मंगलबार, चैत ६, २०८०

रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

मेरोन्यूज २०७८ साउन १० गते १२:०८

काठमाडौं । बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चिकित्सा विधाका विविध सङ्कायमा अध्ययन/अध्यापन गराउने सम्बन्धमा सहमति भएको छ । सहमतिसँगै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पताल र प्रतिष्ठानबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको जानकारी दिए । सम्झौताअनुसार प्रदेश सरकार मातहतमा रहेको ५० शय्या क्षमताको अस्पतालले स्नातक तथा स्नातकोत्तर तहका स्वास्थ्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने भएको छ । वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममै प्रदेश मातहतका अस्पतालमा प्रतिष्ठानमार्फत स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै लैजाने उल्लेख छ ।

बगालेका अनुसार अर्को वर्षबाटै एमडिजीपीका कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने दुई वर्षमा बिएन, बिएस्सी नर्सिङ तथा बिएमएलटी कार्यक्रम सञ्चालन गर्न सकिने छ । डा बगालेले भने, “हामी दुई/तीन महिनामै १०० शय्या क्षमतामा जान्छौँ, सबै तयारी पूरा भएको छ ।” उनका अनुसार अस्पतालमा केही महिनामै आइसीयू, पिआइसीयू र एनआइसीयू सञ्चालनमा आउँदैछ । दश शय्याको आइसीयू, पाँच शय्याको एनआइसीयू, १० शय्याको पोष्टअप, दुईवटा मोडुलर शल्यक्रिया कक्ष, केही क्याबिन र प्रसूति कक्ष थप्ने काम भइरहेको उनले जानकारी दिए ।

शैक्षिक कार्यक्रम सञ्चालन गरेसँगै यहाँको स्वास्थ्य सेवाको गुणस्तरमा समेत थप वृद्धि हुने अपेक्षा गरिएको छ । यस अस्पतालले पूर्वी चितवनमा रहेका चारवटा नगरपालिका रत्ननगर, खैरहनी, राप्ती र कालिकाका जनतालाई प्रत्यक्ष स्वास्थ्य सुविधा पु¥याउन सक्नेछ । अस्पतालमा हाल दैनिक ७०० हाराहारी बिरामी आउने गरेका छन् । बगालेका अनुसार अधिकांश जसो शल्यक्रियालगायतका सेवा अस्पतालले दिने गरेको छ । यसअघि त्यस क्षेत्रका जनता सामान्य अवस्थामा पनि उपचारका लागि भरतपुर आउन बाध्य थिए । रासस

Advertisement

प्रतिक्रिया