अतिथि बनाईएको थियो ।

तर नेताहरुको जोडवल पछि नै ओली उक्त कार्यक्रममा गएनन । तर साँझ माधव नेपाल सत्ता गठवन्धनको बैठकमा सहभागीताका लागि वालुवाटार प्रवेश गरिदिए ।

ओली प्रधानमन्त्री हुँदा बालुवाटार बोलाउँदा समेत नछिरी कहिले मेरियट होटेल त कहिले धुम्बराहीको कार्यकलय त कहिले ब्यापारी रामेश्वर थापाको निजि निवाससम्म भेटघाटका लागि जाने तर वालुवाटार नछिर्ने माधव नेपाल शनिवार भने सत्तागठवन्धनको बैठकमा सहभागि हुन पुगेपछि ओली फेरि आक्रोशित भएका छन् ।
‘अलिअलि शान्त नेताहरुलाई बनाउन खोज्यो, अर्काे भडकिने वातावरण देखापर्छ, ओलीले राजाको स्टाइलले अपराधी जसरी करार गर्न खोज्दै आममाफी दिने घोषणा गर्नुभयो उता माधव नेपाल पनि सत्ता गठवन्धनको वैठकमा सहभागी हुन गईदिनुभयो, यसले फेरि वातावरण विथोल्ने, अविश्वास झागिने काम गरेको छ,’ एकता प्रयासमा जुटिरहेका एक नेताले भने –‘यस्ता हर्कतले पनि वातावरण धमिल्याउने काम मात्र गरेको छ ।’

आज पनि ओली र नेपाल दुवै तिर रहेका सांसदहरुले सिंहदरवारमा कार्यदलमा रहेका नेताहरुसँग सम्वाद गरे । तर ओली र नेपालका वीचमा भने सम्वादको कुनै संकेत सम्म मिलन सकेको छैन ।

प्रतिक्रिया