शुक्रबार, वैशाख ७, २०८१

डोबाटे विश्वकर्माको मन्त्रीमा नाम काटिएकोमा शेखर कोइरालाको आपत्ति

शेखर भन्छन् : काग्रेसले अव दलित समुदायमा कुन मुखले भोट माग्न जाने ?

मेरोन्यूज २०७८ साउन १० गते १३:१४

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकारमा दलित प्रतिनिधित्व टुटाएर पार्टीले अक्षम्य भुल गरेको बताएका छन् । उनले आइतबार एक विज्ञेप्ती जारी गदै लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान नसक्ने र जान पनि नहुने भन्दै गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण भएको वताएका हुन् । ‘पार्टीले गरेको अक्षम्य भुल हो। दलित समुदायप्रतिको अपमान हो,’ डा शेखरले भनेका छन् ।

सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुखित बनाएको पनि उनले बताएका छन् । ‘त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ’ कोइरालाले भनेका छन्,-भोलि कुन मुखले उनीहरुको अगाडि जाने रु यो हेक्का राख्नु पर्दैन रु कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो रु सामाजिक न्यायका कुरा केवल ईतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो।’

वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ काग्रेसले समाजलाई दिनुपर्ने कोइरालाले बताए ।

‘यसलाई तुरुन्त सच्याउनु जरुरी छ । भोलिका दिन यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्छ । सबैले हेक्का राखौं । ’ डा कोइरालाले भने ।

काग्रेसले गढण्डकी प्रदेश सरकार विस्तारका क्रममा तनहुँका डोबाटे विश्वकर्माको नाम पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री कोइरालाको दबाबमा शनिबार अन्तिम समयमा काटिएको थियो । शपथका लागि घरबाट हिँडेका डोबाटे पोखरा नपुग्दै उनको ठाउँमा जग्गा व्यवसायी बिन्दुकुमार थापाले शपथ लिएका थिए ।

त्यसपछि कांग्रेसको चौतर्फी आलोचना हुन थालेपछि शेखरले मुख खोलेका हुन् ।

प्रतिक्रिया